भर्खरै :

काठमाडौँ तःमुंज्याद्वारा न्हू दँ (नयाँ वर्ष) को शुभकामना

काठमाडौँ तःमुंज्याद्वारा न्हू दँ (नयाँ वर्ष) को शुभकामना

काठमाडौँ, ५ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगर समितिद्वारा नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा कामपा वडा नं. ५ स्थित सत्संग भवनमा शुभकामना आदानप्रदान कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नयाँ वर्षको सुरुवातमा रमाइलो र मनोरञ्जनको साथै वैचारिक ज्ञान दिने र अन्याय तथा अत्याचारविरुद्ध सङ्घर्ष गर्ने नयाँ सोच बनाउनुपर्ने बताउनुभयो । “हरेक वर्ष नयाँ वर्ष फेरियो तर जनताको जनजीवन फेरिएन झन् कष्टकर बन्दै गइरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले देशमा शासक दलहरूले भ्रष्टाचार र कुशासन गरी २७ खर्बभन्दा बढी ऋण बोकाएको बताउनुभयो ।
जेन–जीको भ्रष्टाचार र कुशासन गर्ने दलहरूलाई कारबाही गर्नुपर्ने जेन–जीको मागलाई सरकारले बेवास्ता गर्नु पुँजीवादी सोच भएको बताउनुभयो । अहिलेको नयाँ सरकार पनि पुँजीवादी सरकार भएको उल्लेख गर्दै उहाँले अबको आन्दोलन समाजवादी गणतन्त्रको लागि हुनुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भाषा साधन हो भाषिक पहिचान हाम्रो बहुजातीय सुन्दर देशको सौन्दर्य हो भन्दै नेपाल संवत्को शुभकामना दिनुभयो ।
उहाँले हालै सुदूरपश्चिम जिल्लाको भ्रमणको क्रममा नेमकिपामा आबद्ध कार्यकर्ताहरूको अध्ययन र पार्टीप्रतिको लगाव मननयोग्य रहेको बताउनुभयो ।
जेन–जी आन्दोलनको पहिलो दिन (भदौ २३) गते शान्तिपूर्ण गर्ने भने पनि योजनाबद्ध घुसपैठले देशको सम्पत्ति ध्वस्त गर्न वैदेशिक हस्तक्षेपले काम गरेको हुनसक्नेबारे सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले हालै चीनको तिब्बतस्थित शाननान नगरपालिका र भक्तपुर नपाको भगिनी सम्बन्धको नवीकरण कार्यक्रममा पुग्दा शाननान सहरको कम्युनिस्ट समाजवादी संस्कार विश्वकै लागि प्रेरणादायी भएको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी, कुनै पनि किसिमको कर तिर्नु नपर्ने, समाजवादी आचरण पूर्ण लागु गरी कार्यान्वयन भएको सहरको जानकारी दिनुभयो । सहकारी सम्बन्धित क्षेत्रको मात्र सदस्य बन्ने गर्छ र त्यही अनुरूप परिचालन गरिने गरेको चर्चा गर्दै उहाँले नेपालको सहकारी कमाउ सहकारी भएकोले बचतकर्ताको रकम दुरूपयोग गरेको बताउनुभयो ।
हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा अनिल श्रेष्ठ, शैलेश डंगोल, श्यामकुमार महर्जन, कृष्णबहादुर डंगोल र कुलनारायण डंगोलले पनि नेपाल संवत् र देशको समसामयिक राजनीतिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *