भर्खरै :

‘बुद्ध’ र ‘सङ्घ’ को शरणमा जाऔँ गाउँको शरणमा जाऔँ !

‘बुद्ध’ र ‘सङ्घ’ को शरणमा जाऔँ गाउँको शरणमा जाऔँ !

आज संसारका विभिन्न देश र कुनाहरूमा जे जति अशान्ति, विद्रोह र आक्रमण हुँदै छन् – ती क्षेत्रबारे गम्भीर रूपले हेर्दा सभ्यता र संस्कृतिकै भिडन्तको रूपमा देखिन्छ । दया, माया, सद्भावना र ‘परस्पर सहयोगको भावना’ मानव असभ्यताको स्थितिबाट एकएक पाइला हुँदै सभ्यताको चरणमा पुगेको प्रस्ट हुन्छ । प्राचीन ढुङ्गेयुगका मानिसहरू असभ्यताबाट सभ्यताको चरणमा सुरु हुँदा आफ्नो शिकारको नरम मासुका स–साना टुक्राहरू आफ्ना नानीहरूलाई दिन्थे । तर, बाघ र बिरालोसमेत आफ्नै छोराछोरी खाँदै छन् । भँगेरा र परेवाजस्ता स–साना पन्छीहरू आ–आफ्ना बचेराहरूलाई टाढैबाट आहारा ल्याएर खुवाउँछन् ।
पूर्व र पश्चिमका धर्महरूमा समेत तत्तत् समाजका छापहरू परेका छन् । कुनै धर्ममा छोराछोरी र नातिनातिनीहरूलाई माथिल्ला पुस्ताहरूबाट सम्पत्तिको भाग पाउँछन् भने कुनै धर्ममा त्यस्तो समान व्यवस्था देखिन्न । सबै छोराछोरीलाई समान सम्पत्तिको हकबारे समानता नहुँदा सम्पत्ति नपाउने सदस्यहरू विदेशमा गएर काम खोज्न बाध्य हुँदै गए । त्यही परम्पराबाट पश्चिमका युवाहरू आफ्नो पौरख देखाउन होस् वा अरूको कमजोरबाट लुट्ने एक प्रकारको प्रवृत्तिकै कारण नयाँ–नयाँ उपनिवेशहरू एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा क्रुरता प्रवेश गर्ने परिस्थति तयार भयो र अनेक स–साना टापुहरू त सुरुदेखि नै तिनीहरूका शिकार भए ।
यसप्रकार आजका आक्रामक देशका शासकहरूमा देखिएका अनेक अमानवीय संहारक प्रवृत्तिको विकासमा विभिन्न सभ्यताका सबैजसो देशहरू (पूर्वी युरोपका पूर्वसमाजवादी देशहरूबाहेक) उपनिवेशवादीहरू नै छन् । ती देशका सभ्यता र संस्कृतिहरूका तुलनात्मक अध्ययनबाट सबै एउटै निष्कर्षमा पुग्ने अनुमान गर्न गा¥हो छैन ।
पूर्वी देशका राजा अशोकले कलिंगमा आक्रमण गर्दा धेरै जनता मरे । उनले युद्ध त जिते तर उनले कलिंगका जनताको मन जित्न सकेनन्; राज्याभिषेक गर्न पाएनन् समयमा । भूमि पाएर के गर्ने, खेत जोत्ने किसानहरू लडाइँमा मारिए । उनले बाध्य भएर आफ्नो राज्य र शासनलाई निरन्तरता दिन, बौद्ध धर्मलाई अवलम्बन गर्ने घोषणा गरे । यो सिलसिला चीन, कोरिया, जापान, हिन्द–चीन (भियतनाम, लाओस र कम्बोडिया) का देशहरू, थाइल्यान्ड, बर्मा, भारत, श्रीलङ्का र संसारमा फैलियो । तर, पश्चिमी देशका विद्वानहरूले गौतम बुद्धलाई ‘एसियाको प्रकाश’ को रूपमा मात्रै लिए । तर, पश्चिमले क्रिश्चेली धर्मलाई विश्वभर फैलाए र सोअनुसार उपनिवेशहरू पनि फैलिए । बुद्ध धर्मको जग पनि पूर्वी सभ्यताका विभिन्न दर्शन (धर्म) बाट प्रभावित र परिष्कृत भएको मानिन्छ । तर, सबै प्रकारका अतिवाद र पुरानो दृष्टिकोणबाट ‘मध्यमार्ग’ लाई बौद्ध दर्शनको रूपमा विद्वानहरूले अँगीकार गरे ।
जसरी गौतम बुद्धले अङ्गुलीमाललाई बहिष्कार गरेनन् त्यस्तै आज अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र सङ्घलाई ‘साम्राज्यवादीहरूको अखडा’ भनी सबै तटस्थ राज्यहरूले छोडेमा ट्रम्पको जस्तो पश्चिमी प्रवृत्तिका अङ्गुलीमालहरू धेरै हुने थिए । यसकारण, आज विश्व शान्तिको निम्ति पूर्वी दर्शन र तटस्थ राष्ट्रहरूको साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षलाई विश्व जनमत र सकारात्मक पाइलाहरूबाटै संसारलाई आक्रामकहरूको उद्दण्डतालाई घेर्दै र तिनीहरूका चुपीलाई भुत्ते बनाउँदै जाने आशा गर्नु उपयुक्त हुन्छ । त्यसको सम्भावना पनि पूर्व र पश्चिमकै प्रगतिशील विचार, चिन्तन र दर्शनबाट हुन्छ । भौतिकरूपले पश्चिमसँग टक्कर लिन सक्ने र लिने पूर्वी देशहरू अहिले आफ्नो सभ्यता र संस्कृतिलाई जोगाउने गम्भीर अभ्यासमा देखिन्छन् । एकल परिवार, गाउँहरू खाली हुँदै जानु र घरमा ज्येष्ठ नागरिकहरू मात्रै हुँदा छोरा नातिहरू सबै सहर र विदेश हुँदा हाम्रो सभ्यता र संस्कृति के पुस्तकमा मात्रै रहने त होइन (?) भन्ने प्रश्न तड्कारो छ ।
अहँ, खतराबाट जोगिन शान्ति आन्दोलनले युद्धविरोधी भावना तथा युद्धउन्माद र साम्राज्यवादीहरूको युद्धकामी गतिविधिलाई पराजित गर्न गाउँहरूलाई उजाड गर्नुभन्दा गाउँहरूलाई नयाँ युगसँग जोड्न सके सहरहरू मात्रै छिट्टै ध्वस्त हुने युद्ध नीति पनि पराजित हुने निश्चय छ । यस अर्थमा पुराना पुस्ताले गाउँ–गाउँमा बिहार र चिभा (बुद्धको मन्दिर) को निर्माणको अर्थलाई गम्भीररूपले बुझेर ‘बुद्धको शरणमा जाऔँ’ ‘सङ्घको शरणमा जाऔँ’ भन्दै “गाउँको पनि विकास गरौँ” भन्ने मन्त्रणालाई ध्यान देऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *