नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १५ कार्तिक । भक्तपुर नगरपालिका वडा नं ७ जगातीस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा संस्थाका ज्येष्ठ सदस्य शेरबहादुर गुसाईको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले सञ्चालक समितिमा रहेका पदाधिकारीहरू संस्थाको आर्थिक कारोबारबारे जानकार हुनुपर्ने भएकोले समय समयमा तालिम पनि आवश्यक रहेको बताउनुभयो । सहकारीले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले संस्थाको वृत्ति र विकासको लागि गठित उपसमितिहरू सक्रिय रहनुपर्ने बताउनुभयो । उहाँले सहकारीका सिद्धान्तहरू पालना गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान समयमा सहकारीहरू दिनप्रतिदिन बदनाम हँुदै गइरहेकाले सहकारीकर्मीहरू सधँै सचेत हुनुपर्छ र सहकारीले ऋण प्रवाह गर्दा ऋण लिने सदस्यको पृष्ठभूमिबारे पनि जानकारी लिनुपर्छ ।”
जिल्ला बचत सङ्घका सचिव जगन्नाथ प्रजापतिले बैङ्क र सहकारीमा फरक रहेको चर्चा गर्दै समुदायमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वर्तमान समयमा सहकारीहरू सदस्यको बचत अपचलन गर्ने क्रम बढिरहेको र सहकारी ठगहरूलाई राजनैतिक संरक्षण दिने परिपाटी गलत रहेको चर्चा पनि उहाँले गर्नुभयो ।
सल्लाहकार विश्वराम कवांले सुकुन्दा साकोसले ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै आएको चर्चा गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी बनाउने खालका तालिमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारीसम्बन्धी क्रियाकलापहरूमा निरन्तरता दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
अर्का सल्लाहकार नाति कवांले सहकारीकर्मीहरू एक आपसमा सङ्गठित भएर लाग्नुपर्ने कुरामा जोड दिँदै जेन–जी आन्दोलनमा अनाहकमा युवाहरूको ज्यान गएको र अहिले देशमा अस्थिर राजनीति भइरहेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष श्रीकृष्ण गोसाईले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन, सचिव सूर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामप्रसाद कोजूले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष केशव कवां, निवर्तमान अध्यक्ष सानुकाजी त्वानाबासु, सल्लाहकार विष्णुभक्त मारिखु र व्यवस्थापक सानुकाजी चिकंबन्जारले पनि बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ माकको सभापतित्वमा भएको थियो ।
Leave a Reply