भर्खरै :

निर्वाचन सरकारले दीर्घकालीन असर पर्ने निर्णय गर्नु गलत

निर्वाचन सरकारले दीर्घकालीन असर पर्ने निर्णय गर्नु गलत

सुशीला कार्की नेतृत्वको चुनावी सरकारले देशलाई दीर्घकालीन असर पर्ने गरी राज्यको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीति स्वीकृत गरेको छ । नेपालमा पूर्ण र आंशिक गरी ४८ वटा सार्वजनिक संस्थानहरू रहेकोमा ३४ वटा यसअघि नै निजीकरण गरिसकेको र बाँकी सबै उद्योग कल कारखानालाई पनि निजीकरण गर्ने नीति वर्तमान निर्वाचन सरकारले स्वीकृत गरेको हो ।
तत्कालीन समाजवादी देश सोभियत सङ्घ, चीन जस्ता देशहरूले नेपाल र नेपाली जनताको आर्थिक उन्नति र समृद्धिको लागि स्थापना गरी दिएका उद्योगहरू २०४६ सालपछि बनेका प्रजातान्त्रिक नामधारी पार्टीका सरकारहरूले एक एक गरी निजीकरण गरेका थिए । त्यसले हजारौँ कामदारहरू बेरोजगार भए । देशको अर्बौको सम्पत्ति व्यक्तिको हातमा गयो र राज्य आर्थिक रूपमा कमजोर हुँदै गयो । २०५० सालदेखि निजीकरण प्रक्रियाको थालनी भएकोमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले सम्पूर्ण सार्वजनिक संस्थानहरू कम्पनीमा लान मिल्ने नीति स्वीकृत गरेपछि अब सरकारको स्वामित्वमा कुनै पनि सार्वजनिक संस्थानहरू बाँकी नरहने भएको छ ।
उद्योगधन्दा निजीकरण विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको पहिलो शर्त हुने गर्दछ । उद्योगहरू नाफामा चलेको होस् या घाटामा त्योसँग ती संस्थाहरूले कुनै सरोकार राख्दैनन् । कुनै पनि देशलाई ऋण लिन बाध्य पार्ने र ऋणबिना चल्नै नसक्ने अवस्थामा पु¥याउने उनीहरूको उद्देश्य हुन्छ । साम्राज्यवादीहरूका आर्थिक हतियारको रूपमा रहेका ती संस्थाहरूसामु गरिब देशहरू लम्पसार पर्नुको विकल्प हुँदैन । अर्थतन्त्रमा राज्यको हस्तक्षेप कम गर्दै लाने र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जानेमा नै उनीहरूको ध्यान केन्द्रित भएको हुन्छ । त्यसलाई उनीहरू राज्यको वित्तीय घाटा घटाउने र आम्दानी बढाउने नीतिको रूपमा व्याख्या गर्ने गर्छन् ।
उद्योग र कलकारखानाहरू, विभिन्न सार्वजनिक संस्थानहरू राज्यका उत्पादनका साधनहरू हुन् । औद्योगिक विकासले देशको अर्थतन्त्र बलियो बनाउँछ । औद्योगिकरणले देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ । आत्मनिर्भर देश स्वाभिमानीपूर्वक बाँच्न सक्छन् । ती देशका नागरिकहरू रोजगारीको निम्ति अन्य देशमा गएर दासको जीवन बिताउन पर्ने छैन । अहिले नेपाली युवाहरू वर्षको सात आठ लाख विदेश जान बाध्य छन् । सरकारको पछिल्लो निर्णयले यो क्रम अझ बढ्ने निश्चित भएको छ ।
हाल नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरू ४५ वटामध्ये २८ वटा घाटामा चलिरहेको र बाँकी घाटामा गइरहेको जनाइएको छ । सबै उद्योगहरू नाफामा चल्छन् भन्ने पनि होइन । राज्य संयन्त्रले अनुगमन गरी के कति कारणले घाटामा गयो अध्ययन गर्न सकिन्छ । भ्रष्टाचार, चाहिनेभन्दा बढी कर्मचारी दरबन्दी र कर्मचारीहरूले कारखाना सञ्चालनमा गरेको लापरबाही संस्थानहरू घाटामा जानुका कारण हुन सक्छन् । त्यस्ता कारणहरू अध्ययन गरी सुधारका कार्यहरू गर्नु राज्यको जिम्मेवारी हो । त्यसका लागि सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ । तर, ती उद्योगहरू नै कम्पनीको नाउँमा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने नीति राज्यलाई उल्टो गतिमा अगाडि बढाउने प्रक्रिया हो वा आर्थिक रूपमा धराशायी पार्ने नीति हो ।
निजीकरण गर्दैमा संस्थानहरूबाट राज्यलाई फाइदा हुने भए यसअघि ३४ वटा निजीकरण गरिएको संस्थानहरूबाट राज्यलाई मनग्य फाइदा हुनुपर्ने थियो । यो राज्यको अरबौँ लगानीमा निर्मित उद्योगहरू सीमित पुँजीपति वर्गलाई पोस्ने बहानामात्र हो । देशलाई आर्थिक रूपमा तहसनहस बनाउने षड्यन्त्र हो ।
नेपालको संविधानमा समाजवादउन्मुख अर्थनीति अवलम्बन गर्ने व्यवस्था गरिएको छ । समाजवादउन्मुखको अर्थ देशमा सञ्चालित कलकारखाना, विभिन्न कम्पनीहरू वा सबै खालका उत्पादनका साधनहरू क्रमशः सामाजिकीकरण वा राष्ट्रियकरण गर्दै लानु हो । सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानको भावनाभन्दा बाहिर गएर काम गर्ने छुट छैन । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेतर्फ मात्र यो सरकारको ध्यान केन्द्रित हुनुपर्छ । अन्य क्षेत्रहरूमा हात हाल्न थाल्यो भने सरकार समयमा निर्वाचन गर्न असफल हुन सक्छ । समयमा निर्वाचन हुन सकेन भने देशले ठुलो मूल्य चुकाउनुपर्नेछ ।
कार्की जेनजी आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री हुन पाएकी हुन् । नेपालमा बन्द रहेका कलकारखानाहरू वा सार्वजनिक संस्थानहरू सञ्चालनमा ल्याई देशभित्रै रोजगारीको सिर्जना गर्नु जेनजीको म्यान्डेट हो । कार्की सरकार संविधानको भावना र जेन–जी म्यान्डेटविपरीत अगाडि बढ्दै छ । अर्थमन्त्री रामेश्वर खनाल पूर्वअर्थ सचिवसमेत हुन् । उनी राज्यले उद्योग चलाएर हिँड्ने होइन भन्ने सोचका पुँजीवादी कथित अर्थविद् हुन् । यस्ता कथित अर्थशास्त्रीहरूले नै देशलाई आर्थिक रूपमा टाट पल्टाउने काम गर्दै आएका हुन् । सरकारको गलत अर्थ नीतिले आगामी दिनमा राज्य आर्थिक रूपमा थप सङ्कटमा पर्दै जाने निश्चित भएको छ । ६ महिनाको लागि गठित निर्वाचन सरकारले देशलाई दूरगामी असर पार्ने गरी गरेको निर्णयविरुद्ध आवाज उठाउनु सबै देशभक्त नेपालीहरूको जिम्मेवारी र कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *