‘व्यवसायिक सुरक्षा चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न
- आश्विन ९, २०८२
भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले दसैँको समयमा प्रशासन, कलेज, विद्यालयलगायत सबै सङ्घ संस्थाहरू बन्द हुने हुँदा दसैँ बिदालाई ज्ञान हासिल गर्ने अवसरको रूपमा उपयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
प्राज्ञिक व्यक्तिहरूले बिदाको समयमा नयाँ नयाँ पुस्तक अध्ययन गरी जनताको चेतना उठाउने काममा लाग्ने आशा राख्दै उहाँले चाडबाडमा हुने हुलहुज्जत तथा अनेक खालका गतिविधिबाट सचेत रहन आग्रह गर्दै स्वास्थ्य र सरसफाइलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशप्रति उत्तरदायी हुनुपर्ने व्यक्तिहरू नै राष्ट्रप्रति अनुत्तरदायी हुँदा राजनीतिप्रति युवाहरूको वितृष्णा रहँदै आएको बताउँदै उहाँले ‘राजनीति इन्जिनियरले कोरेको नक्सा जस्तै अगाडि बढ्ने होइन, तरबारको धारमा हिँड्नु जस्तै खतरनाक हुने’ वर्तमान राजनीतिक घटनाक्रमले प्रस्ट पारेको बताउनुभयो ।
शासक दलप्रति नयाँ पुस्ताको आक्रोशको परिणामस्वरूप भदौ २३ र २४ गते देशमा विध्वंसात्मक कार्य भएको बताउँदै उहाँले आन्दोलन हुनु ठुलो कुरा होइन, आन्दोलनको उद्देश्य र उपलब्धि महत्वपूर्ण हुने बताउनुभयो ।
साम्राज्यवादीहरूको लगानीमा स्वार्थ लुकेको हुन्छ भन्दै उहाँले जेनजी आन्दोलनमार्फत पश्चिमा देशहरूले नेपाललाई उपनिवेश बनाउन खोजिरहेको बारे देशभक्त तथा न्यायप्रेमी जनता सचेत र सङ्गठित हुन जरुरी रहेको बताउनुभयो ।
आन्दोलनको क्रममा देशको सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रहरी चौकीलगायत महत्वपूर्ण कार्यालयहरूमा आगजनी र तोडफोड हुनु दुःखद घटना भएको बताउँदै उहाँले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनमा पनि विदेशी शक्तिहरूको हात रहेको चर्चा व्याप्त रहेको उहाँले प्रस्ट पार्नुभयो ।
उपप्रमुख रजनी जोशीले भदौ २३ र २४ गते नेपालमा घटेको अकल्पनीय र अप्रत्याशित घटनाले देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको बताउँदै यो घटना नयाँ पुस्ताले शासक दलहरूको जनविरोधी क्रियाकलापविरुद्ध पोखेको आक्रोश हो भन्नुभयो ।
उपप्रमुख जोशीले आन्दोलनको क्रममा भक्तपुरमा पनि आगजनी तथा तोडफोड भएको बताउँदै जनताको मर्म र भावनाअनुसार जनप्रतिनिधिले काम नगर्दा देशमा अप्रत्यासित घटना घटेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले बौद्धिक र प्राज्ञिक व्यक्तिहरू राजनीतिक रूपमा सचेत हुनु जरुरी रहेको बताउँदै उहाँले शिक्षकहरूले त्यस विषयसँग जोडिएका राजनीतिक घटनाक्रमबारे पनि विद्यार्थीहरूलाई सुसूचित र मार्गनिर्देश गरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले देशको असहज परिस्थितिलाई मध्यनजर गर्दै चाडपर्वमा सम्पूर्ण शिक्षक र कर्मचारीहरूले संयमता अपनाउन जरुरी रहेको बताउँदै बिदालाई सुविधाको रूपमा नलिई नयाँ कुरा सिक्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
कलेजका उपप्राचार्यद्वय डा. सुवेगमान बिजुक्छेँ र रत्नशोभा प्रजापतिले चाडपर्व सामाजिक सम्बन्ध मजबुत बनाउने अवसर पनि भएको हुँदा चाडपर्वमा केही नयाँ गर्ने अठोटका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा कलेज प्रशासन प्रमुख सन्जय मानन्धर, लेखा शाखा प्रमुख काजीबहादुर पञ्च, आर्किटेक्ट विभागका प्रमुख अर्चना बाडे श्रेष्ठ, इलेक्ट्रिकल विभागका प्रमुख राकेश ग्वाछाले पनि शुभकामना दिनुभयो ।
Leave a Reply