सरकारसँग जेन–जीले उठाउनुपर्ने विषय
- कार्तिक १८, २०८२
 

काठमाडौँ, १५ कार्तिक । राज्य सत्ता सधैँ राजनैतिक सिद्धान्त र इतिहासको पाठ मात्र घोकेर बस्दैन† त्यसले आफ्नो पनि बाटो लिन्छ । यस्तो अवस्थामा राज्य सत्ताले सही काम व्यवहारले साबित ग¥यो भने राज्य सत्ताले जस (यश) पाउँछ र व्यवहारमा असफल भयो भने दोषको भागी पनि हुन्छ । हिजोको नेका, एमाले, एमाओवादी, राप्रपा, मधेसवादी दलहरू, शासनमा जाने अन्य दलहरू पनि सिंहावलोकनमा जस र दोषको जिम्मेवार हुनैपर्छ । यस अर्थमा हिजोको सरकारमा जाने दलका नेता र सरकारी पदमा बस्ने प्रम, गृहमन्त्री, परराष्ट्रमन्त्री, राजदूत, मुद्दामा गाँसिएर आउने माथिल्ला कर्मचारी र अन्य सरकारी संस्थाका व्यक्तिहरूले काममा ढिलाइ गरेका र भ्रष्टाचार गरेका सबै एक एक गरेर कारबाहीको क्षेत्रमा ल्याउनु जनमतलाई स्वीकार्नु हुनेछ । हिजोका सरकारहरूसँग बसी काम गरेका कर्मचारीहरूले नीतिगत विषयमा देश र जनताको अहित हुने देखेर असहमत भई राजीनामा दिएर जनताको सामुन्ने पारदर्शी गर्नेहरू अपराधको भागी नहुने निर्णय गरी दोषीहरूलाई साना वा ठुला माछाहरूलाई कारबाहीमा ल्याउनु आवश्यक छ ।
 बाग्मती र विष्णुमतीको सफाइको नाममा उपत्यकाका सबै नदी, खोला–नालामा पार्क र बाटो बनाउँदै फोहरमाथि थप फोहोर पार्ने र घर बनाउँदै प्राचीन घाटहरूसमेत म्हास्दै राजधानीलाई दुर्गन्ध बनाउने प्राविधिक र ठुलाबडालाई छानबिनको घेरामा तत्काल ल्याउन सके प्रदेशहरूमा अहिले भइरहेको र पछि हुने सार्वजनिक सम्पत्तिमा भ्रष्टाचारी कार्यहरूमा कमी आउने, देश बर्बाद हुने क्षेत्रहरूलाई जोगाउने उपाय बन्नेछ ।
 एकै बाजी सबै काम गर्न सकिन्न । त्यसैले, तत्काल सम्भव सबै तहको माथिल्ला दलका अर्थात् प्रदेश, जिल्ला र स्थानीय तहका कार्यहरू एकपछि अर्को गर्दै गएमा अवरुद्ध बाटाहरू खुल्दै जानेछन् ।
 ठुला माछाहरू जोगाउने शङ्काहरूबाट जोगिन पहिलेका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीहरू भाग्न नपाऊन् भन्ने तत्काल थुनामा राखी कारबाही सुरु गरेमा जनतामा निराशा र अन्योल हुनेछैन र निर्वाचन हुन्छ कि हुँदैन भनी शङ्का पनि निवारण हुनेछ ।
 घाइतेहरूको उपचार र राहतको विषय निजी अस्पतालहरूमा भन्दा सरकारी अस्पताल र चिकित्सकहरूको हातमा जिम्मा दिने र निजी अस्पतालहरूले गर्ने गरेका ‘स्वास्थ्य बीमा’ लाई कमजोर गर्ने वा बिरामीहरूलाई ‘दुधालु गाई’ बनाउने कार्यबाट निजी अस्पतालका मालिकहरूलाई पनि जनताको सेवा गर्न र सहयोग लिनु आवश्यक छ र नकारात्मक काम गरेमा मेडिकल माफियाहरूको विरोधमा जनतालाई आह्वान गर्दा जनतामा समाजप्रति विश्वास बढ्नेछ ।
 ‘दुर्गा प्रसाई’ व्यक्ति होइन, कुनै वर्ग र राजनैतिक पक्षबाट प्रोत्साहित छन् भनी जनताले २–४ वर्षदेखि भन्दै आएका हुन्† उनकै जालमा प्रधानमन्त्रीहरू पनि परेकै हुन् । अहिले उनले ‘राम–नामको वस्त्र’ धारण गर्दै उनको शोषक प्रवृत्ति लुक्दैन । यसकारण, उनको विषयमा पनि सरकारले छानबिन गर्नुपर्छ भन्ने जनतामा व्यापक चर्चा छ । समयमै औषधि गरिएन भने रोग निको हुनु भन्दा चर्को हुँदै जानु स्वाभाविक हो । ‘दुर्गा प्रसाई’ का गतिविधिबारे समयमै ओली सरकारले उपयुक्त कारबाही गरेको भए पछि ‘जडीबुटी’ मा आगो लाग्ने थिएन । जडीबुटीमा आगो लाग्नुपछि सरकारी भवनहरूमा आगो लागेको भन्दा कम चर्चाको विषय बन्यो ।
 हिजोका हरेक प्रधानमन्त्री र अन्य मन्त्रीहरूले आ–आफ्नो समयमा नीतिगत कार्यहरू गर्दा देश र जनताको भलो भएकोबारे साबित गर्नु आवश्यक छ । आ–आफ्ना दलका कार्यकर्ता नातागोतालाई सरकारी सेवामा भर्ना गर्नु, राम्रो विद्यार्थी ठाउँमा आफ्ना छोरा–छोरीलाई छात्रवृत्तिमा पढाउनु, सुकुमवासीको नाममा आफ्नै मानिस, व्यापारी र धनीहरूलाई जङ्गल म्हास्ने गरी जग्गा वितरण गर्नु र सरकारी रकम बाँड्नुजस्ता सबै काम देश र जनताको हितमा नभई पक्षपात र अपराधहरू हुन् । हेर्दा सानो तर व्यवहारमा सारा जनताको मनलाई कलुषित पार्ने कार्य गर्ने मन्त्री, नेता र कार्यालय प्रमुखहरूलाई कारबाहीको घेरामा ल्याउनु आवश्यक छ । यस्ता कामहरू आ–आफ्नो मन्त्रालयसँग सरोकार राख्ने तत्तत् मन्त्री र मन्त्रालयलाई जिम्मेवारी दिएर काम सुरु गराउँदा प्रम सुशीला कार्की निर्वाचन र अन्य राजनैतिक कार्यमा समय दिएमा जनता निराश हुने छैनन् भन्ने चर्चा साधारणमा खेत–खेत, चौतारी, पाटी, पौवा सबै ठाउँमा सुन्नमा आएको छ । यसबारे सरकारको ध्यान जानुपर्छ र छानबिन गर्नुपर्नेमा जनताले बढी चासो देखाएको जानकारीहरू आइरहेका छन् ।
Leave a Reply