“सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनकेन्द्रित काममात्र गर्नुपर्छ”
- कार्तिक २२, २०८२

रौतहट, २१ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रौतहटको चन्द्रनिगाहपुरस्थित जनमुखी बहुमुखी क्याम्पसको शुक्रबार स्थलगत अवलोकन गर्नुभयो । सोही क्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठले नगर प्रमुख प्रजापतिसहितको टोलीलाई क्याम्पसमा स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिको क्याम्पसका प्राध्यापकहरूसँगको भेटमा प्रमुख प्रजापतिले क्याम्पस भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नपाले शिक्षा क्षेत्रलाई जोड दिँदै भक्तपुरलाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्ने प्रयास गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई नगरपालिकाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्थाले धेरै विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको बताउनुभयो ।
स्वास्थ्य र शिक्षाको समस्या समाधानले जनताको आधा समस्या समाधान हुने धारणा व्यक्त गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै विभिन्न विदेशी विश्वविद्यालयसँग सहकार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा जनमुखी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन श्रेष्ठले रौतहटको स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै २०५८ सालमा स्थापना भएको यस क्याम्पसमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका विषयहरू सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले हाल उक्त क्याम्पसमा २ हजारभन्दा बढी विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत रहेको बताउँदै रौतहटको शैक्षिक क्षेत्र अगाडि बढाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले कलेज सञ्चालन र व्यवस्थापनमा साथ र सहयोग पाइरहेको उल्लेख गर्नुभयो ।
क्याम्पसले प्र्राविधिक कारणले विज्ञान विषय सञ्चालन गर्न नसकिरहेको यथार्थबारे प्रस्ट पार्दै उहाँले निम्न आय भएका विद्यार्थी र जेहेनदारलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
कलेजले शैक्षिक गतिविधिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएको उल्लेख गर्दै क्याम्पस प्रमुख श्रेष्ठले मधेश प्रदेशस्थित जनज्योति बहुमुखी क्याम्पस विद्यार्थीहरूको आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको अवगत गराउनुभयो ।
सो भेटमा जनमुखी बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जकुमार कार्कीले जनमुखी बहुमुखी क्याम्पसको चौतर्फी विकासमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिले समन्वय र सहजीकरणको भूमिका खेल्दै आएको बताउँदै शिक्षामा गरेको लगानी देश र समाजको पनि उपलब्धिमूलक हुने बताउनुभयो ।
उहाँले जनमुखी क्याम्पस विधि र नीतिमा सञ्चालन भई कलेजका सबै गतिविधि पारदर्शी ढङ्गले सञ्चालन भइरहेको छ भन्नुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले कलेज व्यवस्थापन समितिका अध्यक्ष र क्याम्पस प्रमुखलाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, जनमुखी क्याम्पस प्रमुख विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभागीय प्रमुख र विद्यार्थी प्रतिनिधिलगायतको उपस्थिति थियो ।
Leave a Reply