भर्खरै :

आतङ्कित र असुरक्षित बनाउनेहरूलाई नै शान्ति पुरस्कार !

आतङ्कित र असुरक्षित बनाउनेहरूलाई नै शान्ति पुरस्कार !

विश्वका साम्राज्यवादी नायकहरू संसारका स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गर्छन्; आक्रमण गर्न हतियार, सेना र आर्थिक सहयोग गर्छन् । यस्तो कार्यमा संयुक्त राज्य अमेरिका अगाडि छ । अमेरिकाले साम्राज्यवादी कार्यको नेतृत्व गर्दै छ । अमेरिकाले सेना, हतियार र आर्थिक सहयोग नगरेको भए, अमेरिकाले नउक्साएको भए प्यालेस्टिनको गाउँ र सहर ध्वस्त हुँदैनथ्यो† ६६ हजारभन्दा बढी प्यालेस्टिनी जनता मर्दैनथे । प्यालेस्टिन र प्यालेस्टिनी जनतालाई धूलो पीठो पारेपछि वार्ता र शान्तिको आह्वान गर्ने अमेरिकी राष्ट्रपति दादागिरी, आतङ्कवादी मात्र होइन नरसंहार गर्न र गराउन सघाउने जनविरोधी पनि हुन् । संसारका स्वाधीन देशमा आतङ्क मच्चाएर, देश ध्वस्त पारेर नरसंहार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल शान्ति पुरस्कारको लागि दाबी गर्दै आएका थिए । संसारका जनतालाई असुरक्षित बनाउने, आतङ्क मच्चाउने नायकहरू नै आफूलाई शान्तिकामी भन्दै झूटको राजनीति गर्दै छन् । यसलाई भनिन्छ, ‘चराको धोती हुँदैन नकच्चराको लाज हुँदैन ।’
सन्दर्भ भेनेजुयलाकी विपक्षी दलकी नेतृ मारिया कोरिना मचाडोको हो । नोबेल समितिले उनलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार घोषणा गरेको छ । ‘अँध्यारो बढ्दो समयमा पनि लोकतन्त्रको ज्योति जलाइरहेकी’ भन्दै उनलाई सो शान्ति नोबेल पुरस्कार दिने समितिले घोषणा गरेको हो । वामपन्थी सरकार र देशका बहुमत जनताको विरोध गर्ने उनले कसरी शान्ति नोबेल पुरस्कार पाइन् ? लोकतान्त्रिक शक्तिको नाउँमा लोकतन्त्रको उपहास गर्ने, देशमा आन्तरिक कलह बढाउने, आन्तरिक कलह बढाएर विदेशी शक्ति राष्ट्रको उठबसमा चल्ने नायिकाहरूलाई शान्ति नोबेल पुरस्कार छरेर गुणी बनाउने धृष्टता गरेको छ । विपक्षी नेतृ मचाडोले निर्वाचनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा उभेको दाबी समितिको थियो । निर्वाचन बिथोल्ने, निर्वाचनमा धाँधली गर्ने, निर्वाचन आफ्नो हातमा पार्न पैसाको खोलो बगाउने, कार्यकर्ता किन्ने, लोभलालच देखाउने, धाक धम्की दिएर निर्वाचन कब्जा गर्ने पुँजीवादी नेताहरू नै हुन् ।
पुँजीवादी र साम्राज्यवादी नायकहरू प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको नाउँमा हिंसात्मक क्रियाकलाप गर्छन् । शान्तिको बखान गरेर शान्ति बिथोल्छन् । अनि उनीहरू नै द्वन्द्वमा शान्ति ल्याएको भन्दै पुरस्कारको आशा बाँड्छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा हमास र इजरायलबिच पहिलो चरणको युद्धविरामको घोषणा गरेको भन्दै शान्ति पुरस्कारको दाबी गरे । शान्ति पुरस्कार पाउने दाबी के आफूले गर्ने हो ? त्यो त विश्वका जनताले मूल्याङ्कन गर्ने हो । देश ध्वस्त पार्ने उनै हुन् । देश ध्वस्त पारेपछि शान्तिको सन्देश बाँडेर पुरस्कार लिन चाहने उनी संसारका नालायक र अयोग्य पात्र हुन् भन्ने कुरा संसारका अधिकांश राष्ट्र प्रमुख र न्यायप्रेमी जनताले मूल्याङ्कन गरिसकेका छन् । यथार्थमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुरस्कार जित्ने आशा र भेनेजुयलाकी विपक्षी दलका नेतृ मारिया कोरिना मचाडोलाई शान्ति नोबेल घोषणा गर्नु दुइटै गलत हुन् ।
भेनेजुयलामा शान्ति र प्रजातन्त्रको नाउँमा युद्ध निम्त्याउने, युद्ध निम्त्याउन अमेरिकाको सहयोग माग्ने पात्रहरू संसारका कसरी शान्तिकामी हुन्छन् ? अमेरिकाले भेनेजुयलालाई लक्षित गरेर क्यारिवियन क्षेत्रमा युद्धपोत र चार हजार सशस्त्र सेना तैनाथ गरेको छ । अमेरिकी प्रशासनको उद्देश्य मादुरोको सरकार ढाल्नु हो† सरकार ढाल्न युद्धघोष गरेर शान्ति बिथोल्ने व्यक्ति मचाडो हुन् । ट्रम्प प्रशासनले राष्ट्रपति मादुरोलाई टाउकाको मूल्य तोकेको छ । अरु देशको राष्ट्रपतिको टाउकाको मूल्य तोक्ने या ज्यान लिन पछि नहट्ने ट्रम्प कसरी शान्तिप्रेमी हुन्छन् ? हिंसालाई जोड दिने, निर्वाचित सरकारलाई शक्ति र धम्कीको आधारमा ढाल्ने र ढाल्न कुत्सित चाल अपनाउनेहरू कहिले पनि शान्तिकामी हुँदैनन् । आज त्यस्तै पात्रहरू शान्ति नोबेल पुरस्कारका विजयिता बनेका छन् । के नोबेल शान्ति घोषणा गर्ने समिति पनि युद्ध मच्चाउनेहरूको मण्डल हो ? छलकपट गरेर शान्ति बिथोल्ने, आतङ्कित र असुरक्षित बनाउनेहरू नै शान्ति नोबेलका पुरस्कृत भएपछि संसारले कसरी शान्ति पाउँछ र शान्ति छाउँछ ? असोज २६ गते प्रकाशित ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘युद्धको माग गर्नेलाई नोबेल शान्ति पुरस्कार !’ भेनेजुयलामाथि आक्रमणका लागि आह्वान गर्दै आएकी मचाडोले शान्ति पुरस्कार पाउनुको अर्थ के ? शान्ति पुरस्कार पाउन के देशमा आतङ्क फैलाउनुपर्ने ? युद्धको उद्घोष गर्नुपर्ने ? देशमा उत्पात मच्चाउन अमेरिकाको सहयोग माग्नुपर्ने ? शान्ति नोबेल पुरस्कार देशमा मुक्ति आन्दोलनको निम्ति लड्ने सङ्घर्षशील पात्रले पाउनुपर्छ । अनि मात्र त्यो न्यायोचित पाइला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *