भर्खरै :

चे, फिडेलको संस्मरणमा – ११

चे, फिडेलको संस्मरणमा – ११

पाठ ५

हाम्रो सानो एकाइ प्लाटुन र टोली एक–डेढ किलोमिटरको परिधि भएको एउटा वृत्ताकार क्षेत्रमा छरिएको थियो । हामी पछाडि हट्न सक्दैनथ्यौँ । हामीसँग लड्नुबाहेक अर्को विकल्प थिएन । त्यो सङ्घर्षको समयसम्म चे केन्द्रको (General Staff) एक भाग थिए । उनको आफ्नै जिम्मेवारी थियो । हामीलाई दुई वा तीन काम गर्नु थियो । अल्मेदाको प्लाटुनलाई अगाडि मोर्चामा बढ्न तथा यथासम्भव शत्रुहरूको नजिक पुग्ने हामीले अनुरोध गर्याैँ । अगाडि बढ्नु धेरै खतरनाक थियो तथा हामीलाई धेरै क्षति हुने सम्भावना थियो ।
पश्चिमतर्फ पनि हामीले एउटा टोली पठाउनुपरेको थियो । हामीले परिस्थितिलाई आँक्ने तथा त्यो कामको आवश्यकताको विश्लेषण गरिरहेको बेला चेले स्वयम्सेवकको रूपमा काम गरे । उनले केही व्यक्तिहरूको एउटा टोली र एक स्वचालित राइफल मागे तथा पश्चिमतर्फ जाने कुरा बताए । हामीले उनलाई केही व्यक्तिको एउटा टोली र एउटा स्वचालित राइफल दियौँ जुन साधारण टोलीको थियो र उनी तुरुन्तै त्यो ठाउँमा पुग्न अगाडि बढे ।
हामीलाई स्वयंसेवकका आवश्यकता परेको त्यो तेस्रोपटक थियो तथा चे तत्कालै अगाडि बढे । कुनै पनि कठिन परिस्थितिमा उनी एकैचोटि अगाडि बढ्थे र त्यसबेला पनि उनले त्यसै गरे ।
त्यो सङ्घर्ष एउटा कठीन लडाइँ थियो । त्यो लडाइँ ३ घण्टासम्म चालु रह्यो तथा दुवै पक्षका झन्डै ३० प्रतिशत सेना मारिए वा घाइते भए । उत्तरी भागमा अवतरण भएकाहरूको मद्दत गर्ने चाहनाले हामीले त्यो युद्ध गरेका थियौँ । हामीले प्रयास गरे तापनि तिनीहरू घेरिए, कब्जामा परे र मारिए । हरेक व्यक्ति मारिए । ३ घण्टाको सङ्घर्षपछि जब हामीले शत्रुको शिविर कब्जा गयौँ । त्यहाँ ठुलो सङ्ख्यामा घाइतेहरू थिए । चेले हाम्रा मित्र र शत्रु दुवैतर्फका घाइते सेनाको उपचार गरे । हाम्रो सङ्घर्षपछि त्यही नै हाम्रो अभ्यास र नियम रह्यो ।
पछि गएर त्यो सङ्घर्षले शत्रु सेनाको सङ्ख्या बढायो । हामीलाई मार्न व्यापक खोजी गरियो । घाइते शत्रुहरूको हेरचाहपछि हामीले तिनीहरूलाई त्यही छोड्याँै किनभने तिनीहरूलाई आफ्नो तर्फका सेनाले भेट्टाउन सकोस् तर चे एक चिकित्सकको रूपमा हाम्रा घाइते साथीहरूका साथ त्यही एक सुनसान ठाउँमा रहे । उल्लेख्य सङ्ख्यामा रहेका शत्रु सेनाले हामीलाई खोज्ने प्रयास गरिरहेको बेलाको कठीन परिस्थितिमा उनले घाइतेहरूको हेरचाह गरेर बसे ।
हाम्रो टोलीले कठीन असमतल भूमि हिँडेर पार गर्यो । हामीले घेराबन्दीलाई तोड्यौँ । तर, चे आफ्नो स्थानमा थोरै व्यक्तिका साथ घाइतेहरूसँगै रहे । घाइतेहरू निको नभएसम्म धेरै हप्तासम्म चे तिनीहरूसँगै रहे । सङ्घर्षको क्रममा हामीले खोसेका हतियारहरूबाट सुसज्जित भएको हाम्रो प्रमुख टोलीमा सामेल हुन त्यो सानो टोली सफल भयो । तसर्थ, प्रथमपटक हामीले एउटा नयाँ टोली दोस्रो टोली सङ्गठित ग¥यौँ र सो टोलीको नेतृत्वको जिम्मा चेलाई दियौँ । हामीले उनलाई हाम्रो सेनाको दोस्रो कमान्डर बनायौँ । आफ्नो सानो नयाँ समूहका साथ उनले हाम्रो पहिलो टोलीभन्दा त्यति टाढा नरहेको विशेष ठाउँमा आफ्नो क्रियाकलाप सुरु गरे ।
यसरी चे एक सैनिक बने र एउटा सानो टोलीको कमान्डर भए । उनले उही चरित्र, उही प्रवृत्ति उही हदसम्म देखाउँदै गए ।
उनलाई हेर्नु भनेको के हो ? उनको आक्रामकता र साहसले उनलाई धेरै खतरनाक योजनाहरू बनाउन प्रोत्साहित गथ्र्यो । जब उनले आफ्नो समूहसँग पर्याप्त शक्ति र आफूहरू रहेको क्षेत्रको विषयमा पर्याप्त जानकारीको अभावमा पनि लामो समयसम्म चलेको युद्धमा एक सैनिकको रूपमा आफ्नो क्षमता र कठीन परिस्थितिमा पनि लड्ने गुण देखाए । कहिलेकाहीँ एउटा स्थानको लागि उनी शत्रुसँग लड्नमा जोड दिन्थे ।
आफ्नो चरित्र, दृढता र भावनाको कारण उनले सङ्घर्षमा आफ्नो जीवनलाई खतरामा पारेर युद्धको साधारण नियम, तरिकालाई उल्लङ्घन गरे । उनको समूह धेरै सानो भए तापनि, अगाडि बढिरहेका शत्रुहरू धेरै भए तापनि, कुनै स्थानको रक्षा गर्नुको अर्थ नभए तापनि उनी आफ्नो स्थान छोड्न अस्वीकार गर्थे । यही नै उनको चरित्र, कठीन परिस्थितिमा पनि प्रयास नछाड्ने प्रवृत्ति र लडाकू भावना थियो । तसर्थ, हामीले उनको लागि केही नियम र निर्देशहरू बताउनुपथ्र्यो ।
हामी उनको कुन गुणको सम्मान गछौँ, हामीलाई उनको कुन गुणले प्रभाव पार्छ ? चेको भावना र आत्माको सही रूप के गुणले बुझाउँथ्यो ? त्यो उनको नैतिक गुण, अरुको हेरचाह गर्ने भावना, निःस्वार्थीपना थियो । उनसे क्युबालीहरूको एउटा समूह भेटे, तिनीहरूको उद्देश्यप्रति उनी विश्वस्त बने तथा पहिलो क्षणदेखि नै उनले आफ्नो निःस्वार्थपना र सज्जनता देखाए । पहिलो क्षणदेखि नै उनी आफ्नो ज्यान दिन सदा इच्छुक रहन्थे । चाहे त्यो पहिलो युद्ध होस् वा दोस्रो, तेस्रो । यहाँ हामीसँग एक यस्तो व्यक्ति थियो जो हाम्रो देशभन्दा हजारौँ किमि परको ठाउँमा जन्मेका थिए । क्युवामा नजन्मेको हुनाले केही क्युवालीहरूले आफूलाई उनले आदेश दिएकोमा आपत्ति जनाएका थिए । तर, पनि त्यो देश र त्यो देशको उद्देश्यको लागि उनी हरक्षण ठुलठुला खतरा उठाई खतरनाक कामहरू गर्न सदा तत्पर रहन्थे ।
उनी त्यस्ता व्यक्ति थिए जसको व्यक्तिगत महत्वाकाङ्क्षा थिएन । आफ्नो काम गर्नु र राम्ररी गर्नुबाहेक उनले अरु केही चाहेनन् । कुनै पनि परिस्थितिमा उनी तत्काल प्रतिक्रिया जनाउन तयार रहन्थे । बिना कुनै हिचकिचाहट एक क्रान्तिकारी योद्धाको उदाहरण राख्न सदा तयार रहन्थे ।
आफ्नो पहिलेका दिनहरूमा चेले यो समुदायमा यस्तो सभा हुनेछ र उनको प्रतिभाको अगाडि उभेर उनको सम्मान गरिरहेका हुनेछौँ भन्ने कुरा कहिल्यै सोचेका थिएनौँ ।
चेले गौरव, भौतिक सम्पत्ति वा महत्वाकाङ्क्षाको लागि लडेनन् । उनले कहिल्यै पनि प्रशंसाको लागि लडेनन् । उनी त्यस्ता व्यक्ति थिए जो सुरुदेखि नै आफ्नो पहिलो सङ्घर्षदेखि नै आफ्नो ज्यान दिन तयार, एक अर्को सैनिकसरह मारिन सक्ने सैनिक थिए । यदि उनी आफ्नो पहिलो युद्धमा मरेको भए हामीले थाहा पाएको उनको व्यक्तित्व र विशेषताको स्मरण हामीसँग रहन्थ्यो । दोस्रो, तेस्रो, चौथो वा पाँचौँ युद्धमा मारिए पनि यस्तै हुन्थ्यो । उनी त सङ्घर्षहरूमध्ये कुनैमा पनि मारिन सक्थे । तसर्थ, चेले आफ्नो कर्तव्य र बलिदानबाहेक अरु केही नसोचेको हामी बताउन सक्छौँ । उनले धेरै मेहनतपूर्वक सैनिक विज्ञानको अध्ययन गरे ।
उनी एक अध्ययनशील व्यक्ति थिए र आफ्नो धेरै कामबाट कठिनाइपूर्वक पाएको केही घण्टाको फुर्सदको समयमा पनि उनी ननिदाइकन अध्ययन गर्थे । उद्योग मन्त्रालयमा अन्तहीन घण्टासम्म काम गरेर पनि उनी आगन्तुकहरूसँग भेट्थे, युद्धका वृत्तान्तहरू लेख्थे तथा आफूले विभिन्न अभियानको क्रममा भ्रमण गरेका देशहरूको अनुभवको विषयमा लेख्थे । उनी आफ्ना अनुभवहरू रोचक, सरल र प्रस्ट शैलीमा लेख्थे । क्रान्तिकारी युद्धका धेरै श्रृङ्खलाहरू सुरक्षित छन् किनभने चेले त्यसका वृत्तान्तहरू आज हामीसँग छन् ।
क्युवामा स्वयम्सेवी कामको सुरुवात गर्ने व्यक्ति नै थिए । उद्योग मन्त्रालयको जिम्मेवारीअन्तर्गत रहेका धेरै कार्य स्थलहरूमा पुगेर मजदुरहरूसँग कुरा गरे, समस्याहरूको विश्लेषण गरे । हरेक आइतबार चे कहीँ न कहीँ कार्यस्थलहरूमा जान्थे, कहिले उनी जहाजमा गई त्यहाँका मजदुरहरूसँग मिलेर काम गर्थे, कहिलेकाहीँ उनी खानी मजदुरहरूसँग काम गर्न खानीमा जान्थे, कहिले उखु काट्न उखु खेतमा जान्थे र कहिलेकाहीँ निर्माण मजदुरहरूसँग भेट गर्थे । उनले आफ्नो लागि भनेर कुनै आइतबार राखेनन् ।
उनका यी कामहरू र सम्पूर्ण पहिलेका कामहरूलाई उनको स्वास्थ्य स्थितिको सन्दर्भमा हेरिनुपर्दछ । किनभने, उनी केही एलर्जी समस्याबाट पीडित थिए र त्यसबाट उनलाई दमको समस्या आउँथ्यो । दम रोगका साथ उनले सम्पूर्ण अभियान पूरा गरे । उनले रातदिन काम गरे । दमका साथ उनले लेखे, देशभर र विदेशको यात्रा गरे । दमका साथ उनी खानीभित्र गए र खेतमा काम गर्न गए, हरेक ठाउँमा गए । जब उनी आफ्नो मन्त्रालयको जिम्मेवारीस्वरूप पाएका कामहरू गरिरहेका हुँदैनथे, त्यतिबेला उनी निन्द्राबाट चोरिएका केही घण्टाहरूमा अध्ययन गर्थे वा उनी स्वयम्सेवी काम गरिरहन्थे ।
चे मानवतामा अनन्त विश्वास राख्ने व्यक्ति थिए । उनी एक जीवित उदाहरण थिए । उदाहरण बन्नु, उदाहरण राख्नु उनको प्रवृत्ति थियो । उनी आत्मबलिदानको भावना भएका सादा र कठोर प्रवृत्ति भएका तथा आत्म–त्याग भएका व्यक्ति थिए ।
उनको सम्पूर्ण जीवन हरेक क्षेत्रमा एउटा उदाहरण थियो भन्ने कुरा हामी भन्न सक्छौँ । उनी आत्मसम्मान भएका, दृढ सिद्धान्त भएका, भविष्यको मानवतालाई हेर्ने, मानवीय मूल्य, मानवताको नैतिक मूल्यमा जोड दिने व्यक्ति थिए । उनी निःस्वार्थी र आत्मउत्सर्ग गर्ने र आफूलाई त्याग गर्ने व्यक्ति थिए ।
मैले उनका लागि प्रयोग गरेका शब्दहरूमा एउटा पनि शब्दमा बढाइँचढाइ गरेको छैन । ती सबै शब्दले हामीले चिनेको व्यक्तिको वर्णन गर्छ ।
यहाँ उनको प्रतिमा छ, कलाकारले आफ्नो भावअनुसार बनाएको उनको छवि छ । तर, एउटा प्रतिमाले त्यो व्यक्तिको सम्पूर्ण गुण र रूपलाई देखाउन सक्दैन । हामीसँग चेका लेखहरू, वृत्तान्त र सम्बोधनहरू छन् । उनलाई चिन्ने व्यक्तिहरूसँग चेको विषयमा आफ्नै स्मरणहरू छन् । हाम्रो कारखानाका मजदुरहरू चे आफ्नो कारखाना आएको दिन, चेले स्वयंसेवकको रूपमा काम गरेका ठाउँहरूलाई गर्वपूर्वक स्मरण गर्छन् ।
केही समय अगाडि हामीले एउटा कपडा कारखानाको भ्रमण गरेका थियौँ जहाँका यन्त्रहरूलाई नवीकरण गरिएको थियो । हाम्रो साथमा एक विदेशी आगन्तुक पनि थिए । मजदुरहरूले हामीलाई एउटा पसलमा लगे जुन पसलमा चेले स्वयंसेवकको रूपमा काम गरेको एक कपडा बुन्ने तानलाई पारिवारिक सम्पत्तिसरह जतन गरेर राखिएको थियो । चेले भ्रमण गरेका खानीहरू, उनले काम गरेका र मजदुरहरूसँग कुरा गरेका स्थानहरू पनि उनको स्मरणमा प्रतिमाहरू हुन् तथा हाम्रा मजदुरहरू यसप्रति असाधारण स्नेह देखाउँछन् ।
तर, चे इतिहासको लागि, सम्मान वा गौरवको लागि बाँचेका थिएनन् । हरेक सच्चा क्रान्तिकारी, विस्तृत क्रान्तिकारीले जस्तै उनले पनि असाधारण व्यक्तित्व, महान् देशभक्त जोसे मार्टिको भनाइ “विश्वका सबै गौरव कठोर सङ्घर्षको फल हो” भन्ने विश्वास गर्थे ।
क्रान्तिकारीहरूले सम्मान वा गौरवको लागि वा इतिहासमा स्थान पाउनको लागि सङ्घर्ष गर्दैनन् । चेले इतिहासमा एउटा ठुलो स्थान ओगटेको छ र सधैँ ओगट्नेछ किनभने इतिहासमा स्थान पाउनु उनको लागि कहिल्यै महत्वपूर्ण थिएन । आफ्नो पहिलो सङ्घर्षदेखि नै उनी मर्न तयार थिए किनभने उनी सधैँ निःस्वार्थी थिए । तसर्थ, उनको जीवन एउटा महाकाव्य र एउटा उदाहरण बन्यो । हामी हाम्रा जनतालाई यही कुरा भन्छौँ । यही नै सबैको आधारभूत विचार बनेको छ । यदि हामी आफ्ना बालबालिकालाई केही बनाउन चाहन्छौँ भने हामी तिनीहरूलाई चेजस्तै बनाउन चाहन्छौँ । चेलाई आफ्नो जीवनको आदर्श नबनाउने कुनै पनि क्युवाली परिवार, क्युवाली अभिभावक वा क्युवाली बालबालिका छैनन् ।
यदि आजको विश्व–मानवताको नयाँ इतिहास लेख्दै छ भने एउटा राम्रो मानवीय समाज निर्माण गर्ने प्रयास गर्दै छ र सा¥है जटिल समस्याहरू कठीन सङ्घर्षको सामना गर्दै छ । समकालीन विश्वले एउटा उदाहरण खोजेको छ । यस उदाहरणमा हुनुपर्ने गुणहरूको खोजीमा छ । चेलाई चिन्ने अवसर पाएका हामीले किन हाम्रा जनता र देशले चेलाई आफ्ना बाल–बालिकाको आदर्शको रूपमा छानेका हौँ भन्ने कुरा बुझ्न सकिन्छ । यो एउटा असाधारण उपयुक्त उदाहरण भएको हाम्रो विश्वास छ ।
यो आदर्शलाई हाम्रो आउँदो पुस्ताहरूमा यथार्थमा परिणत गर्न सफल भए कति राम्रो हुनेछ र यसबाट हामीले भविष्यमा चेजस्ता पुस्ताहरू पाउनेछौँ ।
भावी समाज चेजस्ता पुस्ताहरूबाट बन्नेछन् । चेजस्ता व्यक्तिहरूको पुस्ताबाट नै राम्रो समाज साम्यवाद उदाउनेछ ।
उनले हामीमाझ आफ्नो उदाहरण छोडेका छन् । आफ्नो स्पष्ट विचारको अन्तिम फल, उनको दृढ चरित्र, उनको इस्पातजस्तो मुटु, आत्मबलिदानको भावना, अरुको उद्देश्य र सङ्घर्षको लागि आफूलाई होम्ने संवेदनशील वा सज्जनता, अरुको लागि बलिदान गर्ने भावना, उनको बुद्धिमत्ता, उनको शान्त हातको अन्तिम दिनहरूको वर्णन गरेका कथा लेखेका छन् । आफ्नो सम्पूर्ण, स्पष्टवादी ढङ्गले र प्रस्ट शैलीले थोरै शब्दमा आफ्नो जीवनका अन्तिम क्षणहरूलाई प्रतिबिम्बित गरेर उनले हरेक अर्थमा असाधारण मूल्य भएको एक राम्रो काव्यात्मक साहित्य कोरे ।
तसर्थ, विश्वका युवा चेलाई एक प्रतीकको रूपमा हेर्छन् । उनले अल्जेरियालीको, भियतनामीहरूको र ल्याटिन अमेरिकीहरूका उद्देश्यलाई बुझेका हुनाले चेको नाम र व्यक्तित्वलाई सबै महादेशको असीम श्रद्धा, सम्मान र स्नेहको भावबाट हेरिन्छन् । चेको नाम र व्यक्तित्व संरा अमेरिकी समाजको मुटुमा पनि प्रज्ज्वलित छ । नागरिक अधिकारका योद्धाहरू, आक्रामक युद्धविरुद्धका योद्धाहरू, शान्तिका योद्धाहरू, प्रगतिशीलहरू संरा अमेरिकाभित्रै कुनै पनि उद्देश्यको लागि सङ्घर्ष गर्ने नागरिकहरूले चेको नाम र झन्डालाई बोकेका छन् । यसरी उनी एक अत्यन्त भीमकाय व्यक्तित्व बनेका छन् । कसैको पनि कल्पना चित्र वा आफ्नो हितबाट यसको सृजना भएको होइन । यो जस्तो बलियो जगमा कहिल्यै झन्डा उठाइएको छैन । यस्तो बलियो भूमिमा उठेको उदाहरण कहिल्यै स्थापित भएको छैन ।
चेले आफ्नो छोटो र तीव्र गतिशील जीवनमा, छोटो तर सृजनात्मक जीवनमा आफ्नो व्यक्तित्वलाई एउटा प्रतीकको रूपमा परिणत गरे । यो उनको उद्देश्य थिएन । उनले यो कुरा चाहेका पनि थिएनन् तर उनको जीवन उनको निःस्वार्थ भाव, उनको शालीनता, उनको परोपकारिता, वीरताको कारण नै उनी आज चे बनेका हुन् । उनी एउटा झन्डा, एउटा आदर्श र एक योद्धा बने । उनी एक पथप्रदर्शक बने । उनी न्यायको भावना, शालीनताको स्मारक बने । छोटोमा चे विश्वका सबै जनताको लागि एक आदर्श क्रान्तिकारी, एक योद्धा र एक कम्युनिष्टको आदर्श हुन् ।
मातृभूमि वा मृत्यु ।
हामी विजयी हुनेछौँ !

स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *