राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२

रौतहट, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको आतिथ्यमा नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा रौतहटको गरूडामा ‘देशघाती एमसीसी सम्झौताविरूद्ध सङ्घर्षमा नेमकिपा’ र ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले आत्मनिर्भरताबिना कुनै पनि देशले स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न नसक्ने धारणा राख्दै आत्मनिर्भर भएर बाँच्न प्रजग कोरिया र क्युवालगायतका देशहरूबाट सिक्नुपर्ने बताउनुभयो ।
जनस्तरमा पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले समय सान्दर्भिक पुस्तक प्रकाशन गरी जनतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता राष्ट्रिय स्वार्थविपरीत भएको उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले देशको सार्वभौमिकता तथा राष्ट्रिय स्वतन्त्रतामाथि आँच पु¥याउने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।
साम्राज्यवाद र विस्तारवादसँग लड्न सक्ने आँट गर्ने देशहरूले मात्र आत्मनिर्भर भएर बाँच्न सक्ने उल्लेख गर्दै उहाँले देशका कलकारखानाहरू निजीकरण गर्नेहरूले देशलाई परनिर्भरतातिर धकेलिरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “समाजवादी देशहरू प्रजग कोरिया र क्युवाले शिक्षा र स्वास्थ्य उपचारमा निःशुल्क, सबैलाई रोजगारीको व्यवस्थाजस्ता सबै सुविधा दिएर देशलाई विदेशी हस्तक्षेपबाट मुक्त पारेको छ । स्वाधीन र स्वतन्त्र अर्थतन्त्रको विकासले प्रजग कोरिया आर्थिक र राजनीतिक रूपमा स्वतन्त्र भएको छ ।”
नेपालको योजना स्वीकृत गर्न भारतको समर्थन लिनुपर्ने, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने, लेखा परीक्षण अमेरिकी नियमानुसार गर्ने, आयोजनाको क्षति अमेरिकाले नव्यहोर्ने, एमसीसीमा सम्बद्ध कुनै अधिकारीलाई मुद्दा नलाग्ने, विवाद समाधान अन्तर्राष्ट्रिय कानुनबमोजिम हुने जस्ता एमसीसीमा उल्लिखित बुँदाहरू राष्ट्रघाती छन् भन्दै उहाँले एमसीसीमा हस्ताक्षर गर्नेहरू राष्ट्रघाती भएकाले नेमकिपाले सडक र सदनमा यसको विरोध गरेको स्मरण गर्नुभयो ।
विदेशीहरूसँगको असमान सम्झौताले देश नै नरहने खतरा बढ्ने चर्चा गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सकेनौँ भने देशलाई अरूको अगाडि आत्मसमर्पण गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
देशमा विशेष परिस्थितिबिच अन्तरिम सरकार गठन भई सुशीला कार्की प्रधानमन्त्री बनेको प्रसङ्ग जोड्दै उहाँले देशलाई सही दिशामा लैजान भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने र निर्वाचनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले जनताको साथ, सहयोग र श्रमदानबाट भक्तपुरका सम्पदाहरू पुनःनिर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।
नेपाल कृषिमा धेरै सम्भावना भएको देश हो तर कृषि क्षेत्रको विकासतर्फ सरकारले यथोचित ध्यान नदिँदा नेपालले कृषिजन्य वस्तुहरूसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था आयो† यसले नेपाललाई परनर्भिरतातर्फ धकेलिरहेको छ, उहाँले भन्नुभयो ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरलाई स्तरीय बनाउन भक्तपुर नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्दै शैक्षिक गुणस्तर वृद्धिको लागि सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरिरहेका सातवटा शैक्षिक संस्थाहरूमा देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै उहाँले यी कलेजहरू देशकै उत्कृष्ट कलेजको रूपमा स्थापित रहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने दीर्घकालीन सोच लिएर नगरपालिका अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय सञ्चालन गर्नु जरुरी छ भन्नुभयो ।
नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले नेपाल मजदुर किसान पार्टीले जनताको राजनैतिक चेतनास्तर माथि उठाउन प्रगतिशील गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले एमसीसी सम्झौता नेपालको लागि घातक भएको हुँदा यसको विरोध सबैले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षक शिवेन्द्र साहले कानुनभन्दा माथि कोही हुन नसक्ने उल्लेख गर्दै नेपालको कानुनसँग बाँझिएको एमसीसी सम्झौता लागु हुने प्रावधान देशघाती भएको बताउनुभयो ।
शिक्षक राम अधार पासवानले पैसाको लागि स्वाभिमान बेच्नु हँुदैन, देशको स्वाभिमानमा आँच पुग्ने गरी भएको सम्झौताको सबै नेपालीले विरोध गर्नुपर्छ भन्नुभयो ।
शिक्षक शिवशङ्कर झाले नेपाल मजदुर किसान पार्टीले सडक र सदनबाट एमसीसी सम्झौताको विरोध गर्दै आएकोमा धन्यवाद दिँदै जनस्तरबाट उठाउनको निम्ति प्रयास गर्नुपर्ने बताउनुभयो ।
शिक्षक किसुनदयाल यादवले अमेरिकाले नेपाललाई एमसीसीको माध्यमबाट उपनिवेश गर्न खोजेकोमा विरोध गर्दै नेमकिपाले त्यसको विरोध गरेकोमा आभार व्यक्त गर्नुभयो ।
शिक्षक रामपुकार राउतले नेपाल मजदुर किसान पार्टीले मात्र विरोध गरेको तर अरू पार्टीले विरोध नगरेकोमा अन्य पार्टी भागबन्डामा लागेको जस्तो आफूले अनुभव गरेको बताउनुभयो ।
शिक्षक मनोज बैठाले अमेरिकाले भारतको सहयोगमा नेपालमा चलाउने गरी एमसीसी सम्झौता गरेको हुँदा त्यस्ता सम्झौता गर्ने दलहरूलाई बहिष्कार गरौँ भन्नुभयो ।
उक्त कार्यक्रममा शिक्षक राजन रस्तोगी, सञ्जय साह, विजेन्द्र यादव, छोटेलाल प्रसाद पटेल, जितेन्द्र पटेल, फेकु ठाकुर, रामविश्वास साह, विनोदकुमार यादव, त्रिभुवन यादव, जगेश्वर राय यादव, विश्वनाथप्रसाद साह, धीरेन्द्र यादव, पर्शुराम राउत, अभिजित राम, चन्द्रेश्वर पासवानलगायतले एमसीसीको सबै नेपालीले विरोध गर्नुपर्ने र आत्मनिर्भरताको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उपस्थित शिक्षकहरूले वैदेशिक सहयोगले देशको विकास हुन्न भन्ने हेक्का हुनुपर्ने, देशको स्वाधीनता बन्धकमा राखेर लिएको सहयोगको कुनै औचित्य नहुने, अमेरिकाले विकासोन्मुख देशहरूलाई सहयोगको नाममा उपनिवेश बनाउन खोजिरहेको, एमसीसी सम्झौता अमेरिकाको कानुन भारतको सहमतिमा नेपालमा लागु गर्ने माध्यम भएको, एमसीसीको विरोध गर्ने साहस हुनुपर्ने, समाजवादी आर्थिक विकासले देशलाई आत्मनिर्भर बनाउन मद्दत पु¥याउने, देशको आर्थिक जग बलियो बनाउन नसकेसम्म देश आत्मनिर्भर बन्न गाह्रो हुनेलगायतका धारणा राख्नुभयो ।
उहाँहरूले एमसीसीका केही बुँदाहरू नेपालको पहिचानमाथि नै प्रश्न उठ्ने खालका भएको, रेमिट्यान्सको भरमा देशको आर्थिक प्रगति सम्भव नभएको, अन्तरिम सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गरेर मात्र निर्वाचनतर्फ जानुपर्ने, देशको हितविपरीत हुने कामको सबैले एकजुट भएर विरोध गर्नुपर्ने, कृषकहरूको समस्या समाधानमा राजनीतिक दलहरू अग्रसर हुनुपर्नेलगायतका विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा रौतहट जिल्ला समिति सदस्य लालबाबु चौधरीले पनि बोल्नुभएको थियो ।
Leave a Reply