आन्दोलनको उपलब्धि विकृतिको निरन्तरता ?
- आश्विन २३, २०८२
काठमाडौँ, २३ असोज । कुनै दल, समूह या व्यक्तिले अरूले भन्दा फरक ढङ्गले उल्लेखनीय काम गर्दा उसको प्रशंसा गर्नु स्वाभाविक हो । तर, त्यो काम किन गर्न सक्यो, काम गर्ने हौसला कहाँबाट प्राप्त भयो† त्यो कसबाट सञ्चालित छ कुनै वास्ता गरिँदैन, वास्ता हुँदैन । केही काम गरेको आधारमा, आन्दोलन गरेर सरकार पल्टाएको भरमा त्यो दल, समूह या व्यक्ति सही हुन्छ; साँच्चै देश र जनताप्रति समर्पित भएर काम गर्छ भनी आँखा चिम्लेर एकाएक विश्वास गर्न नहुने रहेछ भन्ने कुरा विगत र हालै घटेका राजनीतिक घटनाक्रमले पुस्टि गरेको छ । भ्रष्टाचारविरोधी आन्दोलन छेड्दा सुरूमा जनताले विश्वास गर्नु अन्यथा होइन । तर, जनताले अगाडि देखेको, भोगेको देखेर विश्वास गरे पनि आखिर त्यसले समाजभित्र पसेर के गरिरहेको छ भन्ने कुरा सबैले चाल पाउँदैनन्; सबैलाई थाहा हुँदैन । जनताले एकक्षण, एक समय राम्रो काम गरेको आधारमा विश्वास गर्दा या दूरगामी कुरा नुबझ्दा कसले कहाँ आन्दोलन लैजान्छ भन्ने कुरा मतलब राख्दैन । सबै जना दूरदर्शी नहुने हुँदा एकाएक कसैले कसैलाई विश्वास गर्न सक्छ । तर, पछिको नसोची हचुवाको भरमा विश्वास गर्नुहुँदैन; विश्वास गरेर अघि बढ्नु हुँदैन ।
कुन दल, समूह या व्यक्तिलाई कसले किन सञ्चालन गर्दै छ भन्ने कुरा सर्वसाधारण जनतालाई थाहा हुँदैन । किनभने, उनीहरू दूरदर्शी हुँदैनन्† उनीहरू राजनीतिभित्र के कस्ता छलछाम, षड्यन्त्र या खेल खेल्छन् भन्ने बुझ्दैनन् । उनीहरूलाई कसले कति आर्थिक सहयोग गरिरहेका हुन्छन् भन्ने थाहा हुँदैन । राजनीतिकरूपले परिपक्व नभएका व्यक्तिहरू अवसरवादी हुन्छन्; अगाडिको हित या सेवा सुविधा खोज्छन् । उनीहरू कसको कारण सेवामा लागेका हुन् भन्ने कुरा गहिरिएर हेर्दैनन् । यसको कारण कहिलेकाहीँ राजनीतिमा नसोचेझैँ सरकार बदलिएको हुन्छ; सरकार सञ्चालन भइरहेको हुन्छ ।
सामाजिक सञ्जाल खुला गर्ने र भ्रष्टाचारविरूद्ध थालेको जेन–जीको आन्दोलनप्रति जनताको विरोध छैन । भ्रष्टाचारविरोधी अभियान थालनी गर्नुपर्छ; भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ । यसमा शङ्का छैन । विगतका शासकहरू भ्रष्टाचारमा फसेको र राजनीतिलाई कमाउधन्दा बनाएको यथार्थलाई ढाकछोप गर्न सकिँदैन । तर, त्यसविरूद्ध आन्दोलन छेडेका युवाहरू विदेशी शक्ति राष्ट्रबाट सञ्चालित हुनुहुँदैन भन्ने अभिमत छ । मन्त्री बन्न भारतीय राजदूतावासमा जानुपर्ने, नयाँ सरकार गठनलगत्तै कहिल्यै कुनै पनि सरकारलाई बधाई नदिएका दलाइ लामाले सुशीला कार्कीको सरकारलाई बधाई दिएको, ‘हामी नेपाल’ संस्था विदेशी गैरअन्तर्राष्ट्रिय संस्थाबाट सञ्चालन भएको, ‘हामी नेपाल’ कै मुख्य मुख्य मान्छे आन्दोलनको अगुवा भएको घटनाले युवा पुस्ताको आन्दोलनलाई जनताले शङ्का गर्न थालेका छन् । जेन–जी आन्दोलनका अगुवा भन्नेहरूले ‘राजा चाहियो’ समेत भन्न भ्याए । के जेन–जीको आन्दोलन ‘राजा’ फर्काउन भएको हो ? यो आन्दोलनमा घुसेका व्यक्तिहरू कुनै विदेशी शक्ति राष्ट्रबाट सञ्चालन नभएका भए संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा तोडफोड र आगजनी गर्ने आँट गर्नैै सक्दैन । विवेक नपु¥याउने दम्भ सरकारलाई जेन–जीको आन्दोलनले ढाले पनि आन्दोलनलाई उपयोग गर्ने अर्को गुह्य पक्षले गरेको तोडफोड र आगजनीले समाजमा अराजकता फैलाउने, उपद्रोव गर्ने जोखिम बढाएको छ । सरकार फेरिए पनि व्यवस्था उही पुँजीवादी नै छ । सरकारको नेतृत्व फेरिए पनि अरू केही हेरफेर भएको छैन । बरू, अहिले एमालेको नेतृत्वमा बनेको सरकार छोडेको महिना दिन पुग्दा नपुग्दै दुई ठुला दलका नेताहरू फेरि नयाँ प्रदेश सरकार बनाउने अभ्यासमा जुटेको छापामा आएको छ ।
घटनाक्रमले राजनीतिमा वर्ग विश्लेषण गर्नुपर्ने, कसैलाई एकैचोटि विश्वास गर्न नहुने र विश्वार गरेर पछि लाग्न नहुने देखाएको छ । यसकारण, राजनीतिज्ञहरू दूरदर्शी हुनुपर्छ भनिएको हो; राजनीति कुनै सिद्धान्त, दर्शन र विचारको आधारमा गर्नुपर्छ भनिएको हो । आन्दोलन भन्दैमा आँखा चिम्लेर समर्थन र विश्वास गर्न नहुने रहेछ भन्ने कुरा घटनाक्रमले देखाएको छ ।
Leave a Reply