पुँजीवादी सरकारबाट देश र जनताको निःस्वार्थ सेवा नहुने
- आश्विन २१, २०८२
जुम्ला, २२ असोज । नेपाल मजदुर किसान पार्टी सिन्जा गाउँपालिका समितिको आयोजनामा नराकोटमा बुधबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपाले स्थापनाकालदेखि नै राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवा गर्ने नीतिको रूपमा लिएको तर पटक–पटक सरकारमा गएका शासक दलहरूले नेता, गुट र कार्यकर्ताको स्वार्थमा केन्द्रित राजनीति गर्दा देशमा आजको जटिल अवस्था निम्तिएको हो भन्नुभयो ।
नेपालमा आजसम्म वास्तविक राजनीतिक परिवर्तन नआएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “वास्तविक परिवर्तन भनेको रुसमा सन् १९१७ को अक्टोबर क्रान्तिपछि आएको परिवर्तन हो । उक्त परिवर्तनले मजदुर, किसान र सिपाहीलाई अधिकारसम्पन्न बनायो । महिलाहरूलाई व्यवहारमै समान अधिकार दियो । २०–२५ वर्षभित्र रुसलाई आत्मनिर्भर बनायो र विकसित देशहरूको बराबरीमा पु¥यायो । तर, नेपालमा २०४६ र २०६२/०६३ पछि आएको राजनीतिक परिवर्तनले शासन गर्ने व्यक्तिबाहेक केही परिवर्तन गरेन । देशमा विदेशी हस्तक्षेप बढ्यो । भ्रष्टाचार, अनियमितता र कमिसन बढ्यो । देशलाई परनिर्भर बनाइयो । वैदेशिक ऋण २७ खर्बभन्दा बढी पु¥याइयो । वार्षिक व्यापार घाटा १५ खर्बभन्दा बढी पु¥याइयो । दसौँ लाख युवालाई विदेश पठाइयो । दाल चामल, तरकारी र फलफूलसमेत भारतलगायत विदेशबाट आयात गर्नुपर्ने बनाइयो र कर्मचारीहरूलाई तलब खुवाउन समेत विदेशीसित ऋण लिनुपर्ने अवस्थामा देशलाई पु¥यायो ।”
प्रधानमन्त्री र मन्त्री बनेकाहरूले कमिसन खाएर सम्पत्ति कमाउनेमा मात्र ध्यान केन्द्रित गर्दा देशमा भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावादजस्ता अनेक विकृति विसङ्गति मौलाएको चर्चा गर्दै उहाँले भ्रटाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठुलठुला भ्रष्टाचारीहरूलाई ज्यान सजायसमेत गर्ने र व्यक्तिगत सम्पत्तिको सीमाङ्कन गर्ने बन्दोबस्त नभएसम्म भ्रष्टाचार अन्त्य नहुने र वास्तविक परिवर्तन नआउने प्रस्ट पार्नुभयो ।
उहाँले स्थानीय स्तरदेखि भ्रष्टाचार र अनियमितताविरूद्धको सङ्घर्षलाई निरन्तरता दिन जोड दिनुभयो ।
सचिव सुवालले नेमकिपाले सडक, सदन र जनताको बिचबाट निरन्तर सरकार र शासक दलहरूलाई खबरदारी गर्दा पनि ती दल नसुध्रिएकाले आज जनतामाझ बदनाम भएका हुन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देशको नदीनाला सबै भारत र विदेशी कम्पनीहरूको हातमा सुम्पेका र कमिसन कुम्ल्याएका शासक दलहरूबाट कुनै जनताले कुनै आशा राख्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले शासक दलहरूले देशको प्राकृतिक स्रोत–साधनलाई देशको विकासमा लगाउनुको साटो विदेशीलाई सुम्पेर कमिसनको खेलमात्र खेलेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेका, एमाले र माओवादी केन्द्रलगायत शासक दलहरूले केन्द्रदेखि स्थानीय तहसम्म भागबन्डा र लुटतन्त्र मच्चाएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सिन्जा गाउँपालिका समितिका अध्यक्ष लालभक्त सार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश सदस्य नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply