न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
सन् १९७१ मा फिडेल क्यास्ट्रोले क्रान्तिको एक दशकभन्दा लामो समयपछि ल्याटिन अमेरिकी देश चिलीको प्रथम भ्रमण गरे । तत्कालीन राष्ट्रपति साल्भाडोर एलेन्डेको निमन्त्रणामा उनी त्यहाँ गएका थिए । संरा अमेरिकाद्वारा समर्थित सैनिक विद्रोहको कारण सन् १९७३, सेप्टेम्बरमा एलेन्डेलाई विस्थापित गरियो । सान्टियागो डी चिलीको सान मिग्यल (San Miguel) समुदायमा दिइएको वक्तव्य तल प्रस्तुत छ । सो समुदायमा चे ग्वेभाराको प्रतिमा बनाइएको थियो ।
केही दिनअगाडि मैले जोसे मार्टिको प्रतिमाको भ्रमण गर्दा केही दिनपछि चेको प्रतिमा हेर्न तथा समुदायका बासिन्दाहरूसँग भेट गर्न आउँछु भनेको थिएँ । आज तपाईँहरूले मलाई यस समुदायको ‘योग्य छोरा’ को संज्ञा दिनुभएको छ । यसको लागि म तपाईँलाई धन्यवाद व्यक्त गर्दछु ।
यहाँ मेरो काम भनेको मेरा स्मरणहरू, प्रभावहरू, चेको व्यक्तित्व र जीवनको केही विशेषताहरू प्रस्तुत गर्नु हो ।
जब म यहाँ आएँ तथा प्रतिमाको अगाडि फूल चढाउँदा धेरै विचार मेरो दिमागमा आयो । सङ्घर्षका कामरेड तथा हाम्रा जनता र योद्धाहरूका दाजुभाइ कुनै बेला मैले जान्ने तथा सँगै सङ्घर्ष गर्न पाएका व्यक्तिलाई ढलौटको प्रतिमामा रूपान्तरित भएको मैले देखेँ ।
मैले जीवनमा चिनेको कुनै पनि व्यक्तिको प्रतिमा देखेको यो पहिलोपटक हो । जब कुनै कलाकारहरूले मानवताको सङ्घर्षमा आफ्ना उपलब्धि तथा विजयको लागि प्रख्यात व्यक्तिहरूको सम्झनामा प्रतिमाहरू बनाउँछन् तब लामा समय अगाडि बाँचेका, सयौँ, हजारौँ वर्षअगाडि बाँचेका व्यक्तिहरूको प्रतीकको रूपमा मूर्तिहरू बनाउँछन् । सम्भवतः विशेष परिस्थितिहरूमा मात्रै कसैले आफूले चिनेका व्यक्तिको प्रतिमा हेर्न पाउँछ किनभने प्रायःजसो इतिहासले धेरै वर्ष बितेपछि मात्र त्यस्ता व्यक्तिहरूको प्रतिमा बनाउन योग्य ठान्छन् । तर, सान मिग्युलका क्रान्तिकारी सर्वहारावादी समुदायले चेको प्रतिमा बनाउन चाहे तथा अक्टोबर १९७० मा उनको मृत्युको ३ वर्षपछि यो प्रतिमाको अनावरण गरियो ।
मैले सन् १९५५ मा चेलाई मेक्सिकोमा भेटेको थिएँ । जन्मले अर्जेन्टिनी भए पनि उनी भावना र मनबाट ल्याटिन अमेरिकी थिए । उनी भर्खरैमात्र ग्वाटेमालाबाट आएका थिए ।
अन्य क्रान्तिकारीहरूको जस्तै चेको विषयमा पनि धेरै कथाहरू आविष्कार भएका छन् । तिनीहरूले उनलाई एक पड्यन्त्रकारी, क्रान्ति र योजनाहरू बनाउने एक शङ्कास्पद व्यक्तिको रूपमा प्रस्तुत गरे । अन्य धेरै युवा विद्यार्थीसरहका एक युवा, अन्य धेरै स्नातकसरहका आफ्नो देशको विश्वविद्यालयका एक स्नातक, एक चिकित्सक, ल्याटिन अमेरिकासँग सम्बन्धित विषयमा विशेष चासो राख्ने, अध्ययन र ज्ञानमा विशेष चासो राख्ने, हाम्रा सबै राष्ट्रहरू हेर्ने, विशेष चासो राख्ने चेले धेरै देशहरूको भ्रमण गरे । उनको डिग्रीभन्दा बढी उनीसँग केही थिएनन् ।
हिँडेर मोटरसाइकलबाट उनले धेरै देशहरूको भ्रमण गरे । वास्तवमा जब हामी उत्तरी चिलीको चुक्वीकामाता (Chuquicamata) मा थियौँ । त्यहाँ हामीलाई चेले आफ्नो देश बाहिर गरेको प्रथम भ्रमणमा पहिलोपटक एकदिनको लागि विश्राम गरेको ठाउँ देखाइयो । उनीसँग पैसा थिएन । उनी पर्यटन पनि थिएनन् । उनी काम गर्ने स्थल, अस्पताल, ऐतिहासिक स्थलहरू हेर्न गएका थिए । उनले एन्डीज पर्वत पार गरे । एउटा डुङ्गामा बसेर अमाजोनस्थित एक कुष्ठरोग अस्पतालमा पुगे तथा केही समयको लागि त्यहाँ चिकित्सकको रूपमा काम गरे । उनले आफ्नो यात्रा जारी राखे । ब्राजिल, भेनेजुयला र कोलम्बिया हुँदै उनी ग्वाटेमाला पुगे । ज्याकोबो अर्वेन्ज (Jacobo Arbenz) को नेतृत्वमा ग्वाटेमालामा प्रगतिशील सरकार रहेको बेला उनी ग्वाटेमाला पुगेका थिए । त्यसबेला कृषि सुधार भइरहेको थियो । सन् १९५३ को मोन्काडा व्यारेकमाथिको आक्रमणमा बाँचेकाहरू पनि त्यहाँ थिए । तिनीहरूले चेसँग मित्रता गाँसे । उनी त्यहाँ काम गरिरहेका थिए । मेरो स्मरणमा रहेसम्म उनी त्यहाँ चिकित्सक थिए ।
ग्वाटेमालियाली प्रक्रियामा इच्छुक व्यक्ति, ज्ञान प्राप्त गर्न इच्छुक एक अध्ययनशील व्यक्ति, एक क्रान्तिकारी प्रवृत्ति र गुण भएका तथा एक ज्ञानी व्यक्ति चेले कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका सिद्धान्त र पुस्तकहरू पढेका थिए । चे कुनै पार्टीको सदस्य नरहे तापनि चे माक्र्सवादी विचारका थिए ।
तर, कटु अनुभव लिएर बाँच्नु उनको भाग्य थियो । उनी ग्वाटेमालामा रहँदा साम्राज्यवादीहरूले सीआईएको नेतृत्वमा हतियार, विमान र सबै प्रकारका उपकरणहरू प्रयोग गरी छिमेकी इलाकाबाट आक्रमण गरे । पिग्सको खाडी गीरोनमा (Giron-Bay of pigs) पनि तिनीहरूले त्यस्तै गर्न खोजे । तर, ग्वातेमालामा तिनीहरूले बिना कुनै खतरा आक्रमण गरे । आफ्नो विमानहरूको प्रयोग गरेर तथा स्थलसेनामार्फत तिनीहरूले क्रान्तिकारी सरकारलाई विस्थापन गरे ।
त्यहाँ रहेका, सरकारलाई समर्थन गरेका र राजनीतिक काम नभई व्यवहारिक प्रकृतिको काम गरेका क्युवाली र अन्य ल्याटिन अमेरिकीहरूले देश छाड्नुपर्यो । तिनीहरू मेक्सिको पुगे ।
सन् १९५५ मा जेलबाट बाहिर निस्केका प्रथम मोन्काडा योद्धाहरूले क्युवा छाड्नुपर्यो । बारम्बारको अपमान र सजाय सहेका एक कामरेड राउल क्यास्ट्रो मेक्सिको गए । म केही हप्तापछि त्यहाँ पुगेँ । राउलले पहिले नै जेलमा नरहेका कामरेडहरूसँग सम्बन्ध स्थापना गरिसकेका थिए । उनले चेसँग पनि भेटिसकेका थिए । मेक्सिकोमा मेरो आगमनको केही दिनपछि मैले चेसँग एम्पारान (Emparan) सडकस्थित एउटा घरमा बसिरहेका केही क्युवालीहरूसँग भेटेँ । तर, त्यो घरको नम्बर मलाई अहिले याद भएन ।
चे त्यसबेला चे थिएनन् । अर्नेस्टो ग्वेभारा थिए । मानिसहरूलाई चे नामले बोलाउने मर्जेन्टिनी चलनको कारण क्युवालीहरूले उनलाई चे भनी बोलाउन थाले । यसरी उनले चे नाम पाए । त्यही नामबाट पनि उनी प्रख्यात भए । त्यही नाम एउटा प्रतीकमा परिणत भयो ।
