वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, २० कार्तिक । भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधिमण्डलले भनपा सभाकक्षमा भेट ग¥यो ।
भेटमा का.वा. प्रमुख जोशीले भक्तपुर नगरपालिकाको इतिहास, भूगोल, संस्कृति, सम्पदा र वर्तमान राजनीतिबारे जानकारी गराउँदै भनपामा नेपाल मजदुर किसान पार्टीका सबै जनप्रतिनिधिहरू निर्वाचित भएको र भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा कार्य गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि ७ वटा कलेजहरू सञ्चालन गरिरहेको, ख्वप अस्पताल सञ्चालन गरी नगरवासीहरूलाई सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरी स्थानीय भाषा, साहित्य, संस्कृति, संस्कार, नाचगान, जात्रा पर्व, खाद्य परिकारबारे नयाँ पुस्ताका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरू परम्परागत सीप र मौलिक निर्माण सामग्री प्रयोग गर्दै स्थानीय जनशक्ति परिचालन गरी सम्पदा संरक्षण गरिरहेको उल्लेख गर्दै उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको बताउनुभयो । चीन सरकारले नेपाल र भक्तपुर नगरपालिकामा विपद् र सङ्कटको बेलामा गरेको सहयोग र साथलाई स्मरण गर्दै यस्तो आदानप्रदान र सहकार्यले दुई देशबिचको आपसी सम्बन्ध अझ थप घनिष्ठ हुँदै गएको विचार व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ प्रतिनिधिमण्डलका तर्पmबाट इस्ट चाइना इन्डिया युनिभर्सिटी अफ टेक्नोलोजीका उपनिर्देशक सेन योङले चिनियाँ भाषाको बढी प्रचलनले दुई देशबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्न मद्दत पुग्ने विचार व्यक्त गर्दै कन्फ्युसियस इन्स्टिच्युटले यसको लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
छिङहाई मिन्सु युनिभर्सिटीका निर्देशक झाङ झिङनियानले छिङहाई प्रान्तको परिचय दिँदै छिङहाई मिन्चु विश्वविद्यालयबारे जानकारी गराउनुभयो । उहाँले विश्वविद्यालयले निकट भविष्यमै ख्वप सर्कलसँग सहकार्य हुने आशा व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको उक्त भेटमा ख्वप मोडल, केरुङ ल्हासा रेलमार्ग र चिनियाँ भाषा प्रशिक्षण विस्तारबारे छलफल भएको थियो ।
Leave a Reply