“सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनकेन्द्रित काममात्र गर्नुपर्छ”
- कार्तिक २२, २०८२

भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनाबाट वडाबाट शैक्षिक ऋण प्राप्त गरेका र नागरिकताको सिफारिस भएका स्थानीय युवा–विद्यार्थीहरूको भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक प्रमाणपत्र प्राप्त गरेका शिक्षित नागरिकले आफूले प्राप्त गरेको ज्ञान, बुद्धिलाई विवेकशील र सृजनशील भएर समाजमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता भएको चर्चा गर्नुभयो ।
विद्यार्थीहरूले परिवार, समुदाय र समाजको भावना बुझेर जिम्मेवारी बहन गर्दै सभ्य र सिर्जनशील नागरिक बन्नुपर्छ, उहाँले भन्नुभयो ।
निरन्तर अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रगतिशील साहित्यको अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “युवा–विद्यार्थीले आफ्नो दक्षता र क्षमता बुझेर अग्रसर हुनुपर्छ† अरूको लहलहैमा लाग्नुहुन्न । युवा शक्ति आज विदेश पलायन भइरहेको राम्रो सङ्केत होइन ।”
उहाँले देशको नेतृत्व गरिरहेका शासकहरूको अकर्मण्यताले गर्दा आज देशमा विध्वंशको अवस्था सृजना भएको गर्नुभयो ।
सबै नीतिको नेतृत्व सही राजनीतिले गर्ने स्पष्ट पार्दै सांसद गोसाईले देश र जनताको लागि सही विचार र दृष्टिकोण दिने राजनीतिमा लाग्नु जरूरी छ भन्नुभयो ।
वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडाका गतिविधिहरूबारे जानकारी दिँदै युवा–विद्यार्थीले समाजको लागि काम गर्नु जरूरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिहरूले काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रज्वल खत्री, रत्नकाजी नातरी, वडा सदस्यहरू श्यामसुन्दर मातां, न्हुछेराम कोजु, मञ्जु लाखाजु र सुरेन्द्रप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply