भर्खरै :

अक्टोबर क्रान्ति दिवसको अवसरमा शिक्षक भेला

अक्टोबर क्रान्ति दिवसको अवसरमा शिक्षक भेला

भक्तपुर, २१ कार्तिक । अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार शिक्षक भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य योगेन्द्रमान बिजुक्छेँले अक्टोबर समाजवादी क्रान्तिले युरोपकै पिछडिएको देश रुसले पुँजीवादी देशहरूमा दुई सय वर्ष लगाएर गरेको प्रगति ३० वर्षमै गरेको बताउँदै समाजवादी व्यवस्था आजसम्मको उत्कृष्ट व्यवस्था भएको बताउनुभयो ।
मानव श्रम, पशुपन्छीको प्रयोग, वाष्प इन्धन, खनिजको उपयोग, विद्युतीकरणजस्ता शक्तिको प्रयोगसँगै समाज विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै उहाँले तत्कालीन सोभियत सङ्घले पञ्चवर्षीय योजनामार्फत शक्तिको उपयोगलाई प्राथमिकतामा राखेको चर्चा गर्नुभयो । समाजवादी क्रान्तिका विषयहरूमा कमैमात्र पठनपाठन हुने भएकोले शिक्षकहरूले यस विषयमा अध्ययन तथा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले १९१७ को क्रान्तिले राजनैतिक पक्षमा मात्र नभई साहित्य, आर्थिकलगायतका विषयमा परिवर्तन ल्याएको सविस्तार गर्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले नेपालमा भएका राजनैतिक आन्दोलन र घटनाहरू क्रान्ति नभएको बताउँदै क्रान्तिले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा आमूल परिवर्तन ल्याउँछ भन्नुभयो ।
सोभियत सङ्घको समाजवादी व्यवस्था विघटन भएपछि समाजवादको आवश्यकता र महत्व झन् विश्वभरि फैलिएको चर्चा गर्दै उहाँले शिक्षकहरूले नयाँ पुस्तालाई इतिहासका घटनाहरू नसुनाउँदा तिनीहरूमा रहेको देशभक्ति भावना, आक्रोश र शक्तिलाई अरुले आफ्नो स्वार्थअनुरुप उपयोग गर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक रत्नप्रसाद फैजूले अक्टोबर क्रान्तिबारे प्रस्तुति राख्नुभयो । कार्यक्रममा शिक्षक विश्वराम प्रजापतिले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *