खबर
महिना दिनअघिको कुरा हो । ‘मजदुर’ दैनिकमा एउटा अनौठो खबर छापियो । भक्तपुरको जेन्युइन स्कूलले बुद्धबारे कार्यक्रम गर्दै छ भन्ने । कार्यक्रमबारे बुझ्न सहृदयी पानसिंहजीलाई फोन गरेँ । बुद्ध र बौद्ध दर्शनबारे विचार गोष्ठी हुँदै रहेछ असोजको अन्तिम साता । जसरी हुन्छ कार्यक्रममा ‘घुस्ने’ मन बन्यो । बुद्ध जन्मस्थल लुम्बिनी आसपास जन्मेको हुनाले एकप्रकारको राग छ बुद्धप्रति । बुद्ध, बौद्ध दर्शन र विपश्यनाबारे पढ्न, बुझ्न र ‘अनुभूति गर्न’ धेरै विहार र गुम्बा धाइयो बाल वयमा । त्यसैले, जेन्युइनको कार्यक्रम कसै गरी फुत्किन नदिने सुर कसियो ।
यो पालिको दसैँ हिलेमात्र भएन । बाढी र पहिरोले ठुलै उत्पात मच्चायो । सत्यको विजयसँग जोड्ने गरिन्छ दसैँलाई । तर, नालायक शासकहरूको गैरजिम्मेवारी र अव्यवस्थापनले यसपालिको दसैँ दशा बन्यो । फेरि एकपल्ट प्राकृतिक विपत्तिसामु असहाय र निरूपाय बने नेपालीजन । हुनेखाने देशहरूको महिमागान गरेर कहिल्यै नअघाउने शासकहरूको देश हो यो । तिनै देशले कोसेली दिएको जलवायु परिवर्तनको मार खेप्दै मनाइयो यसपालिको दसैँ ।
यसबिच पनि जेन्युइनको कार्यक्रम मनबाट ओझेल भएन । पानसिंहजीलाई सताइराखेँ । बल्लतल्ल असोज २५ र २६ गते कार्यक्रम हुने थाहा भयो । कार्यक्रमको एकाध दिनअघि नै भक्तपुर आइयो । कार्यक्रमका संयोजक योगेन्द्रमान सरले कार्यक्रमको निम्तो नै पठाउनुभएको रहेछ । खुसी लाग्यो ।
उद्घाटन
असोज २५ गते बिहान ‘बुद्ध शिक्षा र दर्शन’ विषयक दुईदिने सेमिनारको उद्घाटन कार्यक्रम थियो । उद्घाटनमा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँको उपस्थिति थियो । नेपालका स्कूल, क्याम्पस र त्यहाँ पढाउने शिक्षक–शिक्षिकाहरूको कमजोरीकै कारण नयाँ पुस्ता ‘उपद्रो’ मा उत्रेको बताउनुभयो उहाँले । सेमिनारलाई उहाँले शिक्षक–शिक्षिकाहरूको अध्ययन, पठन र चिन्तनकै हिस्सा मान्नुभयो ।
एउटा विद्यालयले आफ्नो वार्षिकोत्सव मनाउन विभिन्न छिल्लिएका गीत–सङ्गीतमा कोमल मस्तिष्कका बालबालिकालाई मञ्चमा उफार्नुभन्दा सर्वथा नौलो प्रयोग थियो जेन्युइनको । जेन्युइनको प्रयास सराहनीयमात्र छैन, अनुकरणीय पनि छ । विद्यालय विद्यार्थीको व्यक्तित्व विकास गर्ने स्थलमा मात्र सीमित हुनुहुँदैन । यसले त्यहाँ काम गर्ने सबैको, शिक्षक–शिक्षिकाको व्यक्तित्व पनि खार्नुपर्छ । एउटा विद्यालयले गर्नसक्ने उच्चतम काम भने अर्कै छ । विद्यालय एउटा अभियान बन्न सक्छ, समग्र समाजको शिक्षक बन्न सक्छ । स्थापनाको ३० वर्षमा जेन्युइनले जे गर्दै थियो त्यो यही दिशामा एक पाइलो थियो । अर्थात्, जेन्युइन पाको बन्दै छ ।
डा. त्रिरत्न मानन्धरले कार्यक्रमको ‘जेनेसिस’ माथि प्रकाश पार्नुभयो । भिक्षु निग्रोधले बौद्ध शिक्षाको विश्वव्यापी फैलावको तस्बिर उतार्नुभयो । बौद्ध अध्येता सुदर्शना बज्राचार्यले बौद्ध शिक्षाका सारभूत कुराको सरल व्याख्या गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठित बुद्धिजीवी, शिक्षक, पत्रकार र समाजसेवीको उपस्थिति देखेर अलि अत्यास लाग्यो । तर, परिचित मित्रहरूले मन थामियो पनि । कार्यक्रम अवधिमा कतिपय विद्वान्हरूसँग सङ्गत भयो । मनभित्रको धक फुक्दै गयो ।
बौद्ध सुशासन
सेमिनारको पहिलो कार्यपत्र लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्वान् त्रिरत्न मानन्धरले प्रस्तुत गर्नुभयो । शीर्षक थियो – ‘बुद्ध शिक्षा र सुशासन’ । अन्तर्राष्ट्रिय समुदायले मानेका सुशासनका आठ मान्यतालाई पाली साहित्यबाट द्रष्टव्य दिएर व्याख्या गर्नुभयो डा. मानन्धरले । बेला–बेला सान्दर्भिक पाली सुत्तहरू सुनाउने उहाँको कला गजबको रह्यो । बौद्ध दर्शनका लागि सुशासन नौलो कुरा होइन । बौद्ध सुत्त, गाथा र जागतका सुशासनको पक्षमा बुद्धले प्रचुर साहित्य छोड्नुभएको रहेछ ।
उहाँको कार्यपत्रमा टिप्पणी गर्ने विद्वान्हरूले अनुसन्धानको विधिमा चासो राख्नुभयो । ध्यान कार्यपत्रको खाका र विषयवस्तुमा गयो ।
सुशासन वा असल शासनका आठ मान्यता छन् – सहभागिता, पारदर्शिता, विधिको शासन, जवाफदेही, उत्तरदायी, सहमति, समता÷समावेशिता र प्रभावकारिता । शासनबारे सोच्दा यी मान्यता कत्तिको प्रभावकारी होलान् ? आफूलाई अब्बल प्रजातन्त्र वा लोकतन्त्र दाबी गर्ने देशमा पनि यी मान्यताको पूर्ण पालन भएको देखिन्न । हाकाहाकी जातिसंहार मच्चाउने देशहरू आफूलाई लोकतान्त्रिक अगुवा भन्छन् । शक्ति सन्तुलनको नाममा पश्चिमा देशमा सत्तापक्ष र प्रतिपक्षको प्रबन्ध गरिएको हुन्छ । जसले गर्दा होडबाजी, तानातान र हानाहान पश्चिमा शासनको स्वभाव नै बनिसकेको छ ।
यसको विपरीत चीनमा हाल सहकार्य, संवाद र सहमतिको अभ्यास भइरहेको छ । निश्चित उद्देश्य राखेर फरक तह–तप्कामा मान्छेले सहकार्य गर्नु, नीतिनिर्माताले आफूले बनाउने नीतिबारे जनतासँग संवाद गर्नु र नीतिमा सहमत भइसकेपछि सबैजना उद्देश्य पूरा गर्न एक भई लाग्नु – असल शासनको यही मन्त्र छ चीनको । जसले गर्दा १० वर्षमा १० करोड जनतालाई गरिबीको रेखामाथि लैजान सफल भयो चिनियाँ शासन । प्रक्रियामुखी शासनभन्दा परिणाममुखी शासनमा जान हामीले चीनबाट सिक्नैपर्छ । यसको लागि अध्ययनको खाका फेर्न जरुरी छ ।
सांकृत्यायन
बौद्ध अध्येता रत्नसुन्दर शाक्यले कार्यपत्र राख्नुभयो । उहाँले बौद्ध जगत्का प्रसिद्ध व्यक्तित्वबारे अनेक ग्रन्थ लेख्नुभएको छ । सेमिनारमा उहाँले खासगरी महापण्डित राहुल सांस्कृत्यायनबारे विस्तृत चर्चा गर्नुभयो । उहाँको प्रस्तुतिबाट हामीमध्ये धेरैजना प्रभावित भयौँ । उहाँको स्मरणशक्ति बेजोड पायौँ ।
एक हिन्दू ब्राह्मण परिवारमा जन्मेर चर्चित साधु बन्नुभएका सांकृत्यायन समयक्रममा बौद्ध भिक्षु हुँदै कम्युनिस्ट कार्यकर्ता बन्नुभयो । नेपालको साहित्य, कम्युनिस्ट र भाषिक उत्थानमा उहाँको अतुलनीय योगदान छ । यस्तै सन्दर्भ, अन्तरङ्ग, प्रसङ्ग र जीवनचर्चाले विद्वान् शाक्यको प्रस्तुति रङ्गीन बन्यो ।
खासगरी दुई सन्दर्भले मेरो ध्यान तान्यो । सांकृत्यायनले अम्बेडकरसँग ‘तपाईँसँग अलि पहिल्यै भेट हुन पाएन’ भन्नुभयो रे । भारतीय कम्युनिस्ट आन्दोलनलाई बाहुनवादले गिजोलेकोमा सांकृत्यायन हतास हुनुहुन्थ्यो रे । सांकृत्यायनजस्ता चिन्तकका आँखाबाट कम्युनिस्ट आन्दोलनका असङ्गतिहरू निश्चय नलुकेका होलान् । नेपालमा पनि उही समस्या छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई शिष्ट भाषामा भन्दा खस अहङ्कारवादले गाँजेको यथार्थ हो । नत्र माक्र्सवाद र बुद्धको शिक्षामा उति भेद देखिन्न ।
अम्बेडकर जीवनको अन्तिम वर्ष बौद्ध सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएको थियो । उहाँले माक्र्स र बुद्धबारे आफ्नै शैलीमा स्पष्ट पार्नुभयो । पहिलो, बुद्धले ‘दुःख’ लाई चिन्तनको केन्द्रमा राख्नुभयो र माक्र्सले ‘शोषण’ लाई दुःखको कारण बताउनुभयो । दोस्रो, माक्र्सले दुःख हटाउन निजी सम्पत्तिको उन्मूलन गर्नुपर्ने बताउनुभयो भने बुद्धले पनि बौद्ध सङ्घमा भिक्षुहरूलाई निजी सम्पत्ति नराख्न भन्नुभयो किनभने सारा क्लेश त्यहीबाट जन्मिने उहाँको बुझाइ थियो । तेस्रो, कम्युनिस्टहरू छिट्टै समाज परिवर्तन गर्न चाहन्छन् तर बुद्धको तरिकाले समय लाग्ने अम्बेडकरले बताउनुभयो । नेपालमा कम्युनिस्ट आन्दोलनले तीव्रता पाएसँगै अम्बेडकरलाई कार्यक्रमका आयोजकले ‘बुद्ध र माक्र्स’ को विषयमा बोल्न भनेछन् । यसपछि विषय बदलेर अम्बेडकरले माथिका तीन कुरा बताउनुभयो ।
रत्नसुन्दर शाक्यले बताउनुभएको दोस्रो प्रसङ्ग – सन् १९५६ मा भारतमा आयोजित बौद्ध सम्मेलनमा सरकारले सांकृत्यायनलाई निमन्त्रणा गरेनछ । बुद्ध र बौद्ध दर्शनका प्रकाण्ड विद्वान्लाई सम्मेलनमा नबोलाउनु उनको कम्युनिस्ट झुकाव हुनसक्ने विद्वान् शाक्यको अनुमान छ । हुनसक्छ, विद्वान्हरू अद्वैत दर्शनलाई भारत सरकारको आधिकारिक दर्शन मान्छन् । जसरी प्राचीन कालमा अद्वैत दार्शनिकहरूले भौतिकवादी दर्शनको नमरुञ्जेल खेदो खनिरहे त्यसरी नै सांकृत्यायनजस्ता भौतिकवादीलाई बौद्ध सम्मेलनमा स्थान नदिनु परम्पराकै निरन्तरता थियो सायद । शोषक÷शासकहरूलाई सत्य वा विद्वताभन्दा बफादारी मन पर्छ ।
पुनर्जन्मको असङ्गति
पहिलो दिनको अन्तिम प्रस्तुति पत्रकार तथा बौद्ध अध्येता वसन्त महर्जनले दिनुभयो । विषय थियो – ‘बुद्ध शिक्षा र मानव अधिकार’ । खासगरी दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले आकार लिए पनि बौद्ध शिक्षामा सुरुदेखि नै मानव अधिकारको विषयवस्तु आइसकेको प्रस्तोताले चर्चा गर्नुभयो । बौद्ध साहित्यबाट उहाँले पनि विभिन्न उदाहरण पेस गर्नुभयो । उहाँले व्यक्तिगत स्वतन्त्रता, महिला समानता, जातीय समानताजस्ता विषयलाई छुनुभयो । बुद्धको शिक्षा दुःख मुक्तिसँग सम्बन्धित हुनाले यी कुरालाई बुद्धले नदेख्ने कुरै भएन । त्यस्तै, मानव अधिकारका अन्तर्राष्ट्रिय कानुनहरूमा बुद्धको उल्लेख नहुनु पश्चिमा पूर्वाग्रह हुनसक्ने प्रस्तोताले संशय व्यक्त गर्नुभयो । प्रस्तुति जानकारीमूलक रह्यो ।
प्रस्तुति राख्नुअघि विद्वान् महर्जनले अनेक प्रकारका बुद्ध, निर्वाण र पुनर्जन्मबारे जे बोल्नुभयो, त्यसले सानो असमझदारी ल्यायो । प्रश्नोत्तरको चरण तिनै असङ्गतिहरूमा केन्द्रित भयो । पहिलो, विद्वान् तारालाल श्रेष्ठले पश्चिमा परिधिभित्र रहेर बुद्धको अध्ययन गर्नु उचित नहोला भन्नुभयो । बुद्ध दर्शन मौलिक हुनाले त्यसको अध्ययन पनि मौलिक ढङ्गले गर्नुपर्ने उहाँको विचार थियो । एक प्रश्नकर्ताले सोध्नुभयो – पुनर्जन्म त अन्धविश्वास होइन र ? विद्वान् महर्जनले ‘बिहानको मान्छे साँझसम्म धेरैपल्ट मरिसकेको हुन्छ’ भनी चल्तीको प्रतीकात्मक भाषा बोल्नुभयो । खासमा यो तर्क–दोष हो । आजको विज्ञान भन्छ – पुनर्जन्म भ्रमबाहेक केही होइन । बुद्धले चल्तीमा रहेको वा जनमानसमा ‘कमन सेन्स’/‘सहज चेत’ बनिसकेको पुनर्जन्मको अवधारणालाई नकार्न सक्नुभएन । बरु, उपनिषद्कारहरूले अघि बढाएको पुनर्जन्मको धारणामा अलिकति संशोधनमात्र गर्नुभयो । पुनर्जन्मको चक्रबाट कोही बच्न सक्दैन भन्ने वेदान्तीहरूविरुद्ध प्रयास गरे त्यो चक्र रोक्न सकिने बुद्धको सन्देश थियो । यहाँ बुद्धले अलौकिक नियामकलाई भन्दा मानव प्रयासलाई बढी महत्व दिनुभएको छ ।
बुद्ध जुन उल्झनमा पर्नुभयो त्यस खालका उदाहरण संसारमा धेरै छन् । कुनै बेला सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास ‘सहज चेत’ थियो । विद्वान्हरूले यही विचारलाई मियो बनाएर विभिन्न पृथ्वीकेन्द्रित मोडल अघि सारे । टोलेमीको मोडल र सुमेरु पर्वतको मोडल फरक छन् । ती ‘सहज चेत’ चिर्न विज्ञानलाई हजारौँ वर्ष लाग्यो । बुद्धको हकमा के कुरा बिर्सिनुहुन्न भने पुनर्जन्मको छायाँ उहाँका चार आर्य सत्य र अष्टमार्गको सिद्धान्तमा कतै पनि परेको छैन । तसर्थ, बौद्ध शिक्षामा पुनर्जन्मलाई एउटा बाहिरिया प्रभावमा आएको क्षेपक मानी अघि बढ्दा नै उपयुक्त हुन्छ ।
विहार र महिला
त्रिभुवन विश्वविद्यालयका डा. पुष्परत्न शाक्यले ‘विहारको उत्पत्ति, नेपाल मण्डलमा बहाः र त्यसमा निहीत कलाहरू’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले प्राचीनकालदेखि नै चारथरी बौद्ध विहारको प्रचलन रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका बहाःविहीको उदाहरण दिनुभयो । विहारको निर्माणका विविध आयाम र अर्थ केलाउनुभयो । कुनै बेला बौद्ध विहार पठन–पाठनका केन्द्र थिए । सबैभन्दा रोचक पक्ष के भने बौद्ध कलाकर्ममा विभिन्न बौद्ध गुणहरूलाई व्यक्तीकरण (पर्सनिफिकेसन) गरेर मूर्ति बनाइँदो रहेछ । अर्थात्, मानवीय गुणको मूर्तीकरण । प्रत्येक बुद्ध मूर्तिले व्यक्तिलाई भन्दा पनि फरक–फरक गुणलाई जनाउने रहेछन् । यसको अर्थ पूजा गर्नेले व्यक्तिलाई नभई गुणलाई पुज्नुपर्ने रहेछ । विडम्बना ! जनमानसले यसरी सोच्दैन । निकै सूचनामूलक रह्यो डा. शाक्यको प्रस्तुति ।
यसपछि डा. सविता ‘धाख्वा’ शाक्यले आफ्नो कार्यपत्र राख्नुभयो । शीर्षक थियो – लैङ्गिक समानताका लागि बुद्ध शिक्षा । बौद्ध साहित्यमा महिला अधिकारका पक्षमा रहेका विभिन्न सूत्र, जातक र घटनाहरूको चर्चा गर्नुभयो । शील, समाधि र प्रज्ञाका साथै पञ्चशीलको कुरा गर्नुभयो । तर, प्राचीन प्रसङ्गमा उहाँले कताकता आधुनिक रङ चढाएको महसुस भयो । जस्तो, उहाँले भड्किला फिल्म हेर्न नहुने, दाम्पत्य जीवनमा जोड आदिको उल्लेख गर्नुभयो । यी चस्मालाई प्राचीन भन्न मिल्दैन । पति–पत्नीबिच समानताको अभ्यास अति आधुनिक हो । बुद्धले महिलाहरूलाई शिक्षित गर्न आदर्श भिक्षुणीहरूलाई अघि सार्नुभएको प्रसङ्ग रोचक रह्यो । तर, त्यसमा पनि बोद्धिसत्व प्राप्त भिक्षुणीलाई चमत्कार गर्न लगाउने कुरालाई कसरी लिने ?
यहाँनिर लेखक अभय श्रेष्ठले बुद्धले सुरुमा महिलालाई भिक्षु सङ्घमा प्रवेश गर्न रोकेको बरु महाप्रजापति गौतमीको जोडबलपछि मात्र महिलाले भिक्षु सङ्घमा प्रवेश पाएको बताउनुभयो । भिक्षु सङ्घमा अझै पनि लैङ्गिक विभेद रहेको प्रति उहाँको गुनासो रह्यो ।
तन्त्रमन्त्र र मन
तेस्रो कार्यपत्र प्रस्तुत गर्नुभयो पाटन संयुक्त क्याम्पसकी प्राध्यापक जुनुमैया बासुकलाले । कार्यपत्रको शीर्षक थियो – नेवार बौद्ध धर्ममा परम्परागत कागजी चित्र । उहाँले नेवार जातिका विभिन्न धार्मिक, सांस्कृतिक र सांस्कारिक कार्यमा प्रयोग हुने १० थरी चित्रमध्ये कागजी चित्रको विहङ्गम चर्चा गर्नुभयो । भारतका एक कलाकारले देवीदेवताको चित्र बनाई बेच्न थालेपछि नेपालमा पनि कागजी चित्र प्रयोगमा आएको हुनसक्ने उहाँले बताउनुभयो । खासगरी कागजमा कोरिने विभिन्न नौथरी चित्रहरूले हाम्रो ध्यान तान्यो । धेरैजसो त भूतप्रेतरूपी अमङ्गल, अकुशल वा भैपरी हटाउनका लागि कोरिने रहेछन् । यसबाट नेवारी संस्कार आदिमा जादुटुना वा तन्त्रमन्त्रको बाक्लो प्रभाव रहेको बुझियो । कार्यपत्रमा ती संस्कारको व्यवहारिक व्याख्या आए पनि चित्तबुझ्दो वैज्ञानिक वा सैद्धान्तिक व्याख्या भने आएन ।
प्राचीन मातृप्रधान समाजमा मानव शरीरलाई ब्रह्माण्डसँग र मान्छेको प्रजनन क्षमतालाई सृष्टि वा प्राकृतिक उर्वरतासँग तुलना गरिन्थ्यो । उब्जनी बढाउनका लागि पञ्च मकारको प्रयोग गरी उद्देश्य हासिल भइसकेको नक्कल गरिन्थ्यो । अज्ञात प्राकृतिक शक्तिहरू (जसलाई मान्छेले भूतप्रेत वा सिमेभुमेको रूप दिए) सामु असहाय मानिसले यिनै अभ्यासको सहाराले आफ्नो मनोबल बलियो पार्थे । यी अभ्यास तन्त्रमन्त्रको रूपमा पछिसम्म जीवित रहिरहे । बौद्ध मन्त्र ‘ऊँ मणि पद्मे हूँ’ होस् वा पशुपतिको शिवलिङ्ग, सबैमा तान्त्रिक छाप छ । नेवार संस्कारहरूमा पनि तिनको छाप रहनु स्वाभाविक हो । यिनै कुराको झझल्कोले गर्दा प्राध्यापक बासुकलाको प्रस्तुति चाखलाग्दो लाग्यो ।
कार्यक्रम समयमै नटुङ्गिएला भन्ने भयले अन्तिम कार्यपत्रलाई हतारोजस्तो भयो । तैपनि, लेखक घनश्याम खड्काले ‘बुद्धको दृष्टिमा मन’ बारे बोल्न कुनै हतारो गर्नुभएन । धर्मगुरुले प्रवचन दिएजस्तो धाराप्रवाह बोल्नुभयो । भौतिक सम्पन्नताले पनि मनको शान्ति नपाएपछि पश्चिमा समाज बुद्ध र बौद्ध शिक्षाको अध्ययनमा लागेको भनेर उहाँले सुरुमै बुद्धको सान्दर्भिकता उजिल्याउनुभयो । बुद्धलाई बुझ्न बौद्ध दर्शन बुझ्नुपर्नेमा उहाँको जोड रह्यो । विपश्यना ध्यानका विविक्ष पक्षबारे आफ्ना अन्तरङ्ग अनुभवलाई उहाँले प्रवचनमा उन्नुभयो । ठाउँ–ठाउँमा विज्ञान पनि मिसाउनुभयो । सुन्दा रमाइलो लाग्यो ।
धर्म हुनका लागि ईश्वर र परलोकको आश्वासन नै चाहिन्छ भन्ने हो भने बुद्धको शिक्षा धर्म होइन । तर, बुद्धले नै धर्म भनेपछि हामीले यसलाई ‘ईश्वरविहीन धर्म’ भन्नुपर्ने हुन्छ । खासमा यो ‘नास्तिक धर्म’ हो । कतिपय आधुनिक विद्वान्हरू बौद्ध धर्मलाई पूरै दर्शन मान्न पनि तयार छैनन् । किनभने, यसले मान्छेलाई निश्चित नियम वा शीलको अभ्यास गराई सुख, शान्ति र सन्तोष हासिल गर्ने लक्ष्य लिएको छ । यो व्याख्याभन्दा पनि अभ्यासमुखी छ । मनोविद्हरूको कुरा मान्ने हो भने विपश्यना एकप्रकारको आत्म–मनोविश्लेषण हो । त्यसैले यो निजात्मक हुनु स्वाभाविक छ । तर, मनोविश्लेषणले मात्र मानव समाजलाई मान्छे बस्न लायक बनाउने भए उहिल्यै बनाइसक्ने थियो । मानव क्लेशको जग निजी सम्पत्ति नै हो । जबसम्म मान्छेले भौतिक वैभवले आफ्नो आत्मा/सेल्फलाई सजाइरहन्छ, तबसम्म ध्यानले मात्र मानव समाजलाई सही दिशामा डो¥याउन सक्नेछैन । सामाजिक समस्याहरूको उद्गम र हल दुवै सामाजिक हुन्छन् । व्यक्तिका प्रयासहरू धेरै त व्यक्तिमै सीमित हुन्छन् ।
आजका मनोविदहरूको ध्यान मनको ‘पुँजी’ लेख्ने दिशामा जानुपर्छ किनभने पुँजीवाद मौलाएसँगै मानव मनमा झन्झन् नयाँ क्लेशका ऐँजेरुहरू पलाइरहेका छन् र पलाइरहनेछन् । पुँजीको शासन रहेसम्म यी ऐँजेरु अग्लिने र बाक्लिने मात्र छन् । उपभोक्तावादले झन् धेरै इच्छा, चाहना र मनोकामना जन्माइरहनेछ । ध्यानले राहत देला तर ऐँजेरुका जरा उखेल्न सक्नेछैन किनभने गृहस्थ नभई वा उत्पादनशील केही नगरी समाज बाँच्न सक्दैन । गृहस्थ भयो कि व्यवस्थाजन्य विकारले समाइहाल्छ† व्यक्ति नाफा–घाटा वा पुँजीको पासोमा परिहाल्छ । ‘मनको विज्ञान’ को फल भोग्ने अवकास र सहुलियत सबैलाई हुन्न ।
खसखस
कार्यक्रममा बेलाबेला प्रकट गरिएको एउटा विचार वा भ्रम नचिरी यो लेखको बिट मार्न मनले मानेन । केही वक्ताले बेलाबेला लोकायतीहरूलाई गालीवाची शब्दको रूपमा प्रयोग गर्नुभयो । लोकायत दर्शनलाई हेडोनिस्ट वा भोगविलासवादको अर्थमा बुझ्नु सही होइन । बौद्ध विद्वान्हरूबाटै यस्तो धारणा आउनु दुःखद हो ।
भारतीय उपमहाद्वीपको संस्कृतिका दुई स्रोत छन् – वैदिक र अवैदिक । अवैदिक धारामा विभिन्न मत देखापरे । बौद्ध दर्शन अवैदिक हो । बौद्धजनका विभिन्न संस्कार र संस्कृतिमा त्यसको अकाट्य प्रमाण व्याप्त छ । बौद्धसँगै साङ्ख्य, लोकायत र न्याय वैशेषिक पनि महत्वपूर्ण दर्शन हुन् । अवैदिक दर्शनका जराहरू यहाँका प्राचीन जनजातीय समाजमा गाडिएका छन् । तसर्थ, यी दर्शन मौलिक दर्शन पनि हुन् । यी दर्शन ब्राह्मणवादजस्तो कसैले थोपरेका होइनन् । बरु, आर्थिक उत्पादनका विभिन्न चरणमा स्वतःस्फूर्त विकसित भएका हुन् । लोकायत पनि यस्तै दर्शन थियो । लोकमा प्रचलितमात्र होइन, यही लोकको दर्शन हो लोकायत ।
लोकायत दर्शनको एउटा चर्चित भनाइ छ –
यावत् जिवेत सुखम् जिवेत, ऋणम् कृत्वा घृतम् पिवेत् ।
अर्थात्, जति बाँच्छौ सुखले बाँच, ऋणधन गरेरै भए पनि घिउ खाऊ ।
कतिपय ब्राह्मणवादीहरू आजको उर्लिँदो उपभोक्तावादलाई देखाउँदै हाम्रा ऋषिमुनिहरूले पहिल्यै उपभोक्तावादको प्रचार गरेका थिए भनी लौकाजत्रो नाक पार्छन् । लोकायतीहरूले छाडा भोगविलासवादको प्रचार गरे भन्दै दुत्कार्ने अर्को विचार पनि छ । यी दुवै विश्लेषण अतिवाद हुन् । सुखले बाँच्ने हक सबैलाई छ । बुद्धले पनि दुःख हटाउने कुरा गर्नुभयो । बुद्ध द्वन्द्ववादी चिन्तक र समाजवेत्ता हुनुहुन्थ्यो । दुःख नहटाई कसरी सुख प्राप्त होला ? लोकायतीहरूले सुखको कुरा गर्नु गलत होइन । ऋण गरेरै भए पनि घिउ खाऊ भन्नु पनि गलत होइन । लोकायतीहरूले जाँडरक्सी खाऊ, व्यभिचार गर भनेनन्, पेट फुट्ने गरी खाऊ पनि भनेनन् । घिउ खाए शरीर स्वस्थ हुन्छ; शरीर स्वस्थ हुन्छ भने मन पनि स्वस्थ हुन्छ । सरल सोचाइ थियो लोकायतीहरूको । त्यसैले लोकले लोकायतलाई अपनायो, लोकायतीहरूलाई मिठो बोल्ने ‘चार्वाक’ भन्यो ।
लोकायत भौतिकवादी दर्शन थियो । भौतिकवादको गलत अर्थ निकाल्नु अर्को अतिवाद हो । भौतिकवादको अर्थ भौतिक जगत्लाई पहिलो र चेतनालाई पछिको मान्नु हो । आँखा चिम्लेर कुनै पण्डा–पुरोहित वा गुरुको भाउँतोमा लाग्दैनन् लोकायतीहरू । प्रत्यक्ष प्रमाण खोज्छन् । मान्छेको अवलोकनमा भर पर्छन् । बुद्धको शिक्षा पनि यस्तै छ । दोस्रो, लोकायत दर्शनले मानव अनुभूतिभन्दा पर कुनै ईश्वर र परलोकमा विश्वास गर्दैन । यस अर्थमा बौद्ध दर्शन पनि निरीश्वरवादी र लौकिक छ ।
लोकायतलाई अनैतिक भन्दै गर्दा महाभारतको शान्तिपर्व हेर्न जरुरी छ । कुरुक्षेत्रको युद्ध जितेर आएका युधिष्ठिरको धुमधाम स्वागत भयो । उनको स्तुति गाउन ब्राह्मणहरूको लर्को लागिरहेको थियो । यस्तैमा एक लोकायती त्यहाँ आए । उनले आफ्ना भाइ–भतिजा मारेर विजय उत्सव मनाउनु व्यर्थ छ भनेर पाण्डवहरूको विजयलाई फोस्रो भने । युधिष्ठिर ङिच्च परेको देखेर ब्राह्मणहरूले धर्म पालन गरे र राजाको विजयगान गर्दै ती लोकायतीलाई राक्षस भने । उनलाई दण्डित गरियो, जिउँदै जलाइयो । यसबाट लोकायतीहरू अनैतिक वा निर्लज्ज थिए भन्ने आरोप सही होइन । बरु, उनीहरू प्राचीन जनजातीय सदाचार मान्थे; भ्रातृहत्यालाई पाप मान्थे ।
भारतीय उपमहाद्वीपलाई अध्यात्मको भूमि भनिन्छ । तर, यहाँ अध्यात्मवादलाई पुष्टि गर्न पनि तर्कको सहारा लिने चलन थियो । यो साङ्ख्य, लोकायतजस्ता दर्शनको देन थियो । यस्तो महत्वपूर्ण दर्शनलाई गालीवाची होइन, बरु मननीय मार्गदर्शन मान्नुपर्छ ।
जेहोस्, दुईदिने सेमिनार धेरै अर्थमा मूल्यवान र शिक्षाप्रद रह्यो । विद्यालयले एउटा प्राज्ञिक कर्मलाई आफ्नो वार्षिकीको ‘उत्सव’ बनाउनु देशका अन्य विद्यालयका लागि पनि प्रेरणादायी र अनुकरणीय छ । मेरा लागि विद्यालयको गुन तिरिनसक्नु रह्यो । ‘बुद्धको शिक्षा र दर्शन’ जस्तो गहकिलो र गर्बिलो कार्यक्रमको हिस्सा बनाएकोमा विद्यालय परिवारलाई मुरीमुरी धन्यवाद !
Leave a Reply