भर्खरै :

लक्ष्मीप्रसाद देवकोटा र काव्य यात्रा – २

लक्ष्मीप्रसाद देवकोटा र काव्य यात्रा – २

‘गाइन् तिनले घँसिया गीत !’ – देवकोटाको यो कविता प्रकृति–चित्रणको निकै सुन्दर कविता हो । चित्रण–शक्ति देवकोटाको खुब प्रशंसनीय छ, जे कुरा पनि देवकोटा राम्रो चित्याइदिन सक्छन्, त्यसमा पनि विशेष गरेर प्रकृति चित्रण गर्नमा त उनको शब्द–तूलिका ज्यादै अभ्यस्त छ । खुब माधुर्यगुणले भरेको सुन्दर सरल शब्दहरूको शृङ्खलामा दृश्य फूल बडो सुन्दर ढङ्गसित उनेर प्राण प्रस्फुटित गर्न जान्दछन् । ‘गाइन् तिनले घँसिया गीत ¤’ पनि त्यस्तै एउटा अमर कविता हो । यो कविता सुन्दरीजलमा बसेर एउटी सुन्दरी युवती घँसिनीले गाइरहेको घँसिया गीतको सजीव चित्रण हो । यसमा दृश्य, समय, रूप, यौवन, वस्तु सबै कुराको साङ्गोपाङ्गो चित्रण खुब सजीव र सुन्दर ढङ्गसित भएको छ । वास्तवमा यो ‘गाइन् तिनले घँसिया गीत ¤” लाई निकै सफल शब्द चित्रण भन्न सकिन्छ, त्यस्तो एकाध टुक्रा –

मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख,
पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख,
निर्मल गाढा नीर गगनका टुक्राहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली, बादल पर्दा चित्राक्कार
एक अकेली, नयन उज्याली, वदन–हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन चुम्बित, सरस, सुभाल,
चाल स्वतन्त्र अकेलापनको खुला, उज्यालो बेयाद,
फुल्यो यौवन हाँसिरहेको, पूर्ण कलामा पस्दो चाँद :
छमछम चुरिहरू क्रीडा गर्छन्, चमचम हँसिया चल्छ छरित,
सुन्दरीजलमा, शीतल थलमा, गाइन् तिनले घँसिया गीत
+ + +
गाइरहिछन् सरिताबाला भावहरूको तरुण निनाद,
मन्द सुवासित शस्यहरूले मर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको बज्छ गलाको कलिलो तार–
कोमल कंपन उठ्छ मनोहर फूलहरूको अधर खुली,
मिल्दछ जलमा, मिल्दछ वनमा, छल्दछ बादल भित्र मिली
मुटुको चाल छ ताल मिलेको विश्व छ एउटा सङ्गीत

कविको कल्पना कति राम्रो, कति गहन छ, कल्पनाको वायुयानमा चढेर कविले ‘गाइन् तिनले घँसिया गीत !’ साँच्चैको चित्र प्रस्तुत गरे । आफ्नो कल्पना–प्रसूत चित्रलाई सम्झी–सम्झीकन कवि मुग्ध हुन्छन् –

सम्झँदामा पुग्दछ अहिले, स्वरहरू ती सब बिउँझन्छन्
चल्छ समय, पछिल्तिर फेरी, युवती बस्छिन् काटी घाँस,
प्रकृति उही रङ्ग लिन्छिन् फेरी, युवती बस्छिन् काटी घाँस,
फुल्दछ उनको शिरमा फेरी घुँघरबिचमा लाल गुँरास
यौवन जलको मधुर छ छल्कन लाग्छ मलाई पारावार
एक धुलोको कणझैँ पस्दछु असीमताको सुन्दर द्वार :
प्रकृति घुसेको हृदय कम्पाउँछ सुन्दरताको कुसुम अधर,
आकाङ्क्षाको उड्दछ गाना पुग्न उज्यालो कान्ति–सहर
बोल्दछ काल मनोहर बोली हाँस हुँदामा चीन
सुन्दरीजलमा शीतल थलमा उड्दछ जब त्यो घँसिया गीत !

‘वन’ देवकोटाको यो ‘वन’ कविता देखेर उनको बारेमा फेरि एकचोटि यता–उतिबाट उनलाई हेरेर केही भन्न मन लागिरहेको छ :
उनको कलम कहिलेकाहीँ कविको खाँडो जागेझैँ, कुनै अलि ठुलो, कुनै अलि सानो भाव, केही स्पष्ट, केही अस्पष्टरूपमा, जे जे उनको समाधिको बेला अगाडि प¥यो छोइ छोइकन पैया दगुड्छन् – जस्तै, एक डल्लो आलु । कहिलेकाहीँ भने स्पष्ट रूपमा भाव–क्षेत्रमा अशक्त भएर बिछ्याउना परिरहेका बिरामीले पनि हेर्न पाउने सकिने गरी डुल्की हिँड्दछ, जस्तो कि यही ‘वन’ । बालकृष्ण शमशेर, सिद्धिचरण, भिक्षुहरूको जस्तो देवकोटाका रचनाको कुनै नियत मापदण्ड (स्ट्यान्डर्ड) छैन : कुनै बालाको दगुड्ने पानीझैँ रूपै नदेखाइकन दौड्ने हुन्छ त कुनै निकास बन्द भएर जम्मा भइरहेको वर्षाद्को पानी सानातिना प्वाल पाएर मन्दगतिले वेगझैँ स्पष्ट रूपमा बिस्तारै हिँडेको हुन्छ, अर्थात् कुनैमा केही पनि हुँदैन त कुनैमा धेरै कुरा हुन्छन् ।
‘वन’ को विचार र भाव यद्यपि मौलिकताको ओजनले त्यतिको ग¥हौँ छैन, तर एकदम खँदिलो भएर स्पष्ट पनि छ । अर्को कुरा ‘वन’ को विचार कलाको आत्मामा त्यति राम्रोसित रूपान्तरित हुन सकेन, विचार एउटा प्रत्यक्ष विचारै भएर कलाको छायासम्म मात्र पुगेको छ । वास्तवमा ‘वन’ को विचार गम्भीर र आधुनिक भएर आफ्नोपनाको प्रतिनिधित्वमा केही आन्दोलक पनि छ । ‘वन’ का विचारक कवि ‘जग’ र ‘जीवन’ का अन्तर्राष्ट्रिय वीर हुन्, उनी ‘जग’ र ‘जीवन’ को यस्तो निर्माण चाहन्छन् कि बरु त्यसको निमित्त आफ्नो प्राणै खर्च गर्नमा उनी तयार छन् । ‘वन’ का केही राम्रो बिरुवा –

कुबेर बोले, “नोकरी लेऊ दिन्छु म दौलत अनगिन्ती,
मेरा सेवक हेर उज्याला, सेज सुनौला झुल्छन् ती !”
मैले बोलेँ, “धनका मालिक ! सम्झन्छु धनको मोल,
अन्तस्करणको स्वतन्त्रता यो तर छ अहा ! अनमोल ।”
x                x               x
शक्ति प्रियाले आई बोलिन्, “दिन्छु म मीठा मेवा ।”
मैले बोलेँ, “मेरो अमृत मानिसहरूका सेवा ।”
योगी बोले, “चढाउ समाधि खुल्छ तिमीकन स्वर्गद्वार”
मैले बोलेँ, “हेर्नु छ मैले भाइहरूको घरबार ।।”
बोले इन्द्र, “छ सुरपुर सुन्दर झिमिमिली मेरो दरबार”
मैले बोलेँ, “बाल्नु छ बत्ती अझ छ अँध्यारो संसार ।”
दुःखले बोल्यो, “काँडा बिझ्ला ?” मैले बोलेँ, “फुल्ला फूल”
शङ्का बोली “फूल नफुल्ला ?” मैले बोलेँ, “स्वस्थ छ मूल ।”
जीवन बोल्यो, “समर छ भीषण” मैले बोलेँ, “गद्गद् वीर”
+ + +
धर्म बोले, “कुन मन्दिरमा पूजा गर्छौ, आऊ,
मैले बोलेँ, “वीरहरूको बलिदान भएको ठाउँ ।”
सहानुभूतिले सकरुण बोलिन् तब किन रुन्छौ भाइ ?”
मैले बोलेँ, “समय छ छोटो, सेवा गर्न मलाई ।”
‘दोस्त कहाँ छन् ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?’
जान्छौ कुन पुर भवन मुसाफिर ? ल्यायौ कुन सन्देश ?”
दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस बेश,
विश्व सबै घर हृदय पुरीतिर ल्याउँछु सेवा सन्देश ।”

(‘वन’ – शारदा–६–५)

वास्तवमा लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको निमित्त एउटा तारा नै हुन् । नेपाली साहित्य प्रेमीले उनको ऋणी हुनैपर्छ । उनका कृतिले नेपाली साहित्यमा राम्रै स्थान पाएका छन् । उनका रचनामा मैले सबभन्दा तारीफको कुरा देखेँ, ‘गतिशीलता’ र ‘प्रतिभाशालिता’ को, तर जति गतिशीलता र प्रतिभाशालिता छ, उति गम्भीरता उनका थोरै रचनामा मात्र छ । खँदिलोपन पनि कम मात्रामा नै छ । तर, उनका प्रवाहमा धारावाहिता भने खुब छ, यद्यपि उनको प्रवाह कहिलेकाहीँ धमिलो र फोहरिलो छ । कविले कल्पनाका रङ्गीन घोडा चढी पैँया दगुड दौडाएपछि बस, भइगो वास्तविकताको मैदान देख्न उनी छोड्छन्, त्यसबेला आकाश–पाताल जोडिहाल्छ, यो कुरा देवकोटाको बारेमा मलाई दोहो¥याई–तेह¥याइकन भन्न मन लाग्छ । तर, उनको कल्पना सुन्दर छ, उनको कल्पनाको कुदाइ रमाइलो छ, अनि उनको कल्पनाको भाव मङ्गलमय छ । छोटकरीमा देवकोटालाई कल्पना–कवि अनि सरसरे कवि भने पनि अत्युक्ति छैन । साधारण बोलचालको भाषामा प्रतिभाको अर्थ सरसरी नै हो । हाम्रा देवकोटाको प्रतिभा सरसरीको पर्यायतासित नै धेरै सान्निध्य छ । उनी विशेष गरेर सङ्गीत–ध्वनिमा मस्त भएर कल्पनाको इन्द्रधनुष लिँदै यस्तो सरसरीमा दगुड्छन् :–
उनको सुन्दरीजल कविताको सरसरे प्रतिभा –

छहरिई, वैरिई, चरिई, छरिई,
पहिरिई, भुर्बारई, हुरिई, पुरिई,
सुरिई, छुरिई, भरिई, चिरिई,
छहरिई, फींज फिजाई, पुरिई
बूँद फिजाई, पवन भिजाई
गर्छिन् ढुङ्गामाथि रजाइँ,
स्वर्गङ्गाको झर्नालाई,
फिका बनाई वदन जलाई
झर्छिन् झर्छिन्, मोती छर्छिन्
सब स्वरहरूमा गाई, गाई ?
दङदङ छरछर छङछङ, हरहर,
सिम्सिम सरसर, घनघन घरघर,
छलछल छमछम, खलखल झमझम,
घलघल, झनझन, थरथर, झरझर
कविको कानन हृदत्री छन्
मोहिनी झर्ना ! तिम्रो स्वर, स्वर,
थर्किरहेछन् झन्किरहेछन्,
व्यापक शब्द मधुर, मधुरतर !

यहाँ सुन्दरीजलको दगुरिरहेको प्रवाहसँगसँगै कवि पनि खुब दगुरेका मात्र देखिन्छन्, अर्थात् कविका सरसरीपनकै मात्र विशेषता देखिन्छ । देवकोटालाई विशेष गरेर वर्षात्मक शैली नै मनपरेको देखिन्छ । यसैले प्राकृतिक दृश्य धेरै गरेर विषय छान्दछन् । तर, वर्णनमा उतिको लाक्षणिकता र व्यञ्जनात्मकता छैन, फेरि ‘छलफल, छुलछुल, छुनुमुनु छुनुमुनु’ आदि किसिमका शब्दहरू मात्र धेरै भएर कुनै कुनै रचना ठोसपनबाट धेरै टाढा हुन्छ । जस्तैः– यही सुन्दरीजल । अनुप्रास र सङ्गीतको पनि कविलाई निकै मोह देखिन्छ । अनुप्रास र सङ्गीतको मोहमा परेर कहिलेकाहीँ व्याकरणलाई पनि बलिदान दिन्छन् । अनुप्रास र सङ्गीत व्यक्ताउनमा देवकोटा लेखनाथभन्दा कम छैनन् । उनको अनुप्रास र छन्दसित सम्बन्धिएका सङ्गीत प्रायः मनोहर नै हुन्छन्, दुइटा उदाहरणः–
पारावार–अपार–सार–सरिता–सौन्दर्य सौदामिनी ।
नाचून स्वर्गनटी, सुपेशलकटी, सङ्गीत संभाषिणी । ।

(सुषमा–लोचन)

ललित चढ्यो अब लाली !
अस्ताचलतिर सन्ध्या वर्लिन् हलुका पयर उचाली
रजत दिवाकर उनका करमा बने सुनौला थाली
स्वर्ग पुरीको सुन्दर द्वार,
दिव्य कलाको चित्राकार,

(सन्ध्या)

देवकोटालाई कविताभन्दा सङ्गीतको प्रेम देखिन्छ किनभने बरु कविता नभएका छन्द उनका धेरै छन्, तर सङ्गीत नभएको छन्द बिरलै छन् । सङ्गीतमा लीन भएर उनी कहिलेकाँहीँ ‘नननन, नननन’ को लयमा मात्र पनि दौडिन्छन् । लयात्मक छन्दको सङ्गीत–सुषमामा दगुड्–दगुड्दा हिजो आज आफ्नै नेपाली गीत–झ्याउरे, सवाई, सालैज्यू आदि गाइने गीतलाई अपनाएर उन्नति गर्न खोजिरहेका छन् । अब त उनी पीपा छन्द, भरिया छन्द, आदिको निर्माणमा पो व्यस्त छन्, सायद बालकृष्ण शमशेरको सृष्टि ‘मुटुको व्यथा’ को केशवले भनेको यो निजी अर्थात् आफ्नोपनको गौरव देवकोटालाई खुब मनोनीत भयो होला –
“को, हाम्रो आफ्नो गति यही (गाइने गीत) को, हामीले यसलाई कान दियौँ भन यसले हाम्रो मुटु पनि नलिई छोड्दैन ।”
देवकोटाले अब सवाई, झ्याउरे, गाइने आदि आफ्ना यिनै लय र गीतको राष्ट्रियतामा पलेटी कस्न लागेको देखिन्छ, यसमा कवि सफल भएर ठुलो यशस्वी होलान् भन्ने मलाई भरपर्दो आशा भइरहेको छ ।

समाप्त
स्रोत : नेपाली काव्य र उसका प्रतिनिधि कवि

Leave a Reply

Your email address will not be published. Required fields are marked *