भर्खरै :

रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रत्ननगर, चितवन, २८ चैत (रासस) ः रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् ।
रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो ।
सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउनुभयो । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताउनुभयो ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताउनुभयो ।
यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताउनुभयो । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिनुभयो ।
“हिजोसम्म अलि अलि थिया,े आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भन्नुभयो, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उहाँले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गर्नुभयो ।
शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ ।
जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *