भर्खरै :

सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने

सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने

भक्तपुर, १५ कार्तिक । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर शनिबार सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले सहकारी संस्थाहरूले आर्थिक कारोबारमा मात्र सीमित नरही सदस्यहरूलाई सामाजिक र सांस्कृतिक चेतना प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संस्थाको शिक्षा शिविर सञ्चालन गर्दा भाषा सहजीकरण गरी नेपाली भाषा बुझ्ने नबुझ्ने सदस्य छुट्याएर छुट्टाछुट्टै समयमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले राम्रो सरकारले मौसमको पूर्व अनुमान गरी किसानलाई बाली भित्याउन आवश्यक सहयोग र सुझाव दिनुपर्ने बताउँदै कृषि र किसानको विकास गर्न राम्रो सिँचाइ, बीउबिजन, कोल्डस्टोरको राम्रो व्यवस्था गरी किसानले परिश्रम गरेर उत्पादन गरेको बालीको सुरक्षा र बजार व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनको संवेदनशील स्थानहरूमा रहेका कागजात तथा प्रमाणहरू नष्ट गर्न भदौ २४ गते भएको विनाशकारी कार्यमा विदेशीहरूको समेत हात रहेको कुरा बिस्तारै खुल्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले जेन–जी आन्दोलनमा भएका विध्वंसकारी कार्यहरू दोहोरिन नदिन घर, स्कूल, सहकारी तथा सामाजिक भेटघाटमा युवाहरूलाई नागरिक चेतना, सामाजिक भावना र असल आचरणको शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सदस्यहरूलाई निरन्तर वित्तीय साक्षरता प्रदान गर्दै आएको बताउँदै उपस्थित सदस्यहरूलाई सहकारीता तथा संस्थाको अवधारणागत पक्षबारे जानकारी दिनुभयो । उहाँले उचित मूल्यमा गुणस्तरीय वित्तीय सेवा प्रदान गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकास गर्ने ध्येयका साथ संस्थाबाट न्यून ब्याजदरमा ऋण तथा विभिन्न सीपमूलक तालिमहरू प्रदान गरी सदस्यहरूको निम्ति आर्थिक अवसरहरू सृजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले सदस्यहरूमा वित्तीय चेतना कम हुनाले धेरै सहकारीका सदस्यहरूको बचत धरापमा परेको उल्लेख गर्दै समुदायमा आधारित सहकारी संस्थामा मात्र बचत गर्न सुझाव दिनुभयो । उहाँले न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकालदेखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा उपलब्ध विभिन्न सेवा सुविधाहरूको जानकारी दिँदै संस्थाले सुरक्षित ऋण लगानी गरेको कारण संस्था र सदस्यहरूको बचत सुरक्षित रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *