‘तिमी मेरो आत्मा तिमी मेरो श्रृङ्गार’
- असार ९, २०८३
बोल्न नसक्ने व्यक्ति र साहित्य नभएको देश र राष्ट्र पराधीनताको जालमा फस्छ । बोल्न नसक्ने, भाषा र साहित्य नभएको देश र राष्ट्र एउटै हो । चार/पाँच सय वर्षअगाडि अफ्रिकी जनताको विभिन्न जातिको बोली थियो । तर, सबैलाई एकगठ गर्ने र आफ्नो पराधीनताको विरोधमा एउटा स्वरको गीत, कथा, व्यथा तथा देश र जनताको इच्छा आकाङ्क्षालाई स्वर र भाव दिने साहित्य थिएन । तिनीहरू दुःखको कारण र व्यथालाई एउटै स्वरमा गाउने गीत थिएन – त्यो हो – सम्पूर्ण अफ्रिका मुक्त गर्ने एउटै गीत (साहित्य) र उपाय देखाउने नेतृत्व (राजनीति) थिएन । यसकारण, करोडौँ अफ्रिकी जनता शताब्दीसम्म दलित, पीडित र दास भएर विभिन्न देशमा रगत र पसिना बगाउन बाध्य भए ।
युरोपका विभिन्न देश र नगरमा अफ्रिकी दासहरू बेचिन्थे; आमाबाबु अलग, छोराछोरीहरू अन्तै । त्यहाँका प्रगतिशील जनताले ती दासहरूको मुक्तिको लागि गीत र कविता पढ्थे, असह्य भए कति दासहरूले आत्महत्या गर्थे । त्यसबेलाका सम्पन्न धनीहरूमा मानवता वा मानवीय भावना थिएन । त्यही मानवीय भावना भएका लेखक, कवि, कलाकार र प्रगतिशील सांसदहरू एवं जनता कोणसभाबाट माथि उठ्दै ठुलाठुला विरोध प्रदर्शन र जनसभामार्फत आ–आफ्ना सरकारहरूलाई दास व्यापार बन्द गर्न कानुनले नै निषेध गर्ने विधेयक सदनमा लान आन्दोलन गर्थे । तर, अरू देश र त्यहाँका जनता लुट्ने साम्राज्यवादीहरू दास व्यापारमा प्रतिस्पर्धा गर्थे ।
बेलायतका मानवताको भावना नभएका सांसद र मन्त्रीहरू भन्थे, बेलायतले दास व्यापार निषेध गरेमा फ्रान्स र अन्य साम्राज्यवादी देशहरूले आर्थिक रूपले बेलायतभन्दा अगाडि बढ्छ त्यसकारण दास व्यापार बन्द गर्नुहुन्न । त्यस विचारको विरोधमा प्रगतिशील र मानवीय भावना भएका बेलायतीहरू विभिन्न आन्दोलन र साहित्यिक गतिविधिमा भाग लिन्थे । जनताको जित हुन्थ्यो ।
आज प्यालेस्टिनी जनतामाथि इजरायली जातिवादीहरूले वर्षौँदेखि हरेक वर्ष हजारौँ स–साना नानीहरू, महिला र युवाहरू मार्दै छन् । एउटै बमले टोलका–टोल र सयौँ मानिस मार्ने हतियार प्रयोग गर्दै छन् । तर, प्यालेस्टिनी जनताको आफ्नो भाषा र साहित्य छ । ती जनताका लेखकहरू जेलमा होस् वा भूमिगत देशमा होस् वा विदेशमा आफ्नै भाषामा कविता, कथा, नाटक, निबन्ध र इजरायली अत्याचारबारे समाचार बनाएर आफ्नै जनता देश र विदेशको पत्रपत्रिकामा छपाउँछन् । यसकारण, संसारका धेरै देश र जनताले प्यालेस्टिनी जनतामाथि गरेका अत्याचारको विरोधमा प्रदर्शन धर्ना, प्रचार कार्य र जनसभा गर्दै छन् । अमेरिका र युरोपका धेरै देशहरूले आ–आफ्ना नगर र महानगरहरूमा अमेरिकी सरकार र इजरायली नेतन्याहुको अत्याचारको विरोध गर्दै छन् । एकदिन एउटै देशका २० औँ लाख जनता विभिन्न नगरमा अमेरिकाको ट्रम्प सरकार र इजरायली अत्याचारको विरोध गर्दै छन् ।
नेपालमा पनि नेपाली जनताले विरोध गर्दै आएका छन् तर नेपाली काङ्ग्रेस र एमालेको ओली सरकारले इजरायली अत्याचारको विरोध गर्न सकेनन् र नेपाली परराष्ट्रमन्त्रीले इजरायलको हाकाहाकी पक्ष लिए । नेपालमा कामदार जनताका पक्षपाती दल र सङ्गठनहरूले अमेरिकी र इजरायली अत्याचारको विरोध गर्दै आएका छन् ।
असोज १८ र १९ दुवै दिन बिहान ११ बजेदेखि राति १०–११ बजेसम्म कविता, नाटक र नाच, गीतले भियतनामी जनतामाथि भएको अमेरिकी अत्याचारको विरोधमा सहिद न्युगेन वान ट्रोइबारे नाटक देखाए, नयाँ पुस्ताका युवाहरूले नाचगानमार्फत प्यालेस्टिनी जनताप्रति आफ्नो ऐक्यबद्धता दर्शाए । दुवै दिन प्यालेस्टिनी जनताको पक्षमा आक्रमणकारीको विरोधमा आक्रोश पोखे । ४५ वर्षदेखि चालु मजदुर किसान र देशभक्त जनताको नेपाल भाषाको तःमुंज्यामा देशका राजनीतिज्ञ, सीमाविद्, संस्कृतिविद्, इतिहासविद्, कानुनविद्, शिक्षाविद्, भाषाविद्, चिकित्सक, इन्जिनियर, कलाकार, गायक, साहित्यकार, बुद्धिजीवी, राजनीतिक विश्लेषक तथा विभिन्न विज्ञसहित हजारौँको सहभागितामा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
Leave a Reply