साम्राज्यवाद अन्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने
- आश्विन २८, २०८२
सिद्धान्त र विचारको राजनीतिभन्दा पद र पैसाको निम्ति राजनीति गर्दा देशमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय गैरसरकारी संस्थाहरू धेरै भित्रिएका हुन् । विकास र सहयोगको नाउँमा देशमा पसेका ती संस्थाहरूले पैसा फालेर राजनीतिक दल या अन्य सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई हातमा लिएका हुन्छन् या हातमा लिएर नचाएका हुन्छन् । नेपालमा पनि विकास र सहयोगको नाउँमा विद्यालय विद्यालयमा मात्र होइन गाउँ–बस्ती र सहरमा पसी तिनीहरूले विभिन्न गतिविधि गरिरहेका छन्; यहाँको आन्तरिक स्थिति बुझेर मान्छेको प्रवृत्तिलाई बिगारेका हुन्छन्; बिगारिरहेका हुन्छन् । विकास र सहयोगको नाउँमा यो विदेशी या विदेशी दलालहरू घुसपैठ हुने एक उपाय पनि हो । यस्ता विदेशी दलाल, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्तिहरू आन्दोलनमा पनि घुसपैठ हुन्छन् । गैरसरकारी संस्थामा क्रियाशील व्यक्तिहरू सत्तारुढ दलसँग आबद्ध भएका हुन्छन् । भनिन्छ, गैरसरकारी संस्थामा सबभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताहरू रहेका छन् । त्यस्तै संस्थामा नेकाका नेता तथा कार्यकर्ताहरू संलग्न रहेका छन् । तिनीहरू पार्टीको कामभन्दा त्यस्तै गैरसरकारी संस्थामा बढी सक्रिय भएका हुन्छन्† भइरहेका छन् ।
विदेशी शक्ति राष्ट्र, विदेशी दलाल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्तिहरू आन्दोलनमा घुस्छन् भन्ने कुराको एक दृष्टान्त जेन–जी आन्दोलन हो । त्यसमध्ये स्वतन्त्रताको नाउँमा तिब्बतीहरू या तिब्बतलाई अलग्ग राज्य बनाउन चाहनेहरू जेन–जीको आन्दोलनमा घुसपैठ भएको प्रस्ट भयो । हुन त नेपालमा पहिलेदेखि कहिले खुला र कहिले गोप्य रूपमा स्वतन्त्रताको बखान गरेर ती तिब्बतीहरूले राजनीतिक गतिविधि गरिरहेका थिए । धर्म प्रचारको नाउँमा उनीहरूले यहाँ ‘फ्रि तिब्बत’ भन्दै बेलाबखत प्रदर्शन नगरेका होइनन् । यी काम दलाई लामाको कारण भइरहेको हो । दलाई लामा अमेरिकाको आर्थिक सहयोगमा भारतको आश्रयमा बसिरहेका व्यक्ति हुन् । तिब्बत विभाजनको राजनीतिमा लागेका दलाई लामालाई अमेरिकी प्रशासन र भारतीय प्रशासनले पोसिरहेको या पालिरहेको कुरा सबैलाई थाहा भएकै विषय हो । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले बधाई दिनु र जेन–जीको आन्दोलनमा तिब्बतलाई स्वतन्त्र देश बनाउन चाहने तिब्बतिहरू देखापर्नु संयोग मात्र अवश्य होइन ।
प्रहरी अनुसन्धानअनुसार तिनीहरूले जेन–जीको आन्दोलनमा टीओबी अङ्कित सर्त लगाएर कालो झन्डा पनि बोकेका थिए । प्रश्न आन्दोलनमा टिसर्त लाउनु र झन्डा बोक्नु मात्र होइन उनीहरूले ‘मलाई मेरो देश फिर्ता’ चाहियो भनी नाराबाजी गरे । टिसर्टमा लेखिएको त्इद्य (टिबेटिएन ओरिजिनल ब्लड) नामकै फेसबुक ग्रुप रहेको जानकारी पनि प्रचारमा आयो । यो ग्रुप फ्रि तिब्बत मुभमेन्टसित सम्बन्धित रहेको बताइयो । फ्रि तिब्बत मुभमेन्टसित दलाई लामाको सम्बन्ध छ । स्टुडेन्ट फर फ्रि तिब्बत पनि फ्रि तिब्बत मुभमेन्टकै हिस्सा हो । अमेरिकाको न्युयोर्कमा सन् १९९४ मा तिब्बती र युवा–विद्यार्थी समर्थकले स्थापना गरेको स्टुन्डेटस् अफ फ्रि तिब्बत संस्थाले शुभेच्छुक भन्दै आफ्नो वेबसाइतमा ‘हामी नेपाल’ लाई पनि राखेको छ । साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशका शासकहरूले अरु देशमा आन्तरिक द्वन्द्व बढाउने, द्वन्द्व चर्काएर झगडा गराउने, आन्दोलन बिथोल्ने, आन्दोलनभित्र पसेर तोडफोड, आगजनी गर्ने र हत्या हिंसा मच्चाउने काम गरेका थिए । ती शासकहरूले एकातिर देशमा आक्रमण गरेर विध्वंस मच्चाउने, सरकार उल्टाउने, राष्ट्र प्रमुखलाई सत्तायुत गराउने, फाँसी दिने काम गरे भने अर्को तिर आर्थिक सहयोग र विकासको नाउँमा पैसा फालेर मान्छे हातमा लिने र बानी बिगार्ने काम गरे । संयुक्त राज्य अमेरिकाले आफ्नो विचारभन्दा भिन्नका देशमा यसरी नै आताङ्कित पारिरहेको छ; देश र जनतालाई असुरक्षित बनाइरहेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा भएको घुसपैठबारे नयाँ नयाँ कुरा बाहिर आइरहेके छ । विदेशी चलखेल, गैर–सरकारी संस्थाको संलग्नताबारे थप कुरा आइरहेको छ । यतातर्फ जेन–जी आन्दोलनको ध्यानै गएको छैन । आन्दोलनको सफलताको जस आफूले पाउने र आन्दोलनको नाउँमा भएको तोडफोड र आगजनीको दोष सबै पन्छाएर देशमा कसरी राजनीतिक निकास निस्कन्छ ? जनतामाझ प्रश्न उठेको छ, जेन–जीको आन्दोलनले आन्दोलन सफल भएको हो कि घुसपैठले ? यसको पनि समीक्षा आवश्यक छ ? सही मूल्याङ्कन गर्नु जरुरी छ ।
Leave a Reply