भर्खरै :

साहित्यिक प्रसङ्ग – नर्सको कवितासङ्ग्रह

साहित्यिक प्रसङ्ग – नर्सको कवितासङ्ग्रह

बेलायतको टन्टमस्थित समरसेटमा रहेको सेन्ट मार्गेट्स हस्पिसमा लामो समयदेखि काम गरिरहेकी निकोल डुर्मन ज्यादै संवेदनशील नर्स हुन् । उनको हस्पिसमा आएका वृद्धवृद्धाहरू हेर्दाहेर्दै कोही बितेर जान्थे, कोही आफ्ना सन्तानको कुराइमा हुन्थे । तिनको मनोदशा देखेर निकोलको मन हुँडलिन्थ्यो । संवेदनाको उहापोहमा उनलाई कविता फुर्ने गथ्र्यो ।
तिनै कविताहरू सङ्कलन गरेर उनले बजारमा ल्याएकी छन्, ‘द गोस्ट्स अफ नाइटशिफ्ट्स’ । ३९ वर्षीया निकोलले यो कवितासङ्ग्रहलाई ती वृद्ध–वृद्धा र रोगीहरूप्रति समर्पित गरेकी छन् । ‘कविता त जन्म्यो तर त्यो जन्माएको मैले होइन,’ निकोल भन्छिन्, ‘यसको श्रेय त म ती वृद्धवृद्धालाई दिन्छु, जसको जीवनले मलाई भित्रैसम्म छोयो र मलाई लेख्न बाध्य पा¥यो ।’
सन् २०११ मा अमेरिकाबाट बसाइँ सरेर बेलायत छिरेकी उनले सुरुमा आफ्नो करियर लेखनमै जमाउने उद्देश्य राखेकी थिइन् । जीवनमा उनले सोचेजस्तो भने हुन सकेन । त्यसैले हस्पिसमा काम गर्न थालिन् ।
“म ज्यादै संवेदनशील छु, मलाई कुनै कुरालाई छाड्न निकै गा¥हो हुन्छ,” उनले बीबीसीसँग भनेकी छन् उनले भने, “अन्य कामदारले आफ्नो काम अफिसमा नै छाड्छन्, छाड्न सक्छन् तर नर्सहरूले आफ्नो कामको भारी आफूसँगै बोकेर घर पुग्छन् । उनीहरूलाई त्यो भावनात्मक लगाव अफिसमा छाड्न असम्भव हुन्छ ।”
संवेदना उनमा यसरी टाँसिन्थ्यो कि अफिसबाट घर आइपुग्दा पनि खहरे बगेझैँ कविता फुर्थे । उनले यसपछि पुस्तकका लागि पर्याप्त कविता सङ्कलन गरिन् । जब पुस्तकका लागि प्रकाशकसँग पहल गरिन्, बल्ल शान्ति पाइन् ।
यो कवितासङ्ग्रहले स्वास्थ्य क्षेत्रका कामदार, बिरामी र अन्य व्यक्तिलाई छुने अपेक्षा गरेकी छन् । उनी भन्छिन्, “भावना सबैसँग हुन्छ तर अभिव्यक्त गर्ने कौशल सबैसँग नहुन सक्छ । यो कविताले अभिव्यक्त गर्न नसक्नेहरूलाई अझ बढी छुने अपेक्षा गरेकी छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *