राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२

जुम्ला, २१ असोज । नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिको आयोजनामा मङ्गलबार खलङ्गा बजारमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नुलाई राजनीति मानेको छ; नेमकिपाका कार्यकर्ताहरूले यस्तो राजनीति एक वर्ष, दस वर्ष, बीस वर्षको लागि होइन जीवनभर गर्नुपर्ने हुन्छ; व्यक्तिगत स्वार्थको लागि नेमकिपाको राजनीति छाडेर शासक दलहरूको पुँजीवादी राजनीतिमा लाग्नु हुँदैन; नेमकिपाले दिएको सुझाव शासक दलहरूले बेवास्ता गरेको हुँदा अहिले सङ्कट उत्पन्न भएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्तिमा आगो लगाउने होइन, संरक्षण गर्ने हो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी जेल थुन्ने हो । ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था गर्नु जरुरी छ । २०४६ साल अगाडि ठुला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था थियो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सरकारमा गएका नेका, एमालेलगायतले मृत्युदण्डको सजाय खारेज गरेको हुँदा ठुला भ्रष्टाचारीहरूको मनोबल बढेको हो ।”
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठले नेपाली काङ्ग्रेसलाई विदेशी पुँजीको सेवा गर्ने पार्टी बताउनुभएको उल्लेख गर्दै सचिव सुवालले एमाले सरकारमा गएर नेकाको बाटोमा हिँड्यो; दस वर्ष सशस्त्र द्वन्द्व गरेको माओवादीसमेत नेका र एमालेको पिछलग्गू भएर विदेशी पुँजीको सेवा गरेको विचार व्यक्त गर्नुभयो ।
“नेका, एमाले, माओवादीलगायत पटक–पटक सरकारमा पुगे । तिनका ५–७ सय कार्यकर्ता मन्त्री भए । ती सरकारहरूले दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट किन्ने र लाखौँ युवालाई वैदेशिक रोजगारी पठाए । राणा शासकहरूले सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवालाई बेलायती सेनामा पठाएर कमिसन खाए भने नेका, एमाले, माओवादीका सरकारहरूले नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर कमिसन लिए ।”, उहाँले भन्नुभयो ।
युवाहरूको भदौ २३ र २४ गतेको सडक प्रदर्शनमा घुसपैठ हुँदा संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालत भवनलगायत देशभरिका ५ सत्न्दा प्रहरी चौकीमा आगलागी भएको उल्लेख गर्दै उहाँले नेमकिपाले पार्टी प्रकाशनबारे अन्तरक्रिया र साहित्य सम्मेलनमार्फत सर्वसाधारण जनताको राजनीतिक चेतना उकास्ने काम गर्दै आएको छ भन्नुभयो ।
“नेपालजतिको भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण गर्ने शैक्षिक अभियान अघि बढाएको छ । भक्तपुर नगरपालिकामा निर्वाचित नेमकिपाका जनप्रतिनिधिहरूले इन्जिनियरिङ कलेजहरू सञ्चालन गरेर ७७ जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर दिइरहनुभएको छ ।”, उहाँले भन्नुभयो ।
संसारका देशभक्त क्रान्तिकारीहरूको जीवन अध्ययन गरेर कार्यकर्ताहरूले आफ्नो राजनीतिक उचाइ बढाउनु आवश्यक भएको स्पष्ट पार्दै उहाँले पुँजीवादी सरकारमा गएर देश र जनताको निःस्वार्थ रूपमा सेवा नहुने यथार्थबारे नेमकिपा स्पष्ट छ भन्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपाका सल्लाहकार जयबहादुर शाही, नेमकिपाका केन्द्रीय सदस्य दिल्लीप्रसाद काफ्ले, सरोजराज गोसाई, नेमकिपा जुम्ला जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले पनि पार्टीले पु¥याएको योगदानबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
त्यस्तै नेमकिपा कर्णाली प्रदेशका सदस्य हस्तबहादुर कुँवर, शिवलाल डाँगी, नरेश खत्री र टीबी रोकायाले पनि बोल्नुभएको थियो ।
Leave a Reply