यसरी हाम्रो भेट भयो । केही घण्टाको छलफलपछि तत्कालै क्युवाली आन्दोलनमा सामेल हुने निर्णय गरेको उनले आफ्नो एक लेखमा लेखेका छन् ।
आफ्नो विचारको कारण उनले ग्वाटेमाला छाडे । त्यहाँ बस्दा त्यहाँको कटु अनुभव, त्यो देशविरुद्ध भएको कारणबाट, जनताको आशा जगाउने प्रक्रियामा आएको अवरोध, उनको क्रान्तिकारी प्रवृत्तिको कारण उनले घण्टौँमा नभई केही मिनेटभित्रै हाम्रो देशमा सङ्घर्षको नयाँ चरण सुरु गर्न कार्यरत क्युवालीहरूको सानो समूहमा सामेल हुने निर्णय गरे ।
थोरै स्रोतका साथ कठीन परिस्थितिमा हामीले मेक्सिकोमा एक वर्षभन्दा अलि लामो समय बितायौँ । तर, यो कुराले त्यति महत्व राख्दैन तथा यो सङ्घर्षलगायतका सबै सङ्घर्षबाट पनि यही अनुमान गरिन्छ । २५ नोभेम्बर १९५६ मा हामी क्युवाको लागि प्रस्थान गर्याैँ ।
संशयवादीहरूविरुद्ध, सङ्घर्षको निरन्तरताको सम्भावनाप्रति शङ्का गर्नेहरू, यो परिस्थितिमा अर्को कुनै समाधान नभएको भन्ने हाम्रो स्थितिमाथि विवाद उठाउन चाहनेहरूविरुद्ध हाम्रो आन्दोलनले एउटा नारा घोषणा गर्यो –सन् १९५६ मा या त हामी स्वतन्त्र हुनेछौँ या सहिद हुनेछौँ । त्यो घोषणा क्युवाली राष्ट्रप्रति हाम्रो सङ्घर्ष गर्ने दृढताको प्रतिबद्धता, सङ्घर्ष अविलम्ब पुनः सुरु हुने हाम्रो विश्वासको प्रतिबद्धता थियो ।
किन हामीले एउटा निश्चित दिनमा क्युवा फर्कने वाचा गर्यो भन्ने कुरा धेरै जनताले बुझेनन् तर हाम्रो सङ्गठनमा रहेका व्यक्तिहरू त्यो नाराको अर्थप्रति राम्ररी परिचित थिए । निराशाको कारण, परम्परागत राजनीतिज्ञहरूको दाउपेचको कारण हाम्रो देशका धेरै जना संशयवादी भएका थिए । यसबाहेक निहित स्वार्थको कारण राजनीतिक दाउपेचमा लागेका व्यक्तिहरू बाटिस्टा तानाशाहीसँग राजनीतिक सम्झौता गर्न धेरै प्रयास गरिरहेका थिए तथा क्रान्तिकारी सङ्घर्षमा जनताको विश्वास हटाउन प्रयासरत थिए ।
तसर्थ, सही वा गलत भए तापनि हामी त्यो नारा प्रस्तुत गर्न बाध्य भयौँ । हामी यस विषयमा अहिले छलफल गर्न गइरहेका छैनौँ । एक सैद्धान्तिक अनुसन्धानको विषयवस्तु हुनसक्छ । जनता सधैँ एउटा चित्रअनुसार जाँदैनन् । जनताले आफ्नै लहड र रोजाइअनुसार इतिहास बनाउँदैनन् । व्यक्तिहरूले इतिहास निर्माणमा योगदान गर्नसक्छन् तर इतिहासले पनि व्यक्तिलाई बनाउँछ । तसर्थ, राम्रो वा नराम्रो जेसुकैको सम्भावना भए तापनि त्यो नारालाई अगाडि बढाइयो र यसलाई अगाडि बढाउने हामीले निर्णय गर्याैँ ।
विशेष परिस्थितिहरू आउनसक्छन् र आए पनि हाम्रो प्रस्थानको पूर्वसन्ध्यामा गम्भीर जटिलताहरू सृजना भए । तर, हामीसँग सधैँ थोरै हतियार लुकाइएको हुन्थ्यो तथा हामीले सबै जान्न नसके पनि केही जानेका कुरा हामी बताउँथ्यौँ । तसर्थ, ८२ जना योद्धाहरूले एउटा सानो जहाज ग्रान्मामा आफ्नो यात्रा सुरु गरे । हामीले २४ सय किमिको समुद्री यात्रा गरेर २ डिसेम्बर १९५६ मा क्युवाको किनारामा पुग्यौँ । दुई वा तीन दिनपछि हाम्रो देशले हाम्रो सानो सेनाको अवतरणको १५ औँ वार्षिकोत्सव मनाउन गइरहेको छ । २ डिसेम्बर अहिले हाम्रो सशस्त्र सेनाको दिवस हो । यसरी सङ्घर्ष सुरु भयो । म तपाईँहरूलाई सम्पूर्ण इतिहास बताउँदिनँ । यो टोलीले कुनै परिस्थितिहरूमा सङ्घर्ष सुरु गर्यो, त्यो कुरामात्र म प्रस्ट पार्न चाहन्छु ।
चे को थिए ? चे हाम्रो टोलीका चिकित्सक थिए । उनी कमीसार थिएनन् । उनीसँग त्यसबेला आफ्नो मातहतमा कुनै सेना थिएनन् । उनी चिकित्सकमात्रै थिए । उनको गम्भीरता, उनको ज्ञान र चरित्रको कारण एकपटक चेलाई मेक्सिकोमा एउटा घरमा क्युवालीहरूको एउटा समूहको नेताको जिम्मेवारी दिइएको थियो । एकदिन एउटा सानो, असहमतिजन्य घटना घट्यो । त्यहाँ जम्मा २० वा ३० क्युवालीहरू थिए र तीमध्ये केहीले सम्भवतः दुई र तीन व्यक्तिहरूले चे क्युवाली नभई अर्जेन्टिनी भएको कारण उनको नेतृत्वलाई चुनौती दिए । कहिलेकाहीँ २ र ३ जना पनि असहमतिजन्य परिस्थिति सृजना गर्न पर्याप्त हुन्छ ।
मानवीय मूल्यको उपेक्षा गर्ने प्रवृत्ति हाम्रो भूमिमा नजन्मे तापनि हाम्रो भूमिको लागि रगत बगाउन तयार व्यक्तिप्रतिको यस्तो व्यवहारको हामीले आलोचना गर्याैँ । मलाई स्मरण छ, त्यो घटनाले मलाई धेरै चोट पु¥याएको थियो । यसले उनलाई पनि चोट पु¥याएको हुनसक्ने मेरो विचार छ ।
यसका अतिरिक्त उनी कुनै पनि प्राधिकारको चाहना नगर्ने व्यक्ति थिए । उनीसँग अलिकति पनि महत्वाकाङ्क्षा थिएन । उनी कुनै पनि अर्थमा आत्मकेन्द्रित थिएनन् । कसैले उनीसँग मतभेद देखाए पनि प्रतिकार गर्नुभन्दा भावनालाई आफैभित्र लुकाउने खालका व्यक्ति थिए ।
जब उनी हाम्रो देशमा आएका थिए, उनी हाम्रो टोलीका एक चिकित्सक थिए । चे कसरी सैनिक बने ? कसरी उनले आफूलाई विशिष्ट साबित गरे भन्ने कुरा दोहो¥याउनु र उनका विशेषताहरू के थिए भन्ने कुरा रोचक छ ।
केही उदाहरणहरू :– ५ डिसेम्बरको दिन केही प्राविधिक गल्तीहरूको कारण हाम्रो सानो टोली एउटा अचानक आक्रमणको सिकार बन्यो तथा पूर्णरूपमा तितरबितर भयो । धेरै कठिनाइबाट पार पाएपछि व्यापक घेराबन्दीपछि बिचमा केही व्यक्तिहरू पुनः एउटा टोलीमा सङ्गठित भए । त्यहाँ तीनवटा समूह थिए । एउटा राउलसँग र अर्को समूहमा चे थिए । उनी त्यसबेलासम्म समूह नेता थिएनन् र कामरेड अलमेदा (Almeda) पनि सो समूहमा थिए । तेस्रो समूह मेरो थियो । अलमेदाको समूहले पहिले मेरो समूहलाई भेटायो राउलको समूहले केही दिनपछि । हामीले सङ्घर्ष जारी राख्यौँ ।
हाम्रो पहिलो सङ्घर्ष १७ जनवरी १९५७ मा भयो, हामीसँग त्यसबेला १७ जना मानिस थिए । सुरुमा हामीसँग भएका सबै हतियारको मद्दतबाट हामीले ७ वटा हतियार जम्मा गर्न सफल भयौँ । डिसेम्बर ५ लाई हामी चे र अन्य धेरै कामरेडहरूको लागि एउटा नयाँ काम सुम्पिएको दिन भन्न सक्छौँ । तर, हामीले पहिलो सानो सङ्घर्ष जनवरी १७ मा जित्यौँ ।
दोस्रो सङ्घर्षदेखि नै चेले आफूलाई चे भएको प्रस्तुत गर्न थालेका थिए । हाम्रो पिछा गरिरहेको शत्रु सेनासँग भिडन्तमा उनले आफ्नो व्यक्तिगत बहादुरी देखाए । एक शत्रु सैनिकसँगको व्यक्तिगत सङ्घर्षमा उनले शत्रुमाथि गोली चलाए तथा आफ्नो हतियार लिन गोलीको वर्षामा अगाडि बढे । उनले बहादुरीपूर्वक आफ्नो हतियार उठाए र आफ्नै अगुवाइमा गरेको सो कामको कारण उनलाई सबैको सम्मान प्राप्त भयो ।
६ वा ७ दिनपछि जनवरीको अन्त्यमा हामीले विश्वासघातका परिणामहरू भोग्यौँ । हाम्रो सानो टोलीमा ३० जना व्यक्ति थिए । तीमध्ये ५ वा ६ जना किसान थिए । जसले आफ्नो परिवारसँग भेट्न जाने अनुमति मागे र पाए । त्यसबेला त्यो सानो समूहमा अनुशासन त्यति कडा थिएन । तिनीहरूले आफ्नो हतियार त्यही छाडे टोलीको साथमा । एकदिन सबेरै युद्धक विमानहरूको बमवर्षकहरूको एउटा टोलीले हाम्रो टोली भएको स्थानमा हमला गर्यो । कमसेकम हामीले त्यसबेला त्यही कुरा देख्यौँ । त्यसबेलासम्म हामीले त्यस्तो हमलाको केही अनुभव पाइसकेका थियौँ तर त्यो हमला सबभन्दा खतरनाक हमला थियो ।
म यो कुरा यहाँ बताइरहेछु किनभने जब योद्धाहरू गोली चलिरहेको ठाउँबाट टाढा जाने प्रयास गरिरहेका थिए, त्यसबेला हामी एउटा पहाडमा चढिरहेका थियौँ–घर जाने ५ वा ६ जना किसानको हतियार त्यही रहेको कुरा सम्झ्यौँ । ती हतियारहरू प्राप्त गर्न आवश्यक थियो । मैले स्वयम्सेवकहरूलाई बोलाएँ । बिनाकेही सोची र नहिच्किचाई चेले ‘म जान्छु’ भने । उनी र अन्य कामरेडहरू बमबारी भइरहेको ठाउँमा पुगे, हतियार भेटाए, सुरक्षित स्थानमा त्यसलाई लुकाए र हाम्रो टोलीलाई भेट्टाए ।
विभिन्न घटनाहरू घटे । चे अझै चिकित्सक थिए । उनले कुनै पनि सेनाको नेतृत्व गरेका थिएनन् । तर, त्यो वर्षको मई २८ मा अर्को घटना घट्यो । हाम्रो समूहमा १०० व्यक्ति थिए । यदि मैले ठीक सम्झेँ भने अर्को राजनीतिक सङ्गठनका क्युवाली क्रान्तिकारीहरूको समूह प्रान्तको उत्तरी भागमा पुग्यो । हामीले पहिलोपटक अवतरण हुँदाको क्षण र हामीले भोगेका कठिनाइहरू सम्झ्यौँ । तसर्थ, हामी त्यो समूहको मद्दत गर्न चाहन्थ्यौँ । तसर्थ, हामी समुद्री किनारा अगाडि बढ्यौँ जहाँ शत्रुहरूको एउटा टोली आफ्नो किल्ला बनाएर बसेको थियो । हामीले प्राप्त गरेको सूचनामा आधारित भएर हामीले बिहान सबेरै आक्रमण गर्ने योजना बनायाँै तथा यसलाई यथाशीघ्र सङ्गठित गर्याैँ । तर, बिहान जब हामी युद्ध सुरु गर्न लाग्दै थियौँ, परिस्थिति गम्भीर भयो । हाम्रो सूचना धेरै सही नभएको थाहा पाइयो । शत्रुहरू हामीले सोचेको ठाउँमा थिएनन् तथा परिस्थिति गम्भीर भयो । तथापि हामीलाई अगाडि बढ्नु थियो ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण
Leave a Reply