भर्खरै :

कविताका कारण बेलायती संसद्मा हङ्गामा मच्चियो

कविताका कारण बेलायती संसद्मा हङ्गामा मच्चियो

चालीस वर्ष पहिले, उत्तरी इंग्ल्यान्डका कवि टोनी ह्यारिसनले आफ्नो जन्मस्थान लीड्समा भत्किएका चिहानहरूबाट प्रेरित भएर एक प्रभावकारी कविता रचना गरेका थिए । सुरुमा त्यसको खासै चर्चा भएको थिएन तर सन् १९८७ मा यो कविता टेलिभिजनमा प्रशारण गरिएपछि देशव्यापी रूपमा चर्चा पायो ।
अखबारहरूले लेखेः ‘चार अक्षरे टीभी कविता क्रोध’ । तर यसको आलोचना पनि उत्तिकै भयो र उपनाम पायो, ‘अपशब्दहरूको झरी’ । केहीले यसलाई ‘भीराब कविता’ को उपनाम पनि दिए । संसद्मा समेत यसबारे चर्चा भयो र एक जना कन्जरभेटिभ सांसदले सोधेका थिए, यो कविताले ‘कुनै कलात्मक उद्देश्य पूरा गर्छ कि गर्दैन ?’ यस्तो पनि कविता हुन्छ भनेर अन्य केही उत्तेजित सांसदहरूले प्रश्न गरेका थिए । त्यस्तै केहीले यसबारे बहस हुनुपर्ने माग गरेका थिए ।
यो हङ्गामा एउटा कविता ‘भी’ को बारेमा थियो, जुन उत्तरी इंग्ल्यान्डका कवि टोनी ह्यारिसनले आफ्नो जन्मस्थान लीड्समा भित्कएका समाधीहरूबाट प्रेरित भएर लेखेका थिए । यो कविता सन् १९८५ को जनवरीमा प्रकाशित भएको थियो । तर, साँचो अर्थमा यो कविता प्रकाशित भएको दुई वर्षपछि, १९८७ को नोभेम्बरमा बेलायती टेलिभिजनमा प्रदर्शन भएपछि प्रसिद्ध भयो ।
कवितामा सामान्यतया सार्वजनिक छलफल लायकखालको कुनै कुरा छैन । पछिल्लो समय पनि यस्तो घटना देखिएको थियो । अमान्डा गोर्मनले जो बाइडेनको राष्ट्रपति शपथ ग्रहणको समारोहका बेला आफ्नो कविता ‘द हिल वी क्लाइम’ प्रस्तुत गरेका थिए । यद्यपि, कविका युवा अवस्था र पोशाकले उनको कविताले बढीजसो ध्यान आकर्षित ग¥यो । त्यसअघि पनि १९९४ मा रिलिज भएको फिल्म ‘फोर वेडिङ्स एन्ड अ फ्युनरल’ मा प्रख्यात कवि डब्लुएच अडेन (WH Auden) को ‘फ्युनरल ब्लुज’ का बारेमा पनि यस्तै विवाद गाँसिएको थियो ।
कवितासङ्ग्रह भी
कविताले व्यापक रूपमा विवाद पाएको कुरा प्रायः दुर्लभ नै छ । समाचारपत्रमा छापिएका कविताका बारेमा आलोचना त हुन्छ तर त्यसबाट बाहिर निस्केर राजनीतिक प्राणीलाई पनि उत्तेजित बनाएका घटना लगभग दुर्लभ नै देखिन्छन् ।
तर भी कविता भने त्यस्तो दुर्लभ तगारो तोडेर निकै विवादको भुमरीमा फस्यो ।
सन् १९८४ को मे महिनामा कवि टोनी ह्यारिसन लीड्सको होलबेक सिमेट्री (चिहानघर) भ्रमण गर्न निस्किएका थिए । यो सेमेट्री एउटा पहाडमाथि छ । त्यसको ठीकमुनि भने ढुङ्गा खानी छन् । यो एल्यान्ड रोड, लीड्स युनाइटेड फूटबल क्लवको जन्मदाता भूमि हो । यहाँ विख्यात लीड्स विश्वविद्यालय पनि छ । यहीँ ह्यारिसनले शास्त्रीय साहित्य र भाषाविज्ञान अध्ययन गरेका थिए । ह्यारिसन, आफ्नो आमाबाबुको समाधि मर्मत गर्न त्यहाँ पुगेका थिए । उनले के देखे भने, सेमेट्रीमा बियरका क्यानहरू र स्प्रे पेन्ट गरिएका छन् र वास्तवमा चिहानघर नै जस्तो छ । जबकि पश्चिमा समाजमा चिहानघर एउटा चिटिक्क सजाइने स्थलको रूपमा प्रख्यात छ ।
चिहानमा फकजस्ता चार अक्षरी शब्दहरू, जातिवादी घृणायुक्त गाली, स्वस्तिकको चिह्न र ‘भी’ अक्षरहरूको एक श्रृङ्खला देखे । भी भन्नाले भेजिना अर्थात् स्त्री यौनाङ्ग !
केही ग्राफिटीको स्वरूपले यहाँ यस्तरी कुरूप चित्र बनाउनेहरू फूटबल समर्थकहरू पो हुन् कि भन्ने आशङ्का जन्माएको थियो ।
त्यतिबेला बेलायतमा बेरोजगारी उच्च थियो र त्यो वर्षको अन्त्यसम्म ११.९ प्रतिशत बेलायतीहरू बेरोजगार रहेको तथ्याङ्क देखाइरहेको थियो । सन् १९७१ पछि पहिलोपटक बेलायतमा यति धेरै बेरोजगारी देखिएको थियो । अघिल्लो वर्ष, बीबीसीको पुरस्कार जितेको नाटक ‘द ब्वाइज फ्रम द ब्ल्याक्सटफ’ ले बेरोजगारीमा रहेको ताम्रयाक लेयरहरूको कथा बताएको थियो । नाटकले ठुलो प्रभाव पारेको थियो । ठीक त्यहीबेला कोइलाखानीमा मजदुरहरूको हडताल सुरू भएको थियो । वास्तवमा त्यो बेलायत तीव्र ध्रुवीकरणको अवस्थामा थियो । प्रधानमन्त्री मार्गरेट थ्याचर प्रधानमन्त्री थिइन् ।
समाधिस्थलहरूको त्यो हदको विग्रह, भत्काई र स्प्रे पेन्ट गरिएका चिह्नहरूमा ह्यारिसनले सामाजिक विभाजनका थप प्रमाणहरू देखे । यसले उनलाई कविता लेख्न प्रेरित ग¥यो ।
ह्यारिसन यस समयसम्म एक स्थापित र सम्मानित कवि, नाटककार र अनुवादक थिए । उनले धेरै कवितासङ्ग्रह प्रकाशित गरेका थिए र राष्ट्रिय रङ्गमञ्चमा नाटककारको रूपमा पनि चर्चा बटुलेका थिए । सन् १९७३ मा उनले मोलीयरको ‘द मिजान्थ्रोप’ को अनुवादका कारण ठुलो प्रशंसा पाएका थिए ।
सन् १९८५ को २४ जनवरीमा ‘भी’ को प्रकाशन लन्डन रिभ्यू अफ बुक्समा भयो ।
यो ११२ चौथाइसहितको काव्य हो, जसको रचनात्मक ढाँचा एबीएबी छ, जुन १८ औँ शताब्दीका थोमस ग्रेको प्रसिद्ध ‘एलेजी रिटन इन् अ काउन्टी चर्चयार्ड’ कवितासँग मेल खान्छ । ह्यारिसनले आफ्नो कवितालाई त्यसैसँग तुलना गर्न चाहेको देखिन्छ । शीर्षकको ‘भी’ ले ‘वर्सस’ को अर्थ दिन्छ – जुन ‘वर्सेज’ शब्दको पनि एक प्रकारको शब्द खेल हो – सायद यसले ‘विजय’ को पनि सङ्केत गर्न सक्छ । यसले ब्रिटिश संस्कृतिमा अपमानजनक ठानिने दुई औँलाको ‘भी सङ्केत’ पनि जनाउन सक्छ ।
कवितामा एक शेर यस्तो छः ‘यी भीदख जीवनका सबै वर्ससहरू हुन् लिइस् भर्सेज डर्बी, कालो भर्सेज सेतो र (जस्तो मैले आफ्नो मूल्यमा बुझेँ) म्यान भर्सेज विमन, कम्युनिस्ट भर्सेज फासीवादी, बायाँ भर्सेज दायाँ ।”
कविताले कविलाई समृद्धिमा रहेका व्यक्तिसँग संवाद गर्दै देखाउँछ । यसले ग्राफिटीमा प्रयोग भएका अश्लीलता र जातिवादी अपशब्दहरूलाई समेटेको छ ।
‘हैरिसनलाई हामीलाई भन्नु आवश्यक थिएन कि बेलायत विभाजित थियो । अहिले पनि छैन, तर ‘भी’ ती विभाजनहरू र तिनीहरूको केही कारणहरूको शक्तिशाली व्यक्त व्यक्तिकरण थियो,’ अक्सफोर्ड विश्वविद्यालयका अङ्ग्रेजीका प्राध्यापक स्यान्डी बर्नको भनाइ छ ।
ह्यारिसनको पात्रले सो कवितामा पेशेवरहरूको जीवनभरि उत्सव मनाउने समाधिहरूको बिचमा तेस्रो पिँढीको बेरोजगारीको निराशा बुझ्ने काम गरेको छ ।
कविताको शक्ति र स्थायित्व यसको ऊर्जा, छन्द र भाषाको प्रेरणा, यसको क्रोध र व्यक्तिगतलाई राजनीतिक सेवामा प्रयोग गरेबाट आउँछ ।‘
‘भी’ पहिलोपटक लन्डन रिभ्यू अफ बुक्समा प्रकाशित हुँदा कसैलाई केही मतलब थिएन । पछि १९८५ को नोभेम्बरमा ब्लडअक्स बुक्सले यसलाई पुस्तकको रूपमा प्रकाशित ग¥यो । किताबका रूपमा छापिँदा पनि यो कविताले बेलायती संसद् र अखबारहरूलाई बाल मतलब थिएन । ब्लडअक्स बुक्सका संस्थापक र अहिलेका सम्पादक नील एस्टलीले त्यो दिन सम्झँदै भनेका थिए, “ह्यारिसनले टाइन टिज टेलिभिजनमा रातको समयको कला कार्यक्रममा सम्पूर्ण कविता प्रदर्शन गरे, जुन विशेषरूपले उत्तरपूर्व इंग्ल्यान्डका दर्शकलाई लक्षित थियो र यो कुनै आपत्ति उत्पन्न नगरी प्रसारण भयो ।”
तर पछि १९८७ मा उक्त कविताको एक भाग च्यानल –४ ले बजायो । कविताको निर्देशन प्रसिद्ध रङ्गमञ्च निर्देशक रिचर्ड एयरले गरेका थिए र यसमा ह्यारिसनले कविता पढेका थिए । साथै, खनिज हडताल, होलबेक सेमेट्री र थ्याचरको ‘विजय‘ चिह्नको फुटेज पनि दृश्यमा समावेश गरिएको थियो । त्यसपछि भने सारा क्रोध कवितामाथि थुप्रियो ।
त्यसपछि डेली मेलले मुख्य पृष्ठमै ‘चार अक्षरी टीभी कविता क्रोध’ बारे लेख्यो । थ्याचरको पार्टीका कार्यकर्ता र केही अभियन्ताहरूले यसलाई ‘अद्वितीय बदमासीको कृति’ भन्दै चर्को आलोचना गर्न थाले ।
कन्जरभेटिभ सांसद सर जेराल्ड हाउर्थले त यो कवितामाथि प्रतिबन्ध नै लगाउनु पर्ने भन्दै ‘सामान्य व्यक्तिलाई ठुलो अपमान पु¥याउन सक्ने सामग्री प्रसारण गर्नु अपराध हो‘ भन्दै यस्ता कृतिलाई महत्वका साथ टीभीमा स्थान दिन नहुने भन्दै चर्को आलोचना गरे । साथै, उनले संसद्मा यसबारे बहस हुनुपर्ने माग गरे । १२१ जना सांसदहरूले यस प्रस्तावमा हस्ताक्षर पनि गरे ।
यत्रो हङ्गामापछि हाउर्थले पछि के स्वीकारे भने उनले पूरै कविता नपढी कवि र कविताको आलोचना गरेका थिए ।
ह्यारिसनले सन् २०१३ को बीबीसी रेडियो फोर डोक्युमेन्टरी ‘Exploring V’ मा सम्झँदै भनेका थिए, कविताविरोधी हङ्गामाको उच्चतम समयमा, टेलिग्राफका एक रिपोर्टर उनको घर छिर्ने प्रयास गर्दै ढोका ढक्ढकाए ।
ह्यारिसनले सोधे, किन आउनुभयो ।
कविताले हङ्गामा मच्चाएकाले भेट्न खोजेको रिपोर्टरले भने ।
उनले सोधे, “के तपाईँले कविता पढ्नुभएको छ ?”
रिपोर्टरले भन्यो, ‘छैन, म नयाँ रिपोर्टर हुँ, मलाई यसबारे केही थाहा छैन ।’
यसबाट थाहा हुन्छ, केही नबुझी मान्छेले हङ्गामा मच्चाइरहेका छन् । तर सन्डे टेलिग्राफका स्तम्भकार र साहित्य समीक्षक, औबरन वाउले यसलाई ‘शानदार लेखिएको र अत्यन्त भावुक’ भनी टिप्पणी गरेका थिए ।
बेलायतको व्यङ्ग्यात्मक पत्रिका ‘प्राइवेट आइ’ का सम्पादक इयान हिस्लपले भने कविताको बचाउ लेखेका थिए । उता ‘इन्डिपेन्डेन्ट’ पत्रिकाले त कवितालाई यति महत्व दियो कि पूरै विचार पृष्ठमा कविताको अंश छापिदियो ।
प्रकाशक ब्लडअक्सले १९८७ मा प्रकाशन गर्दा केही हजार प्रति मात्र बेचेको थियो । च्यानल ४ टेलिभिजनमा प्रशारणपछि भने लाखौँ प्रति बिक्री हुन पुग्यो । यो कविता कति महत्वको छ भने, स्यान्डी बर्नले भनेका छन्, “आज पनि यो कविता पढ्नुभयो भने ४० वर्षअघि जति महत्वपूर्ण यो कविता लाग्थ्यो, अहिले पनि उत्तिकै महत्व राख्छ । यति सान्दर्भिक कविता छ यो ।”
‘भी’ को अप्रत्याशित र सम्भवतः चकित पार्ने कुरा नै यसमा व्यक्त भएको सामान्य बोलचालको भाषा हुनु हो ।

– द गार्डियनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *