साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – २
- आश्विन २०, २०८२
काठमाडौँ, २० असोज । संसारमा सबभन्दा बढी विरोध संयुक्त राज्य अमेरिकाको हुन्छ । शक्तिको दम्भ देखाएर संसारका स्वाधीन तथा सार्वभौम देशमा आफूले भनेझैँ नबस्ने या आफ्नो विचारविपरीतका मुलुकमा आक्रमण गर्ने, आक्रमण गर्न हातहतियार सहयोग गरेर आतङ्कित पार्ने, ध्वस्त बनाउने र ज्यान लिने गरेको कारण संसारका अधिकांश मुलुक र राष्ट्रप्रमुखहरूले अमेरिकी सरकारको विरोध गरेका हुन् । अमेरिकाले धेरै देशमा आक्रमण ग¥यो; सरकार प्रमुखलाई सत्ताच्युत ग¥यो, कति सरकार प्रमुखको हत्या ग¥यो । देशमा आन्तरिक कलह बढाउन, देशलाई कमजोर बनाउन अनेक षड्यन्त्र गर्ने, गुप्तचर पठाउने, आर्थिक सहयोग गर्ने अमेरिकाले एकपछि अर्को देशमा द्वन्द्व चर्काउने, हस्तक्षेप गरेर धनजनको क्षति पु¥याएर कमजोर बनाउने काम अहिले पनि रोकेको छैन । अमेरिकाकै सहयोग र साथमा इजरायलले प्यालेस्टिन देश ध्वस्त पार्दै छ, प्यालेस्टिनी जनताको नरसंहार गर्दै छ । यसकारण, अमेरिका आतङ्ककारी देश हो; अमेरिकी सरकार आतङ्कवादी हो । संसार सशङ्कित, आतङ्कित र असुरक्षित हुनुको कारक अमेरिका नै हो ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनको आदेशमा अमेरिकी सेनाले यमन र इरानमा बम खसाल्यो । राष्ट्रपति ट्रम्पले पानामा नहर कब्जा गर्ने धम्की दिए । उनले क्यानडालाई आफ्नो प्रान्त बनाउने उद्घोष गरे । निर्वाचित राष्ट्रपतिलाई राष्ट्रपतिको मान्यता नदिई निर्वाचनमा हारेका राष्ट्रपति उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने विचार व्यक्त गरेका उनी कति दम्भकारी र नीति, नियम मिच्ने गैरजिम्मेवारी व्यक्ति रहेछन् भन्ने थाहा हुन्छ । पछिल्लो पटक उनले भेनेजुयलामाथि आक्रमण गर्ने धम्की दिए । संसारका मुलुकको विकास गरेर जनताको जीवन सुनिश्चित र सुरक्षित गर्नेभन्दा ध्वस्त पार्ने, अनिश्चित, असुरक्षित र खरानी पार्ने काममा अघि बढेको अमेरिकी सरकार संसारकै लागि खतरनाक बनेको छ । शक्तिको अहङ्कारी, अभिमानी, आतङ्ककारी अमेरिकी प्रशासनले छानीछानी एक एक देशमा आक्रमण गरेर ध्वस्त पार्ने या असफल पार्ने कार्य गर्दै छ ।
अमेरिकी प्रशासन कहिले बोलिभिया त कहिले भेनेजुयला सरकारको अपदस्थ गर्न लागिरह्यो । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशमा कुनै पनि बेला आक्रमण हुनसक्ने सम्भावनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेर सचेत पारेका छन् । अमेरिकाले भेनेजुयला नजिकको समुदी भागमा युद्धपोत, लडाकु विमान, आक्रमणकारी पनडुब्बी र नौसेना खटाइसकेको छ । भेनेजुयलाको ठुलो परिणामको तेल, ग्यास र खनिज स्रोतमा अमेरिकी प्रशासनको गिद्देदृष्टि परेको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । मदुरोको शासनलाई कमजोर या असफल बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पले साम्राज्यवादविरोधी देशहरूलाई छानीछानी हस्तक्षेप र दबाब बढाइरहेका छन् । ट्रम्पले वामपन्थी सरकार भएका ल्याटिन अमेरिकी देशहरूलाई डर, धम्की दिँदै छन् । संसारका मुलुक र राष्ट्र प्रमुखहरूसँग सम्बन्ध सुमधुर बनाएर सबै मुलुकको विकास र प्रगति गर्नुपर्नेमा आक्रमण गरेर भष्म गर्ने अमेरिकी साम्राज्यवादी नीति निन्दनीय छ । यो विश्वका शान्तिकामी र देशभक्त जनताको भावना र मर्मविपरीत छ ।
साँच्चै विश्व अमेरिकी साम्राज्यवादी नीतिबाट आक्रान्त छ† असुरक्षित छ । यही कारण अमेरिका जति शक्तिशाली भए पनि विश्वबाट एक्लिँदै छ† विश्वकै मुलुकहरूको विरोधी देश बनेको छ । विश्वमा साम्राज्यवादी देशहरूको आक्रमण चालु रहेसम्म विश्वमा शान्ति पाउने छैन; विश्वका जनता सुरक्षित हुनेछैनन् । अतः विश्वका देश र जनता साम्राज्यवादको अन्त्य गर्न जुट्नुपर्छ; एकगठ भएर उभिनुपर्छ । विश्वका जनता र राष्ट्र प्रमुखहरूको एकताले नै साम्राज्यवादी देशलाई ठाउँमा ल्याउन सक्छ; ठाउँमा ल्याउनुपर्छ । अहिले विश्वमा साम्राज्यवादविरोधी देशका जनता र देशहरू एक ठाउँमा उभिँदै छन्; एक ठाउँमा उभेर विरोध प्रदर्शन गर्दै छन् । यो साम्राज्यवादविरोधी भावना र विचारलाई स्वरमा स्वर, काँधमा काँध र हातमा हात मिलाई अघि बढ्नुपर्छ ।
Leave a Reply