भर्खरै :

नगर प्रमुख प्रजापति र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहबिच भेट

नगर प्रमुख प्रजापति र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहबिच भेट

धनुषा, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहबिच बुधबार जनकपुरमा भेटघाट भयो । प्रमुख साहले प्रमुख प्रजापतिलाई खादा ओढाई जनकपुरमा स्वागत गर्नुभयो ।
भेटघाटको क्रममा नगर प्रमुख प्रजापति र प्रमुख साहबिच भक्तपुर र जनकपुर नपाबिच अनुभव आदानप्रदानका साथै देशको वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भयो ।
प्रमुख प्रजापतिले स्थानीय सरकारहरू आर्थिक रूपले सम्पन्न भएमात्र नगरपालिका र गाउँपालिका विकास कार्यमा अगाडि बढ्न सक्ने बताउँदै जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहलाई सक्षम, आत्मनिर्भर र अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो ।
जनकपुर उपमहानगरपालिका विगतको तुलनामा सफा, सुन्दर देखिएको बताउँदै उहाँले स्थानीय तहमा आन्तरिक स्रोत व्यवस्थापन निकै महत्वपूर्ण हुने बताउनुभयो ।
आर्थिक रूपले स्वतन्त्र नभएको देश राजनैतिक रूपले पनि स्वतन्त्र नहुने धारणा राख्दै नगर प्रमुख प्रजापतिले जेन–जी आन्दोलनलाई शासक दलहरूले गरेको भ्रष्टाचार, पक्षपात, भागबन्डा नियुक्ति र अनैतिक कार्यको सशक्त विरोधको रूपमा लिनुपर्ने बताउनुभयो ।
वर्तमान राजनीतिक घटनाक्रम हेर्दा देश अराजकतातिर जाने खतरा बढेको बताउँदै उहाँले नयाँ पुस्तालाई राजनैतिक रूपले सचेत र सङ्गठिन बनाउन सके मात्र देशको सार्वभौमिकता रक्षा हुने बताउनुभयो ।
भेटमा जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले जानकीको पवित्र जन्मस्थलको रूपमा परिचित जनकपुर उपमहानपाको स्थापना २०१७ सालमा भएको बताउँदै यस उपमहानपा २५ वडामा विभाजित रहेको र बाक्लो जनघनत्व रहेको जानकारी दिनुभयो ।
उहाँले जनकपुर उपमहानगरपालिकाका सबै जग्गा निजी गुठी र छुट गुठीअन्तर्गत रहेको बताउँदै नगरलाई सफा र सुन्दर बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
जनकपुर उपमहानपाभित्र करिब २५ प्रतिशत घर मात्र नक्सा पास भएका छन् भन्दै उहाँले पालिकाले जनकपुरको समग्र विकासमा ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभयो । उहाँले देश सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गर्दै देशको सार्वभौमिकता रक्षाको लागि सबै जनता एकजुट भएर लाग्नुपर्ने समय आएको बताउनुभयो ।
उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउँदै आर्थिक प्रलोभन देखाई जनताको मत पाएर निर्वाचित भएका जनप्रतिनिधिहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्न सक्दैनन् भन्नुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापति र साहबिच मायाको चिनो र उपहारहरू आदानप्रदान भयो । उक्त भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवाललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *