शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
रङ्गीन क्रान्ति (Colour Revolution)
सन् १९७५ मा संयुक्त राज्य अमेरिकाले भियतनामसँग व्यहोरेको लज्जास्पद हारपछि आफ्नो लड्ने शैलीमा परिवर्तन ग¥यो । त्यसपछि संयुक्त राज्य अमेरिकाले अन्य देशलाई नियन्त्रण गर्न रङ्गीन क्रान्ति (Colour Revolution) को नाममा ‘छद्म युद्ध’ आविष्कार ग¥यो । सन् १९८० को दशकको मध्यदेखि यो ‘छद्म युद्ध’ को गतिविधि अगाडि बढेको देखिन्छ । कुनै पनि मुलुकमा हुनसक्ने सम्भावित साँचो क्रान्ति रोकेर अमेरिकी हित संरक्षणको निम्ति यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । रङ्गीन क्रान्ति विशेषतः कम्युनिस्ट क्रान्तिलाई रोक्न डिजाइन गरिएको हो । यसको उद्देश्य अन्य देशमा अमेरिकी प्रतिकूल सरकार हटाएर अर्को अनुकूल सरकार स्थापना गर्नु हो । यसले सरकार परिवर्तन गर्छ तर जनताको पक्षमा व्यवस्था परिवर्तन गर्दैन । अमेरिकाले विश्वका ५० भन्दा बढी देशमा रङ्गीन क्रान्तिको प्रायोजन ग¥यो । जसमध्ये ९० प्रतिशत योजना सफल भएको देखिन्छ ।
अमेरिकाले रङ्गीन क्रान्तिको निम्ति खोज तथा अनुसन्धानमा बौद्धिक शक्ति तथा खर्च जुटाउन, सोच र प्रविधिमा आएको परिवर्तनले समाजलाई पार्ने प्रभावको लेखाजोखा गर्न, पात्र, प्रविधि र नयाँ टेक्निकहरू खोजी गर्न केही रिसर्च इन्स्टिच्युट र विश्वविद्यालय तयार पार्छ । तिनले वर्षौँ लगाएर विषयवस्तु (Content) तयार पार्छ । त्यस्तैमध्ये रङ्गीन क्रान्तिको अन्वेषणमा जोडिएको अमेरिकी एकेडेमिक संस्थाको नाम हो– The Albert Einstein Institution (AEI) । जसले अहिंसात्मक प्रतिरोध (Non-Violent Resistance) कसरी गर्ने भनेर त्यसको सैद्धान्तिक कलेवर तयार पार्छ । सो संस्था अमेरिकाका राजनीतिक वैज्ञानिक जीन सार्प (Gene Sharp) ले सन् १९८३ मा स्थापना गरेका थिए । सार्पलाई रङ्गीन क्रान्तिका पिता मानिन्छ ।
विभिन्न देशका आन्दोलनमा समर्थकहरूलाई सङ्गठित गर्नको निम्ति रङ्गलाई प्रतीकको रूपमा प्रयोग गरिएको पाइन्छ । जस्तैः फिलिपिन्समा पहेँलो रिबन, युक्रेनमा सुन्तला रङ्गलाई प्रयोग गरिएको थियो । सन् २००३ मा जर्जियामा भएको गुलाबी क्रान्ति (Rose Revolution), सन् २००४ मा युक्रेनमा भएको अरेन्ज क्रान्ति
(Orange Revolution) र सन् २००५ मा किर्गिस्तानमा भएको ट्युलिप क्रान्ति (Tulip Revolution) रङ्गीन क्रान्तिका सिलसिला हुन् ।
सञ्चारमाध्यमको भूमिका
अहिले सञ्चारमाध्यम युद्धको प्रमुख हतियार बनेको छ । सञ्चारमाध्यममार्फत मानिसको दिमागलाई नियन्त्रण गरिन्छ । एउटा झूटलाई सयौँपल्ट सुनाएपछि त्यो साँचो हुन पुग्दछ । मानव अधिकार, स्वतन्त्र निर्वाचन, पारदर्शिता, भ्रष्टाचारको अन्त्यजस्ता जनतालाई छिटो प्रभाव पार्ने विषय सञ्चारमाध्यममार्फत उठाइन्छ । सञ्चारमाध्यममार्फतै सरकारविरूद्ध जनप्रदर्शन, हडताल, सरकारी आदेशको अवज्ञाजस्ता गतिविधिको आह्वान गरिन्छ । ‘यो देश खत्तम भयो, सबै नेता चोर हुन्’ भन्नेजस्ता नारा सामाजिक सञ्जालमार्फत प्रचार गरेर सडक आन्दोलनको लागि तयारी पारिन्छ । नागरिकमा निराशा र आक्रोश पैदा गराइन्छ । शान्तिपूर्ण सडक आन्दोलनलाई हिंसात्मक बनाएर सरकार परिवर्तन गर्ने षड्यन्त्र गरिन्छ ।
देशभक्त तथा सरकारप्रति प्रतिबद्ध सेना र आर्थिक रूपले सक्षम तथा बलियो सरकार भएको देशमा रङ्गीन क्रान्ति सफल हुँदैन । सांस्कृतिक स्तर नउठेको ढुलमुल तथा कमजोर देशमा यसको प्रभाव छिटो पर्छ । नेपालमा भदौ २३ र २४ गते भएको नयाँ पुस्ताको आन्दोलन पनि रङ्गीन क्रान्तिको सिलसिला हो । यसको तयारीको क्रममा धेरै अगाडिदेखि सुनियोजित ढङ्गले सेना, प्रहरी, अदालत र सार्वजनिक प्रशासनलगायतका संयन्त्रभित्र विदेशी एजेन्ट प्रवेश गराएर सरकारी संयन्त्रलाई कमजोर पारिने काम भयो ।
विदेशी गुप्तचरहरूले लोभी मानिस, ठुलो पदमा पुग्न आतुर मानिसको पहिचान गर्छन् । पढेलेखेका, बौद्धिक क्षेत्रका तथा प्रतिभाशाली व्यक्तिलाई आकर्षक छात्रवृत्ति दिएर आफ्नो प्रभावमा पार्छन् । तिनै व्यक्तिलाई पछि सञ्चारमाध्यममार्फत प्रचार गरेर देशको महत्वपूर्ण पदमा पु¥याउने काम पनि हुन्छ । त्यस्ता व्यक्तिहरूलाई आफ्नो प्रभावमा पार्न विशेष पुरस्कार, सम्मान दिने काम पनि गरिन्छ । नेपालका महावीर पुन र सन्दुक रूइतलाई संरा अमेरिकाले प्रदान गर्न लगाएको Ramon Magsaysay पुरस्कार त्यसैको उदाहरण हो । म्यागासेसे पुरस्कार बङ्गलादेशका हालका प्रधानमन्त्री मुहम्मद युनुस (Muhammad Yunus) र भारत लद्दाखका वातावरणविद् सोनम वाङ्गचुक (Sonam Wangchuk) लाई पनि दिइएको थियो । विदेशीबाट पुरस्कार र छात्रवृत्ति पाएका व्यक्तिलाई सञ्चारमाध्यममार्फत रातारात चर्चित, आकर्षणको पात्र तथा रोलमोडल बनाइन्छ । त्यस्ता व्यक्ति पनि त्यो अवस्थामा पु¥याउने आफ्नो मालिकप्रति बफादार बन्छन् र देशघात गर्छन् ।
एनजीओ आईएनजीओको भूमिका
शक्तिशाली मुलुकहरूले अन्य देशको भूमि र नागरिकलाई आफ्नो स्वार्थको गोटी बनाउन एनजीओ आईएनजीओको निर्माण गर्छन् । एनजीओ आईएनजीओमार्फत विभिन्न परियोजना सञ्चालन गर्न सहयोग गर्ने भन्दै अन्य देशमा आफ्नो उपस्थिति जनाउँछन् । एनजीओ आईएनजीओले भित्रभित्रै देशको सार्वभौमिकता खोक्रो बनाउँछ ।
नेपाली युवामाथि भारत र चीनको प्रभाव कमजोर बनाउन अमेरिकी सरकारले एकै वर्षमा झन्डै आधा अर्ब रुपैयाँ लगानी गरेको पाइयो । १६ फेब्रुअरी २०२२ मा काठमाडौँस्थित ‘सोलुसन कन्सल्टेन्ट’ सँग ‘युवा नेतृत्व पारदर्शी नीति’ नामको कार्यक्रम सञ्चालन गर्न ९ हजार १ सय ३५ अमेरिकी डलरको सम्झौता गरेको इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटको रिपोर्ट छ । सो कार्यक्रममा चिनियाँ टेलिकम्युनिकेसन प्रविधि प्रयोग नगर्ने र भारत तथा चीनको विरोध गर्नुपर्ने कडा सम्झौता गरिएको थियो । (शिलापत्र, २६ असोज २०८२)
राजनीतिक दलहरूमा पनि एनजीओ आईएनजीओको प्रवेश गराइन्छ । नेपाली काङ्ग्रेस, एमालेलगायतका शासक दलहरूले विदेशी सहयोगबाट चल्ने धेरै गैरसरकारी संस्थाहरू सञ्चालन गरे । आज तिनै गैरसरकारी संस्थाहरूले काङ्ग्रेस, एमालेलाई पनि पतनको बाटोमा धकेलेका छन् ।
गरिबी निवारण, लैङ्गिक समानता, मानव अधिकारको रक्षा, लोकतान्त्रिक सुदृढीकरणजस्ता आकर्षक नारा लगाएर यी गैरसरकारी संस्था अन्य देशको कुना कुनामा पुग्छन् । त्यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सूचना सङ्कलन गर्छन् । प्राकृतिक स्रोत तथा खनिज पदार्थ रहेको स्थान पनि पत्ता लगाउँछन् । सरकारप्रति बढी असन्तुष्ट रहेको समुदाय, विकासबाट पछि परेको भौगोलिक क्षेत्र, देशप्रति बढी चिन्तित तथा सरकारप्रति बढी आक्रोशित युवाहरू रहेको क्षेत्र तथा समुदायको पहिचान गर्छन् । यसले कुन ठाउँमा कस्तो विद्रोहको बीउ रोप्न सकिने हो भन्ने निक्र्योल गर्न सहज हुन्छ ।
विदेशीको चाकरी गर्ने दलालहरूको अन्त्य विदेशी मालिकबाटै
विदेशीहरूले समाजसेवी, वैज्ञानिक, राजनीतिज्ञ, विशिष्ट व्यक्तिको आवरणमा आफ्नो दलाल तयार पार्छन् । त्यस्ता व्यक्तिहरूलाई प्रतिष्ठित पदमा पु¥याएर ठुलो परियोजनाको भ्रष्टाचारमा संलग्न गराउने अनुकूल वातावरण तयार पार्छन् । नजानिँदो ढङ्गले उनीहरू लोभमा फस्दै भ्रष्ट बन्छन् । उनीहरूलाई चरित्र हत्या गर्न सकिने यौनकाण्डजस्ता जालमा पनि फसाइन्छ । त्यसको रेकर्ड सूक्ष्म तरिकाले विदेशी मालिकहरूले आफूसँग राख्छन् । जालमा परेका नेता वा अधिकारीहरू आफ्नो पद र ज्यान जोगाउन विदेशी शक्तिको हरेक आदेश मान्न बाध्य हुन्छन् । उसको उपयोगिता सकिएपछि सञ्चारमाध्यममा प्रमाणहरू लिक गरेर चरित्र हत्या गर्ने काम गरिन्छ । समाजमा उदाङ्गो भएपछि त्यो व्यक्ति फेरि माथि उठ्न सक्दैन । विदेशी कर्तुतको पोल खोल्ने चेष्टा गरे हत्यासमेत भएका धेरै उदाहरण छन् ।
साम्राज्यवादीहरूले एउटा शक्तिलाई अगाडि लाँदा त्यसको विकल्पमा भित्रभित्रै अर्को शक्ति पनि तयार पारिरहेका हुन्छन् । एउटा राजनीतिक दलको ठाउँमा अर्को राजनीतिक दललाई पनि तयार पार्ने काम भइरहेको हुन्छ । नेपालमा पनि नयाँ नयाँ रङ्गका राजनीतिक दलहरू खुल्दै छन् । तीमध्ये कुन देशभक्त र कुन विदेशीको घोडा, समयक्रममा खुल्दै जालान् । तर, विदेशीको चाकरी गर्ने दलालहरूको अन्त्य विदेशी मालिकबाटै हुने यथार्थ भुल्नुहुन्न ।
Leave a Reply