भर्खरै :

आन्दोलन व्यापक जनताको हितमा केन्द्रित हुनुपर्ने

आन्दोलन व्यापक जनताको हितमा केन्द्रित हुनुपर्ने

देशमा आमूल परिवर्तन नभएसम्म बहुमत जनताले सन्तोषको सास फेर्न पाउने छैनन् । तर, आमूल परिवर्तन एकैबाजि हुँदैन; कसैले फुक्दैमा हुने होइन । आमूल परिवर्तन गर्न व्यापक जनता राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपले सचेत र सङ्गठित हुनुपर्छ । सङ्गठित गर्न राजनीतिक प्रशिक्षण या समाजवादी प्रचार अभियानको खाँचो हुन्छ । सरकारको गलत नीति, गलत निर्णय र गलत कार्यशैलीविरुद्ध हुने साना ठुला आन्दोलनले पनि समाजवादी आन्दोलनको निम्ति बाटो तयार गर्नेछ । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकारले बहुमत जनताको हितमा काम गर्दैन भन्ने कुरा जनताले अनुभव गर्दै छन् । पुँजीवादी व्यवस्थामा भ्रष्टाचार, अनियमितता, कालाबजारी, हत्या हिंसा, आपराधिक घटना हुनेरहेछ भन्ने कुरा जनताले बुझ्दै छन् । शासक दलका नेताहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याएर देश–विदेशको बैङ्कमा मात्र होइन घरमा पनि थुपारिराखेको कुरा जनता महसुस गर्दै छन् ।
सरकारको यस्ता बेथितिहरूको विरोधमा भएको आन्दोलन र सङ्घर्ष जनतालाई सुसूचित पार्ने माध्यम हो† यो पुँजीवादी व्यवस्थाको विरोध पनि हो । पुँजीवादी व्यवस्थाविरुद्धको स्वर सल्किँदै गएसँगै पुँजीवादी व्यवस्थाका नेता या शासक दलका नेताहरूबिच अन्तरसङ्घर्ष हुन थाल्छ । उनीहरूको अन्तरसङ्घर्षले पुँजीवादी दलहरू मात्र होइन पुँजीवादी बन्दोबस्त कमजोर हुँदै जानेछ । अहिले विशेषतः नेका, एमाले र माओवादी दलभित्र अन्तरसङ्घर्ष चर्कन थालेको छ; दलको नेतृत्वप्रति दलकै नेताहरूले अविश्वास र शङ्का व्यक्त गर्न थालेका छन् । यो शासक दलका नेताहरूको गलत कार्यशैलीले गर्दा भएको हो । पञ्चायती व्यवस्था अन्त्य हुनुमा जनताको असन्तोष मात्र होइन पञ्चायती शासकहरूबिचको अन्तद्र्वन्द्व पनि हो । जेन–जी आन्दोलनले सरकारको नेतृत्व परिवर्तन भएको छ तर, व्यवस्था बदलेको छैन । जेन–जीको मागअनुसार प्रधानमन्त्री पदको प्रत्यक्ष निर्वाचित भए पनि व्यवस्था पुँजीवादी नै हुनेछ । यस अर्थमा यो क्रान्ति होइन या आमूल परिवर्तन होइन ।
आमूल परिवर्तनमा कामदारवर्गका जनताले कामदारवर्गको पक्षमा शासन गरेको हुन्छ । जेन–जी आन्दोलनबाट बनेको यो अन्तरिम सरकारले श्रमजीवीवर्गको प्रतिनिधित्व गर्दैन; गरिरहेको छैन । तर, भ्रष्टाचारविरुद्ध छेडेको आन्दोलनप्रति जनताको समर्थन हुन्छ; भ्रष्टाचारविरोधी आन्दोलन जरुरी छ; भ्रष्टाचार गरी कमाइएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ; भ्रष्टाचारीहरूलाई जेलमा थुन्नुपर्छ । भ्रष्टाचारविरोधी आन्दोलन शासक दलका नेताहरू मात्र केन्द्रित नभई सरकारी कार्यालयका हाकिम, कर्मचारीदेखि मन्त्री, सांसद र जनप्रतिनिधिको पनि हुनुपर्छ । अतः भ्रष्टाचारविरुद्ध लड्नुपर्छ; भ्रष्टाचार अन्त्य नभएसम्म लड्नुपर्छ । तर, भ्रष्टाचार अन्त्य हुँदैमा त्यो सरकार बहुमत जनताको पक्षमा हुन्छ भन्ने कुरा होइन । सरकारले बनाउने ऐन कानुन बहुमत जनताको पक्षमा हुनुपर्छ । अनावश्यक खर्च कटौती गर्नु सकारात्मक पक्ष हो । जहिलेसम्म कामदारवर्गका जनताको जीवन सुनिश्चित हुँदैन; काम–मामको व्यवस्था हुँदैन; सरकारले नै पढ्ने, खाने, लाउने र स्वास्थ्योपचार गर्ने व्यवस्था गर्न सक्दैन तहिलेसम्म देशमा आन्दोलन भइरहन्छ ।
व्यक्तित्वको विकासमा समान अवसर हुनुपर्छ । विकास नगर र गाउँ–गाउँको बस्तीमा पुग्नुपर्छ । जनताको जीवन र सम्पत्ति सुरक्षित हुनुपर्छ । शोषण र दमनबाट मुक्त हुनुपर्छ । कसैले कसैलाई पक्षपात या भेदभाव गर्नु हुँदैन । समानता र न्याय सबैले पाउनुपर्छ । तर, धम्कीको राजनीति अन्त्य हुनुपर्छ । पैसाको राजनीति चल्नु हुँदैन । पैसामा बिकेर मतदान गर्ने होइन । युवाले रोजगार पाउनुपर्छ । विद्यार्थीले निःशुल्क र अनिवार्य शिक्षा पाउनुपर्छ । कृषकको लागि खेतीपातीको लागि चाहिने सबै सामग्री उपलब्ध गराउनुपर्छ । रासायनिक मलको व्यवस्था हुनुपर्छ । यातायातको सुविधा देशभर पुग्नुपर्छ । सिँचाइ सुविधा हुनुपर्छ । नयाँ नयाँ बीउबिजन र कृषि औजारहरू सर्वसुलभ हुनुपर्छ । जनताका यस्तै समस्या समाधान गर्न नै सङ्घर्ष आवश्यक हुन्छ । सङ्घर्षले नै जनताका हक अधिकार प्राप्त हुन्छ । जेन–जी पुस्ताले व्यापक जनताको समस्याबारे पनि बुझ्नुपर्छ र आन्दोलन छेड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *