दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
नेपालभाषा साहित्य तःमुंज्या भाषिक, साहित्यिक र सांस्कृतिक मञ्चमात्र होइन, राजनीतिक चेतना जगाउने राजनीतिक मञ्च र विज्ञहरूको आ–आफ्नो अनुभव, सीप र ज्ञान दिने बौद्धिक मञ्च पनि हो । यो जनताले जनताकै निम्ति सन्देश छर्ने जनताको मञ्च हो । नेपालभाषा साहित्य तःमुंज्या भनेपछि पूर्व मेचीदेखि पच्छिम महाकालीसम्मका राजनीतिक कार्यकर्ता र साहित्यकारहरू सम्मेलनप्रति सहानुभूति राख्छन् र सानो पत्र (चिट्ठी) को आधारमा सहभागी हुन्छन्† आफ्नो साहित्य वाचन गर्छन् र आ–आफ्नो अनुभव बाँड्छन् । यो नेपालभाषा साहित्य तःमुंज्यामा देशका विभिन्न भाषाभाषी, जनजाति र साहित्यकारहरू उपस्थित हुन्छन् । यसैले यो तःमुंज्या जनतामाझ परिचित मञ्च हो, लोकप्रिय मञ्च हो ।
जनताका साहित्यकार तयार गरी साहित्यमार्फत राजनीतिक चेतना दिने यो तःमुंज्या बहुआयामिक दबु हो । देश विदेशका जनताको समस्या उजागर गर्ने, समस्या समाधानका लागि सचेत र सङ्गठित गर्ने देशका विज्ञ या विशेषज्ञहरूको विचार र अनुभव सुनेर दीक्षित हुने दबु हो तःमुंज्या । साहित्य वाचन गर्ने, नाचगान देखाउने र देश विदेशको ज्ञान थाहा पाउने यो जनताको मन परेको र विश्वास जितेको मञ्च हो । यहीँ तःमुंज्यामा धेरै कवि, कथाकार, निबन्धकार र लेखकले आ–आफ्नो रचना वाचन गर्थे । धेरै गायकले गीत गाउँथे, धेरैले नाच्थे । यो तःमुंज्याको उपलब्धि हो । सर्वसाधारणदेखि बुद्धिजीवी, उद्योगी, व्यापारी–व्यवसायीले आर्थिक सहयोग गर्ने त्यो मञ्च सबैको साथ र सहयोगमा सम्पन्न हुने देशकै एउटा परिचित संस्था हो । भक्तपुरमा मात्र सुरु भएको यो तःमुंज्या अहिले काठमाडौँ, ललितपुर र काभ्रेमा पनि सुरु भइसकेको छ । यसरी तःमुंज्या एक ठाउँबाट अर्काे ठाउँमा विस्तार हुँदै छ । यो अर्काे सकारात्मक पक्ष या कदम हो ।
यो सम्मेलन सफल पार्न आयोजक टोलका किसान, मजदुर, महिला, युवा, विद्यार्थी, शिक्षक, व्यवसायी, व्यापारी, बुद्धिजीवी महिनौँदेखि खटेका हुन्छन् । साँच्चिकै यो तःमुंज्या यहाँको ठुलो साहित्य सम्मेलन हो । सयौँ साहित्यकार, दर्जनौँ विज्ञसमेत हजारौँ उपस्थिति हुने यो मुंज्यामा विभिन्न भाषाभाषी र जनजातिका साहित्यप्रेमीहरू सहभागी हुन्छन् । यो सम्मेलनमा जिल्ला–जिल्लाका विभिन्न समुदायका साहित्यप्रेमीहरू उपस्थित हुन्छन्; साहित्य वाचन गर्छन् र मन्तव्य व्यक्त गर्छन् । विभिन्न साहित्य र विज्ञहरूको विचार सुन्ने अवसर पाउने र शिक्षित हुने हुँदा यो साहित्य तःमुंज्या प्रशिक्षित गर्ने एक खुला शिक्षालयजस्तै हुन्छ । यसकारण, आ–आफ्नो घरको काम छोडेर भए पनि साहित्यप्रेमीहरू यो सम्मेलनमा सरिक हुन्छन् र ज्ञानार्जन गर्छन् ।
नेपालभाषासँगै विभिन्न जनजातिको भाषाको उत्थान गर्न, विस्तार गर्न, विभिन्न सांस्कृतिक प्रस्तुतिबाट जनतामा राजनीतिक चेतना छर्न र सुसज्जित पार्ने काम तःमुंज्याले गर्दै आएको छ । साहित्य राजनीतिबाट अलग्ग हुन सकिँदैन । भनिन्छ, साहित्य राजनीतिको हतियार हो । शोषकवर्गले आफ्नो शोषण, दमन र अत्याचारलाई ठीक साबित गर्न जनताको मत आफूतिर तान्न खोजेको हुन्छ । उनीहरू जनताको मतलाई भाँड्ने साहित्य तयार गर्छन् । अर्काे पक्षले शोषितवर्ग या कामदारवर्गको पक्षमा साहित्य लेखेको हुन्छ । यसकारण, यो वर्गीय समाजमा साहित्य पनि कुनै न कुनै वर्गको पक्षमा लेखिएको हुन्छ ।
शोषकवर्गका साहित्यकारहरू साहित्य र कला राजनीतिबाट अलग्ग हुन्छन् भनेर फलाक्छन् । उनीहरू जनताको पक्षमा लेख्ने साहित्यिक कामदारहरूलाई भ्रम दिन्छन् । अतः समाजमा वर्गभेद रहेसम्म साहित्यको वर्गभेदलाई कसैले हटाउन सक्दैन । नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम प्रगतिशील साहित्य सम्मेलन हो । यो सम्मेलनले समुन्नत समाज निर्माण गर्न र समाजमा आमूल परिवर्तन गर्न सन्देश बाँड्छ । यो सम्मेलनले वर्गीय चेतना बढाउँछ र सङ्र्षलाई अघि बढाउँछ । कामदारवर्गका साहित्य पुँजीवादी र सामन्तवादी साहित्य उदाङ्ग्याउने एक सशक्त माध्यम हो । त्यसरी उदाङ्ग्याउने काम नेपालभाषा साहित्य तःमुंज्याले गरेको छ ।
नेपालभाषा साहित्य तःमुंज्या जनतालाई राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पार्ने एक भरपर्दाे मञ्च हो । तःमुंज्यामा व्यक्त हुने मन्तव्य, साहित्य, गीत, ख्याल र एकाङ्की नाटकले प्रगतिशील साहित्यकै प्रतिनिधित्व गर्छ । त्यो प्रगतिशील साहित्यमा माक्र्सवादी विचार रहेको हुन्छ । सामन्तवादी, पुँजीवादी साहित्त्न्दा जनताको साहित्य या माक्र्सवादी साहित्य धेरै कलात्मक हुन्छ । संसारका सबै मजदुर र किसान आन्दोलन, शोषित पीडित जनताको आन्दोलन, देश विदेशमा हुने स्वतन्त्रता र मुक्ति आन्दोलनको पक्षमा लेखिएको साहित्य प्रगतिशील हुन्छ । नेपालभाषा साहित्य तःमुंज्याले नेपाली जनताका लेखक, कवि, कथाकार तयार गर्छ; गरिरहेको छ । हामीले जनताका साहित्यकार या जनताका कवि, कथाकार, कलाकार, निबन्धकार तयार गर्नुपर्छ; तयार गर्ने बाटो कोर्नुपर्छ ।
Leave a Reply