भर्खरै :

शासक दलहरूले जनतालाई फेरि छलछाम गर्नेतर्फ सचेत रहनुपर्ने

शासक दलहरूले जनतालाई फेरि छलछाम गर्नेतर्फ सचेत रहनुपर्ने

दैलेख, २३ कार्तिक । नेमकिपा चामुण्डा बिन्द्रासैनी वडा नं. ७ को वडा भेला कार्तिक २२ गते मष्टामाडुमा सम्पन्न भयो ।
उक्त वडा भेलामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले जसरी भए पनि कुर्सीमा पुग्नैपर्ने शासक दलहरूको गलत मानसिकताले देशमा सङ्कट बढ्दै गएको चर्चा गर्दै फेरि जनतालाई छलछाम गर्नसक्नेतर्फ सजग रहन आग्रह गर्नुभयो ।
विगतमा धेरै पटक सत्तामा पुगेका शासक दलहरूले जनताको निःस्वार्थ रूपमा सेवा गरेका भए यिनीहरूको घर नजल्ने र सुरक्षित रहन सक्ने उल्लेख गर्दै जनतालाई दुःख दिनेहरू ढिलो वा चाँडो दण्डित हुनेछन् भन्नुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका संयोजक निरकबहादुर शाहीले शासक दल र यिनका कार्यकर्ताले केन्द्रदेखि स्थानीय तहसम्मै ज्यादती गरेको चर्चा गर्दै जनता सचेत भएमात्र देश बलियो हुनसक्छ भन्नुभयो ।
शासक दलहरू र तिनका नेताहरू विदेशीहरूबाट सञ्चालित भएको चर्चा गर्दै उहाँले वर्गसङ्घर्षलाई अगाडि बढाउन अध्ययनशील कार्यकर्ताको आवश्यकता हुन्छ भन्नुभयो ।
नेमकिपा दैलेखका सदस्य तथा चाबिनपा ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाईँले क्रियाशील कार्यकर्ताले मात्र पार्टीलाई अगाडि बढाउन सक्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य धनकुमारी शाही, नेमकिपा वीरेन्द्रनगर नगर समितिका कुशाखर खनाल, नेक्राशिसङ्घ दैलेखका सदस्य दीपक शाही र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केशव शाहीले पनि शुभकामना दिनुभएको थियो ।
नेमकिपा वडा नं. ७ का संयोजक शिवराज चौलागाईँको सभापतित्वमा भएको उक्त कार्यक्रममा छवि चौलागार्इँले पनि बोल्नुभएको थियो ।
भेलाले शिवराज चौलागाईँको अध्यक्षतामा १३ सदस्यीय नेपाल मजदुर किसान पार्टी वडा नं. ७ को वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *