भर्खरै :

बौद्ध विशेषतायुक्त लाओ समाजवाद

बौद्ध विशेषतायुक्त लाओ समाजवाद

दक्षिण एसियामा धेरै थेरवादी बौद्ध मुलुक छन् । तीमध्ये समाजवादी व्यवस्था हुने एकमात्र देश लाओस हो । बौद्ध परम्पराको गहिरो प्रभाव छ त्यहाँ । लाओसको इतिहास, संस्कृति र दैनिक जीवनमा बौद्ध परम्पराले रङ्गिएको छ । बौद्ध मूल्यमान्यता र संस्कारका गहिरा जरासँग माक्र्सवाद नङमासु बनेको छ त्यहाँ । यसकारण, माक्र्सवाद फैलिन पुगेको हो लाओसमा । लाओसको बौद्ध प्रभावित समाजवादी मोडलको विशिष्ट धर्म, इतिहास, संस्कृति र सामाजिक परिस्थिति कस्तो छ ? यो मोडलले देशको विकासलाई कसरी आकार दिइरहेको छ ? माक्र्सवादी विचारलाई बौद्ध शिक्षासँग गाँस्न खोज्दा कस्ता तनाव र अन्तर्विरोध उत्पन्न हुन्छन् ? साथै, बौद्ध परम्परासँग घनिष्ट मानिने राजसंस्थाको पुजा, संरक्षक–आश्रित सम्बन्ध र जातीय अलगावजस्ता चुनौतीले समकालीन लाओसलाई कसरी प्रभावित गरिरहेको छ ?
लाओसका धार्मिक र ऐतिहासिक परम्पराहरू
चौधौँ शताब्दीमा लाओसमा लान साङ राजवंश स्थापित भयो । त्यसयता थेरवादी बौद्ध शाखा लाओसको राजधर्म रहँदै आएको छ । पन्ध्रौँ शताब्दीको मध्यतिर बौद्ध धर्मले राजालाई वैधता दिने थिति बसिसकेको थियो । परम्परागत लाओ राजकाज मुआङ प्रणालीमा आधारित छ । यो प्रणालीमा राजालाई ब्रह्माण्डको केन्द्र मानिन्छ । राजालाई ‘सदाचारको रित बसाल्ने’ उदाहरणीय व्यक्तिको रूपमा चित्रण गरिन्छ । राजालाई ‘धम्मरक्षक’ का साथै धर्मभन्दा माथि बस्ने शासक मानिन्छ । (टिपोट : बुद्धको शिक्षा, सर्वव्यापी सत्य र निर्वाण प्राप्तिको अभ्यासलाई बौद्ध भाषामा धम्म भनिन्छ । यी सिद्धान्तमा नैतिक आचरण, विवेक र मानसिक अनुशासन पर्छन् । यी सिद्धान्तले व्यक्तिलाई लौकिक नियमसँग लयपूर्ण जीवन बाँच्न र निर्वाण प्राप्न गर्न मार्गदर्शन गर्छन् ।) सयौँ वर्षको अवधिमा बौद्ध दर्शन स्थानीय लाओ किंवदन्तीहरूसँग घुलमिल भयो । त्यसले लाओसको रैथाने परम्परालाई वैधता दियो; आत्मसात ग¥यो । बौद्ध धर्ममा टम्मै प्रतीकात्मक शक्ति थियो । यसकारण पनि लाओको राजनीति र संस्कृतिमा बौद्ध थेरवादले मियोको काम गर्दै गयो । बौद्ध धर्मले राजकीय सत्ता र सामाजिक विभाजन दुवैलाई बलियो औचित्य दिलायो । बिस्तारै यो लाओसको ‘श्रेष्ठ धर्म’ बन्यो । बौद्ध धर्म अँगाल्ने बहुसङ्ख्यक लाओ जाति ‘उच्च’ जातीय समूह बने ।
लाओसमा बौद्ध धर्म फैलियो । यसले त्यहाँका जनताको विश्वदृष्टि र आस्थालाई अर्कै आकार दियो । साथै यसले देशको सामाजिक संरचना र राजनीतिक सङ्गठनमा पनि गहिरो छाप पा¥यो । बौद्ध धर्मले नयाँ सामाजिक पदानुक्रमको परिपाटी बसाल्यो । यसले सङ्घ वा धार्मिक अधिकारीहरूको अलग्गै वर्ग जन्मायो । यो चौघेराभित्र ‘कर्म’ र ‘पुण्य’ सामाजिक हैसियतको महत्वपूर्ण नापो बन्यो । राजसंस्था राजनीतिक प्रणालीको कोशेढुङ्गा बनी उदायो । (टिपोट : बौद्ध धर्ममा पुण्यको अर्थ सकारात्मक आध्यात्मिक ऊर्जा वा सदाचार हो । असल कार्य, नीतिपूर्ण व्यवहार, दया र उदार कार्य गरी पुण्य जम्मा गरिन्छ । पुण्य आर्जन गरी व्यक्तिले आफ्नो कर्म सुधार्न र अर्को जुनीमा गतिलो स्थानमा जन्मिन वा निर्वाणको अवस्था प्राप्त गर्न सक्ने बौद्ध मत छ ।) बौद्ध थेरवादको प्रतीकात्मक स्थानलाई बरोबर मलजल गर्दै सुदृढ पारियो र यो लाओ संस्कृतिको आधारस्तम्भ बन्यो । राजकीय वैधता झन्झन् बौद्ध धर्ममा निर्भर हुँदै गयो । सत्तालाई बौद्ध धर्मको मान्यता र समर्थन दुवै चाहिने स्थिति उत्पन्न भयो ।
दक्षिण एसियामा बौद्ध थेरवाद मान्ने चार देश छन् – थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस । आधुनिकीकरणका लागि यी चारै देशले अलग–अलग बाटो अपनाए । थाइल्यान्डमा प्रजातान्त्रिक सुधारले परम्परागत सामाजिक पदानुक्रम र ‘साक्दिना’ विचारधारालाई यथेष्ट चुनौती दियो । (साक्दिना प्रथा प्राचीन थाइल्यान्डको सामन्ती संरचना हो । थाइल्यान्डको सामन्ती समाजलाई साक्दिना समाज पनि भनिन्छ ।) यद्यपि, राजसंस्था र बौद्ध धर्मले अन्ततः नयाँ रूपमा आफ्नो वैधता हासिल गरे । यसले गर्दा राजसंस्था, बौद्ध थेरवाद र थाई पहिचानको तीनमुखे प्रणाली अझ सबल बन्यो । म्यानमारमा बेलायतको औपनिवेशिक शासनले राजतन्त्र उन्मूलन ग¥यो । तर, राजसंस्था स्मृति जनताको मनबाट मेटिएन । त्यही भावना राष्ट्रवादको रूपमा झन् बलियो बन्यो । उ–नु र ने–विनजस्ता नेताहरूले राजातुल्य स्थान लिए । उनीहरूले आफ्नो भूमिकालाई राष्ट्रिय नेताको दर्जा दिलाउन बौद्ध धर्मको आशीर्वाद खोजे । कम्बोडियामा राजसंस्थालाई जोगाइयो । त्यहाँ राजालाई राष्ट्रिय पहिचान, निरन्तरता र जातीय एकताको प्रतीक बनाइयो । नरोदम सिंहानुकको शासनमा बौद्ध धर्मलाई सामन्ती पदानुक्रम कायम राख्ने हतियार बनाइयो । (टिपोट : सिंहानुकले आफ्नो बौद्ध समाजवादी धारणाबारे ‘हाम्रो बौद्ध समाजवाद’ नामक पुस्तकमा सविस्तार चर्चा गरेका छन् ।) माथिका चार देशमध्ये लाओस फरक रह्यो । समाजवादी लाओसमा राजतन्त्र हटाइयो । त्यो घटना परम्परागत शासन व्यवस्थाबाट निर्णायक विच्छेद थियो । तर, सयौँ वर्षमा बलियो बनिसकेको बौद्ध धर्म र राजसंस्थाको लगनगाँठो ठुलो चुनौती बनिरह्यो । त्यो गाँठोले इतिहासमा सामन्ती शासकहरूलाई वैधता दिलाएको थियो । धर्म र राज्यबिचको त्यो गाँठो चुँडाउन धेरै समय लाग्यो । ‘लाओ जनताको क्रान्तिकारी पार्टी’ (एलपिआरपी) ले धेरै कष्ट गरेर त्यो गाँठो फुकायो । (टिपोट : लाओ जनताको क्रान्तिकारी पार्टीको स्थापना खासमा सन् १९५५ मा भएको थियो । सुरुमा त्यसको नाम ‘लाओ जनताको पार्टी’ थियो । सन् १९७२ मा पार्टीको दोस्रो महाधिवेशनमा पार्टीको नाम परिवर्तन गरिएको थियो ।)
औपनिवेशिक राज र गृहयुद्धको अवधिमा माक्र्सवाद र बौद्ध धर्म
सन् १८९३ मा लाओस फ्रान्सको उपनिवेश बन्यो । फ्रान्सको उपनिवेशवादी शोषण–दमन भोग्यो । बौद्ध लाओको स्वतन्त्रताका लागि समाजवादी र बौद्ध धर्मावलम्बीहरू एकजुट भए । तिनले राष्ट्रवादी ढङ्गले समाजवादी विचार अपनाए । बौद्ध थेरवाद र माक्र्सवादलाई जोडे । तिनको विचारमा बौद्ध विचारले फ्रान्सेली संस्कृति र लाओसमा फैलेको क्रिस्चियन प्रभाव दुवैलाई देशबाहिर खेद्न सक्ने सामथ्र्य राख्थ्यो । परम्परागत लाओ संस्कृतिलाई नयाँ आकार दिन सक्ने बौद्ध विचारको शक्तिमा तिनीहरूलाई विश्वास थियो । यसरी माक्र्सवाद र बौद्ध विचारको ऐक्यले पुँजीवादी र साम्राज्यवादी रजाइँ अन्त्य गर्ने सन्देश दियो ।
दोस्रो विश्वयुद्धको बेला जापानले हिन्द–चीनका फ्रान्सेली उपनिवेशहरू कब्जा ग¥यो । लाओसमाथि फ्रान्सको पडक खुकुलो भयो । विश्वयुद्धमा जापानले घुँडा टेकेपछि फ्रान्सले पुनः त्यहाँ प्रभाव जमाउन खोज्यो । लाओस पुनः फ्रान्सको संरक्षणमा प¥यो । सन् १९५० मा लाओसका कम्युनिस्टहरूले ‘पथेट लाओ’ पार्टी गठन गरे । पार्टीले पुनः स्वाधीनता हासिल गर्ने उद्देश्य राखेर फ्रान्सको औपनिवेशिक शासनविरुद्ध छापामार युद्ध सुरु ग¥यो । धेरै बौद्ध भिक्षुले पथेट लाओ आन्दोलनमा भाग लिए । पश्चिमा भ्रष्टाचारविरुद्ध परम्परागत लाओ संस्कृतिको रक्षार्थ बौद्ध भिक्षुहरू कम्युनिस्ट आन्दोलनमा जोडिए । तिनीहरूले बौद्ध शिक्षा र माक्र्सवादलाई लाओसको मुहार फेर्ने विचारधारात्मक औजार माने । उपनिवेशवादको चङ्गुलमा परेको देशलाई स्वाधीन कम्युनिस्ट राज्यमा बदल्ने र मैत्रेय बौद्धलाई नयाँ युगका आध्यात्मिक अगुवाको रूपमा उभ्याउने सोचका साथ बौद्ध भिक्षुहरूले बन्दुक समाते ।
वर्षौँ लामो सङ्घर्षपछि सन् १९५३ मा लाओस स्वाधीन भयो । आधुनिकीकरणको यात्रा छिचोल्दै गर्दा सन् १९५९ मा गृहयुद्ध सुरु भयो । वामपन्थी ‘पथेट लाओ’ र दक्षिणपन्थी राजावादी लाओ सरकार र मध्यमार्गी गुटहरूबिच घनघोर सत्ता सङ्घर्ष चल्यो । यो अवधिमा ‘पथेट लाओ’ ले समाजवादी सिद्धान्त र बौद्ध शिक्षालाई मिलाएर नौलो राजनीतिक विचारधाराको विकास ग¥यो । राजकुमार सुफानुवोङ लाओ कम्युनिस्ट आन्दोलनका मुर्धन्य नेताको रूपमा उदाए । उनले बौद्ध धर्मलाई सशस्त्र क्रान्तिको पक्षमा ल्याए । बौद्ध भिक्षुहरूलाई कम्युनिस्ट विचार फैलाउन उत्साहित गरे । बौद्ध भिक्षुहरूले खासगरी गाउँले इलाकामा कम्युनिस्ट विचारको प्रचारप्रसार गरे ।
सन् १९६१ मा पथेट लाओका नेताहरूले मुक्त इलाकाहरूमा लाओ बौद्ध भाइचारा सङ्घको स्थापना गरे । यसमा पथेट लाओका नेता फौमा वोङविचित र प्रतिष्ठित भिक्षु भोराफेत र थेपब्वालीले मुख्य भूमिका खेलेका थिए । लाओ बौद्ध भाइचारा सङ्घले बौद्ध नीतिलाई क्रान्तिकारी आदर्शसँग जोड्यो । शिक्षितपठित धेरै बौद्ध भिक्षु र तिनका अनुयायी पथेट लाओ र अन्य कम्युनिस्ट पक्षधर बौद्ध सङ्घसङ्गठनमा लागे । आफ्नो धार्मिक कर्तव्यलाई सन्तुलनमा राख्दैन तिनले राजनीतिक सङ्घर्षमा सक्रिय सहभागिता जनाए । यी भिक्षुहरूले समाजवादी सुशासनको स्थापनापछि बौद्ध थेरवादलाई माक्र्सवादसँग जोड्न अहम भूमिका खेले ।
नयाँ समाजवादी शासन र लाओको बौद्ध धर्म
सन् १९७५ को डिसेम्बर महिनामा लाओ प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग लाओस) को स्थापना भयो । लाओसमा समाजवादी शासन आयो । युद्धपछि पुनर्निमाणको अवधिमा राष्ट्रिय एकता तथा सबलतालाई मलजल गर्ने कार्यलाई उच्च प्राथमिकता दिइयो । बहुमत जनता बौद्ध थेरवादको अभ्यास गर्थे । त्यसकारण, यस धर्मले राष्ट्रिय चेतना, सांस्कृतिक पहिचान र आपसी मेलजोललाई आकार दिन अहम भूमिका खेल्यो । प्रजग लाओसले समाजवादको राजनीतिक र आर्थिक लक्ष्य हासिल गर्न, माक्र्सवादी विचारको प्रचारप्रसारलाई सहज पार्न, नयाँ शासनलाई वैधता दिलाउन तथा समाजवादी समाजको निर्माणमा सामूहिक प्रयत्नलाई उत्साहित गर्न बौद्ध शिक्षालाई अँगाल्यो ।
बौद्ध थेरवादले लाओसमा माक्र्सवाद भित्र्याउन व्यवहारिक चौखटको काम ग¥यो । त्यसका नेताहरूले परिकल्पित कम्युनिस्ट समाज (जहाँ भौतिक प्रचुरता र व्यक्तिको चौतर्फी विकास दुवै हुन्छ) र मैत्रेय बुद्धको युगबिच समानताका धागा बुने । यो शैलीले काम ग¥यो । सीमित शिक्षा पाएका किसान र अल्पसङ्ख्यक जातिहरूले हत्तपत्त नयाँ विचार स्वीकार गर्दैनन् । माक्र्सवादका अगुवाहरूको नौलो शैलीका कारण उनीहरूले माक्र्सवादलाई स्वीकारे । राजकुमार सुवाना फुमाले भनेका थिए – लाओ जनता ‘धर्मको माध्यमबाट समाजवादी बने’ । माक्र्सवादी सिद्धान्तलाई चिरपरिचित बौद्ध अवधारणासँग जोडेर समाजवादीहरू र भिक्षुहरूले समाजवादी विचारलाई जनताबिच स्वीकार्य बनाए ।
योग्यताको परम्परागत विचारलाई लाओ समाजवादी राज्यमा कम महत्व दिइयो । बौद्ध थेरवाद मान्ने देशहरूमा धनवैभव र गरिबीलाई प्रायः अघिल्लो जन्मको फल मानिन्छ । यो धार्मिक विश्वासले देशको आर्थिक विकासमा सहभागी हुने लाओ जनताको उत्प्रेरणा पातलो बनाएको अवस्था थियो । खासगरी देशको ग्रामीण भेगमा भाग्य फेर्न सकिन्न भन्ने सोचले जरा गाडेको थियो । किसानहरूले आफ्नो कमाइको ठुलो हिस्सा धार्मिक कर्मकाण्डमा खर्च गर्थे । एउटै कर्मकाण्ड गर्दा पनि तीन–चार महिनाको कमाइ स्वाहा हुन्थ्यो । गाउँको अतिरिक्त कमाइको ठुलो हिस्सा धार्मिक अनुष्ठान तथा मठमन्दिर निर्माणमा जान्थ्यो । दक्षिण–पूर्वी एसियाली देशहरूमा प्रचलित बौद्ध थेरवादमा सामान्यतया धार्मिक व्यक्तिवादमा जोड दिइन्छ । तैपनि ग्रामीण लाओमा पुण्य गर्नुलाई महत्वपूर्ण सामाजिक अनुष्ठान मानिन्छ । यसलाई सम्बोधन गर्न फुमाले समाजवादी देशहरूमा जनताको स्रोतसाधनलाई धार्मिक कर्मकाण्डबाट अन्तै मोड्नुपर्नेमा जोड दिए । यसरी मात्र पुँजीवाद र सामन्तवादको प्रभावबाट मुक्त हुन सकिने उनले तर्क दिए । समाजवादी लाओसमा बौद्ध अनुष्ठानलाई पुण्य आर्जन गर्नभन्दा एकताको भावना पैदा गर्न जोड दिने गरी परिमार्जन गरियो । सरकारले हात हाल्नाले कृषि चक्रसँग सम्बन्धित धार्मिक कर्मकाण्डको सङ्ख्या घट्यो । (टिपोट ः केही विद्वान्ले लाओ सरकारका नीतिको आलोचना गरेका छन् । ती नीतिमा समाजवादी तथा नास्तिक एजेन्डाको छाप रहेको र तिनले धार्मिक स्वतन्त्रतामा रोक लगाएको आरोप छ । तर, मेरो विचार अर्कै छ । लाओसको आर्थिक अल्पविकास र किसानहरूको दरिद्रताले गर्दा पनि बौद्ध दानदातव्य सीमित हुन पुगेको थियो । सरकारका यी नीतिहरूको मूल्याङ्कन गर्दा त्यो बेलाको लाओसको आर्थिक पछौटेपनको पृष्ठभूमिलाई ध्यानमा राख्न जरुरी छ ।)
लाओसको बौद्ध धर्ममा भिक्षा दानदक्षिणा दिनुलाई ‘लाओ जनताको क्रान्तिकारी पार्टी’ (एलपिआरपी) ले सामन्ती पदानुक्रम (उँचनीच) ब्युँताउने प्रयासको रूपमा हे¥यो । सरकारले भिक्षुहरूलाई दान दिनमा रोक लगायो । सन् १९७६ को आरम्भमा सरकारले ‘परजीवीविरुद्ध अभियान’ चलायो र भिक्षुहरूलाई खानाको बदलामा उत्पादनशील काममा लाग्न उत्साहित ग¥यो† शिक्षकको रूपमा काम गर्न भन्यो । भिक्षुहरूको मन ध्यान (कम्मात्तहान) र चिन्तन जस्ता अनुत्पादक कार्यबाट अन्तै मोड्नका लागि त्यसो गरिएको थियो । सर्वसाधारण जनताले धार्मिक अभ्यासमा गर्न खोजिएको यो परिवर्तनमा प्रतिरोध जनाए । (टिपोट : यसले गर्दा लाओसमा बौद्ध थेरवादभित्र चल्तीमा रहेको जङ्गलको विहार परम्परा (अरण्यवासी) बिस्तारै हराएर गयो ।) बहुसङ्ख्यक लाओ किसानहरू बौद्ध सङ्घलाई (दान–दक्षिणामार्फत) सघाएर र बौद्ध सदाचारको परिपालन गरेर पुण्य कमाउन सकिने ठान्थे । यसकारण, दानदक्षिणा दिई पुण्य कमाउनमा सरकारले लगाएको बन्देजको कडा विरोध गरे जनताले । जनविरोधपछि सरकारले बिस्तारै आफ्नो अडान खुकुलो पा¥यो । उसले दानसम्बन्धी नियमहरू परिमार्जन ग¥यो । दानदक्षिणामा सीमा तोक्यो । सरकारले बिस्तारै जनतालाई सम्झाउँदै लग्यो । यसरी दान दिएर पुण्य आर्जन गर्ने र सामाजिक इज्जत कमाउने परम्परागत सोचमा परिवर्तन आयो ।
लाओसको इतिहासमा बौद्ध सङ्घमात्र समाजको जरासम्म पुगेको सङ्गठित संस्था थियो । गाउँ–गाउँमा बौद्ध सङ्घका शाखा खुलेका थिए । भिक्षुहरूले पार्टी र जनताबिच पुलको काम गरे । उनीहरू पार्टीको प्रचार कार्यकर्ता बने । देशैभरि सैद्धान्तिक कक्षा सञ्चालन गर्नमा उनीहरू सक्रिय भए । लाओस र हिन्द–चीनमा कम्युनिस्ट आन्दोलनमा लागेका धेरैजसो बौद्ध भिक्षुहरूलाई बौद्ध शिक्षाबारे पार्टीले गरेको व्याख्या सजिलै आत्मसात गरे र हाँसीखुसी माक्र्सवादी विचारलाई देशभरि फैलाउने जिम्मेवारी लिए । लाओसका गाउँहरूमा बौद्ध भिक्षुहरूको ठुलो मानमनितो हुन्थ्यो । त्यसैले देश स्वतन्त्र भएपछि सरकारले ल्याएका नीतिहरू लागु गर्न भिक्षुहरूको सघाउ महत्वपूर्ण ठहरियो । सरकारले साक्षरता अभियान चलायो । बौद्ध भिक्षुहरूले त्यसको समर्थन गरे । तिनको समर्थन र प्रभावले गर्दा माक्र्सवादी सिद्धान्तहरू किसान र विभिन्न पहाडी जातिहरूबिच स्वीकार्य भए । यही अवधिमा लाओसमा मन्दिरहरूले सहकारीको रूपमा काम गरे । ग्रामीण समुदायहरूबिच पार्टीका लक्ष्यहरू अघि बढाउन अहम भूमिका खेले ।
स्रोत : मन्थ्ली रिभ्यू
अनुवाद : सम्यक
Lao Socialism with Buddhist Characteristics – Monthly Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *