भर्खरै :

महिला शिक्षित भए समाज र देश विकासमा मद्दत पुग्ने

महिला शिक्षित भए समाज र देश विकासमा मद्दत पुग्ने

भक्तपुर, १ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको सिद्धान्तअनुसार संस्थाका सबै सदस्यहरूको हितमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाकुपतिनारायण बचत तथा ऋण सहकारी संस्थाको महिला भेलामा पुँजीवादी सरकारले सार्वजनिक संस्थाहरूलाई जानीबुझी भ्रष्टाचार गराई घाटामा पठाउने र सस्तोमा व्यक्ति वा विदेशी पुँजीलाई बिक्री गराएको उल्लेख गर्दै सांसद सुवालले ३२ हजारभन्दा बढी सहकारी संस्थामध्ये १७ हजारभन्दा बढी जोखिममा परेको सार्वजनिक भएकोतर्फ सहकारी संस्थाका सञ्चालकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारमा गएका दल र तिनका नेताहरू भ्रष्टाचारमा लागेको हुँदा सार्वजनिक सम्पत्तिमा समेत आगलागी गर्नेहरूको मनोबल बढेको उल्लेख गर्दै सचिव सुवालले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायसमेत हुने कानुनी व्यवस्था आवश्यक भएको बताउनुभयो ।
महिला शिक्षित र सचेत भए समाज र देश नै विकास हुने उल्लेख गर्दै सचिव सुवालले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्कको लागि नेमकिपाको संशोधन प्रस्तावलाई शासक दलहरूले अस्वीकार गरेको हुँदा देश सङ्कटमा परेको बताउनुभयो ।
“नेमकिपाको बहुमत प्राप्त भक्तपुर नगरपालिकाले २०–२५ वर्षयता ख्वप नर्सिङ कलेजलगायत शैक्षिक संस्थाहरू सञ्चालन गरी देश र जनताको सेवा गर्दै छ”, सांसद सुवालले थप्नुभयो ।
नेमकिपाबाट वाग्मती प्रदेशसभामा निर्वाचित सदस्य सृजना सैंजूले स्वास्थ्य र सरसफाइलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ९ का वडा सदस्य छोरीमैया सुजखु र संस्थाका अध्यक्ष श्रीकृष्ण सुवालले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *