भक्तपुर ३१ असोज । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका ९ वडा समिति ताथलीको आयोजनामा शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ३५ वर्षयता सरकारमा जाने दलहरूले निर्वाचनमा धाँधली र सत्ताको दुरूपयोग गरी निर्वाचन जितेर देश र जनताको पक्षमा काम नगर्दाको परिणाम आज देशले भोगिरहेको उल्लेख गर्नुभयो ।
अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई अमेरिकी साम्राज्यवादको आर्थिक सहयोग र भारतीय विस्तारवादको संरक्षणमा बसेका दलाई लामाले शुभकामना दिनु शङ्कास्पद रहेको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गते नयाँ पुस्ताको आन्दोलनमा फ्रितिब्बतवालाहरू खुलारूपमा देखापर्नुले विदेशी षड्यन्त्रको गन्ध आएको स्पष्ट पार्नुभयो ।
इतिहासमा कमजोरलाई सत्तामा पु¥याएर विदेशीले फाइदा लिएका धेरै घटनाबाट पाठ सिक्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले नेपालको सरकारमा ‘अमेरिकन युथ काउन्सिल’ का सदस्यहरू मन्त्री हुनुले देश विदेशीको खेलमैदान बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताको प्रभावकै कारण भदौ २३ र २४ को घटना भएको विभिन्न तथ्यतथ्याङ्कले बताइरहेको छ । नेपाली जनताको एकताले नै खराब तत्वलाई परास्त गर्न सक्छ । नेपाल मजदुर किसान पार्टीको विचार र सिद्धान्तको पछि लाग्नु अहिलेको निकास हो । ”
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले भ्रष्टाचारमा संलग्न आजसम्मका प्रधानमन्त्री, मन्त्रीहरूलाई कानुनको दायरामा ल्याउनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भारतीय विस्तारवाद नेपालको मुख्य शत्रु भएको उल्लेख गर्दै जोताहा किसानलाई जमिनको मालिक नबनाउँदा देश परनिर्भर बनिरहेको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका ९ वडा समितिका अध्यक्ष राजाराम छुकांको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रविन बासुकला, कमला गिरी भारती, एकबहादुर खत्रीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply