भर्खरै :

वैदेशिक ऋणले देशलाई थप परनिर्भर बनाउने

वैदेशिक ऋणले देशलाई थप परनिर्भर बनाउने

सिरहा, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले तराई किसान आन्दोलनको इतिहास भएको ठाउँ भए पनि तराईका किसान तथा मजदुरहरूको जीवनस्तरमा कुनै परिवर्तन नभएको बताउनुभयो ।
सिरहाको ठाडीमा आइतबार भएको कार्यकर्ता भेटघाट तथा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रममा उहाँले देशको राजनैतिक व्यवस्था राम्रो नभएसम्म जनताको जीवनस्तर माथि नउठ्ने स्पष्ट पार्नुभयो ।
युवाहरूलाई सरकारले नियोजित रूपमा विदेश पठाइरहेको सन्दर्भ जोड्दै उहाँले वैदेशिक ऋणले देशलाई आर्थिक परनिर्भरतातर्फ धकेलिने हुँदा देशलाई उपनिवेश हुनबाट रोक्न सके मात्र नेपाल स्वतन्त्र र स्वाधीन बन्ने बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले विदेशी सहयोगले नेपाललाई कहिल्यै आत्मनिर्भर नबनाउने धारणा राख्दै उहाँले पुँजीवाद, सामन्तवाद र उपनिवेशवादको विरोध गर्नेले मात्र स्वतन्त्रताको श्वास फेर्न सक्छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकार भ्रष्टाचारीलाई कारबाही गर्दै निर्वाचनतर्फ अग्रसर हुुनुपर्छ ।”
कार्यक्रममा नेमकिपा सिराहा जिल्लाका अध्यक्ष विजय महतोले तराईका गरिब किसान मजदुरहरू अहिले पनि शोषणमा परिरहेकाले जनतालाई राजनैतिक रूपमा सङ्गठित नगरेसम्म देशमा आमूल परिवर्तन सम्भव नहुने बताउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपा सिराहा जिल्ला सदस्य तथा नेक्राकिसङ्घ केन्द्रीय सदस्य श्रीलाल पासवानले निर्वाचनमार्फत असल जनप्रतिनिधि निर्वाचित गर्नु नागरिकहरूको दायित्व भएकोले शासक दलहरूले चुनावमा पैसा बाँडेर, भोजभतेर गरेर जनताको मानसिकता बिगार्ने काम गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *