भर्खरै :

घरदैलो नर्सिङ सेवा र विद्यालय नर्स सेवाको बैठक

घरदैलो नर्सिङ सेवा र विद्यालय नर्स सेवाको बैठक

भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा र विद्यालय नर्सको भदौको मासिक समीक्षा बैठक मङ्गलबार सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले नर्सिङ पेसा विशुद्ध सेवासँग सम्बन्धित सम्मानित पेसा भएको बताउँदै नर्सले बिरामीसँग गर्ने असल व्यवहारले बिरामीहरूको मनोबल बढ्ने हुँदा आफ्नो पेसामा दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।
नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा व्यवस्थितरूपमा सञ्चालन भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले भक्तपुरलाई सभ्य र सुसंस्कृत बनाउन यहाँका नागरिकलाई स्वस्थ बनाउने हेतुले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले देशको राजनीतिक व्यवस्था राम्रो भएमात्र जनताको जीवन सहज हुने बताउँदै नर्सहरूले आफ्नो पेसासँगसँगै देशको राजनीतिक र समसामयिक विषयमा पनि चासो राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ कलेजले धेरै नर्सहरू उत्पादन गरिसकेको बताउँदै उहाँले घरदैलो नर्सिङ सेवा व्यापक जनताको हित र सेवाको निम्ति सञ्चालन गरिएको कार्यक्रम भएको प्रस्ट पार्नुभयो ।
घरदैलो नर्सहरूले वडासँग समन्वय गरी काम गर्न मार्गनिर्देश गर्दै उहाँले नर्सहरूले जनताको भावनाअनुसार असल व्यवहारका साथ आफ्नो कर्तव्य निर्वाह गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
बैठकमा शारदा मावि, बासु मावि र ख्वप माविका विद्यालय नर्सहरूले आफ्नो मासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त बैठकमा भक्तपुर नपा स्वास्थ्य शाखा संयोजक डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *