भर्खरै :

युवाहरू सिद्धान्त र विचारबाट निर्देशित हुनुपर्ने

युवाहरू सिद्धान्त र विचारबाट निर्देशित हुनुपर्ने

देशका युवाहरू देशका उत्तराधिकारी त हुन् तर सिद्धान्त र विचारबाट निर्देशित भएनन् भने उनीहरूको आन्दोलन या सङ्घर्ष दिशाहीन हुनेछ । कुनै आन्दोलन या सङ्घर्ष निश्चित उद्देश्यको निम्ति हुन्छ । निश्चित उद्देश्यको निम्ति हुने आन्दोलन उग्र हुँदैन† तोडफोड र आगजनीमा परिणत हुँदैन । आन्दोलनको उद्देश्य नै तोडफोड र आगजनी गर्ने हो भने त्यस्तो आन्दोलनले उग्र रुप लिन्छ । यसले देश र जनताको सेवा या हितभन्दा बढी नोक्सान गर्छ । देशको सम्पत्ति ध्वस्त पारेर सरकारको नेतृत्व फेर्नु परिवर्तनको सूचक होइन । सरकारको नेतृत्व हेरफेर मुख्य कुरा होइन । सरकारको नेतृत्व परिवर्तन त धेरै पटक भयो । सरकारको नेतृत्व हेरफेर भए पनि देश र जनताको समस्या जहाँको त्यहीँ छ । युवा पुस्ताको आन्दोलनले सरकारको नेतृत्व हेरफेर भयो । संसद् विघटन भयो । के यसैमा नयाँ पुस्ताले गर्व गर्ने ? युवाहरू प्रश्न गर्दै छन्, सरकारको नेतृत्व फेर्न र बन्द भएको सामाजिक सञ्जाल खोल्न खरबौँ बराबरको सम्पत्ति खरानी पार्नुपथ्र्यो ? ७६ जनाको ज्यान फाल्नुपथ्र्याे ? भावावेग या आक्रोशमा भएको आन्दोलन दिशाहीन भएपछि आन्दोलनको सफलताको मूल्याङ्कन कसरी गर्ने ?
युवाहरू ऊर्जाशील हुन्छन् । उनीहरूमा जोश, जाँगर र अन्धविश्वाविरोधी भावना हुन्छ । तर, जोश जाँगरका साथै संयमता, धैर्यता पनि आवश्यक हुन्छ । आन्दोलनको बेला उठेको रिस जहाँतहीँ पोखेर समस्या समाधान हुँदैन । आन्दोलनरत युवा पुस्ताले आन्दोलनको समीक्षा गरेकै हुन्छ । आन्दोलनको समीक्षा गरेन भने अर्काे आन्दोलनमा पनि देशी विदेशी तत्वहरू घुसपैठ हुन्छन् र आफ्नो आन्दोलनलाई बेठाउँमा पु¥याइन्छ । त्यस्तो आन्दोलन घातक हुन्छ । शान्तिपूर्ण आन्दोलनमा आन्दोलनरत युवा–विद्यार्थीलाई टाउकोमा ताकीताकी गोली ठोकेको कारणले भदौ २४ गतेको आन्दोलन उत्तेजित भएको हो । यसमा सरकार नै दोषी हुन्छ । विशेषतः यसको दोष प्रधानमन्त्री र गृहमन्त्रीलाई जान्छ । यसबारे शासक दल नेका र एमालेले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यही कारण युवा पुस्ताको बढी विरोध नेका र एमाले लक्षित देखिन्छ ।
आन्दोलनको उद्देश्य न्यायोचित थियो तर त्यो उत्पात्मा परिणत भयो । आन्दोलनकारीमाथि गोली हान्नुपर्ने परिस्थिति नै थिएन, पहिलो दिनको आन्दोलन शान्तिपूर्ण थियो† त्यो आन्दोलन तोडफोड र आगजनीमा परिणत भएको थिएन । त्यस्तो आन्दोलनमा कसको आदेशमा आन्दोलनकारीमाथि गोली हानेको हो ? त्यो सरकारले स्पष्ट पार्नुपथ्र्याे । आन्दोलन दबाउने नाउँमा मनपरी गोली चलाउन पाइँदैनथ्यो । गोली चलाउने पनि प्रक्रिया हुन्छ । तर, एमालेको सरकारले जथाभावी गोली चलायो । कुनै खबरदारी, कुनै सूचनाबिना टाउकोमा ताकीताकी गोली चलाउनु सरकारकै गैरजिम्मेवारी हो । यसको दोषी एमालेको सरकार नै हुन्छ । यसबारे सरकारको स्पष्ट दृष्टिकोण प्रकाशमा आएको छैन ।
आन्दोलनरत युवा पुस्ताको स्पष्ट दृष्टिकोण र विचार नहुँदा आन्दोलनका अगुवाहरूको विचार नै फरकफरक भयो । कसको विचार सही हो भन्ने कुरा उनीहरू नै अन्योलमा परे । आन्दोलनको अगुवा भन्ने व्यक्तिहरूको फरक फरक विचार आएपछि कसको कुरा मान्ने या सुन्ने भन्ने कुरा अस्पष्ट हुनु स्वाभाविक हो । आन्दोलनरत पक्षहरू अन्तरिम सरकारमा सामेल हुने या नहुने, अन्तरिम सरकार प्रमुखको राजीनामा माग्ने या नमाग्ने, अबको दिनमा आन्दोलन गर्ने या नगर्ने, गर्ने भए के माग राखेर आन्दोलन गर्ने भन्ने कुरामा उनीहरूमा अन्योल छ । यो उनीहरूको अनुभवको कमी हो; स्पष्ट विचार र सिद्धान्त बोक्ने नेतृत्व पक्षको कमी हो । आन्दोलनमा लागेका नयाँ नयाँ युवाहरूको विचार सार्वजनिक भइरहेको छ । सहिदहरूको अपमान गर्ने, सहिदहरूको रगतमा होलि खेल्नेहरूमाथि कारबाही हुनुपर्ने माग उठिरहेको छ । त्यो मागप्रति वर्तमान सरकारले सुनुवाइ गरेको छैन । त्यसैले अहिले युवाहरूको आन्दोलन न साम्यजस्तो देखिन्छ न त निर्देशित भएर आन्दोलन अघि बढेको छ ।
देशमा शोषण, दमन, विभेद, अन्याय, अत्याचार भइरहेसम्म, बहुमत जनतामाथि अल्पमत वर्गको सेवामा शासन गरिरहेसम्म आन्दोलन रोकिने छैन । यो पुँजीवादी व्यवस्थामा बहुमत जनताको सेवा नहुने हुँदा बहुमत जनताको सेवा गर्ने व्यवस्थाको निम्ति सङ्घर्षबाहेक अर्काे विकल्प छैन । के जेन–जीहरूको आन्दोलन दुई चार वटा माग पूरा गर्नको निम्ति भएको क्षणिक आन्दोलन हो ? एक समय एक क्षण आन्दोलन गरेर देश र जनताको समस्या समाधान हुनेछैन । एमालेको सरकारपछि सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकार पनि पुँजीपतिवर्गको सेवा गर्ने सरकार हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था नै हो । यो सरकारले संविधानभन्दा बाहिर गएर अरु थप काम गर्न नसक्ने सार्वजनिक गरिसकेको छ । यसकारण, युवाहरूको आन्दोलन आक्रोश र आवेगमा होइन निश्चित उद्देश्य प्राप्तिको निम्ति हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *