भर्खरै :

पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक

पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक

भक्तपुर, २३ कार्तिक । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) भक्तपुरको चौथो जिल्ला अधिवेशन शुक्रबार बाचामारीस्थित होटल सिटी गाउँमा सम्पन्न भयो ।
उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भएको थियो ।
वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यालय जनताको विद्यालय भएकोले यहाँका शिक्षकहरूले स्वयम्सेवकजस्तै काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षकभन्दा कार्यकर्ता हो भन्ने भावना भएमा हिनताबोध नहुने बताउनुभयो ।
हामीले विद्यार्थीलाई राम्रो नागरिक बनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले विदेशीले आफूलाई नाफा नहुने काममा लगानी नगर्ने हुँदा त्यसतर्फ शासकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
बुझेको या जानेको मान्छेले सही कुरा गरेन भने इतिहासले हामीलाई सराप्ने हुँदा हामीले राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा अध्ययन गरेर अघि बढ्नुपर्छ भन्नुभयो ।
हामीले विद्यार्थीलाई भूगोल, इतिहास आदि पढाएर सक्षम बनाउन सके भोलि देशकै लागि हित हुने उल्लेख गर्नुभयो ।
प्राज्ञिक बन्न र बनाउन अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हामीलाई ख्वप विश्वविद्यालय स्वीकृति दिएको भए देश विदेशका लागि डाक्टर तयार गर्नसक्ने कुरा बताउनुभयो । हरेक शिक्षकहरू नैतिक रूपमा इमानदार बन्नुपर्ने, श्रमसँग माया गर्ने र विभिन्न स्थल र त्यहाँको भूमिकाबारे विद्यार्थीलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले इसानअन्तर्गतका विद्यालयले शिक्षा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै शिक्षाको दायित्व राज्यले लिनुपर्नेमा जोड दिनुभयो । सरकारले शिक्षामा केही लगानी बढाउने र अनुदान दिने हो भने एउटै किसिमको शिक्षा र निःशुल्क शिक्षा देशभर दिनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
अहिलेको राजनीतिक परिवेशलाई आँखा चिम्लेर समर्थन गरेमा देशै नरहने स्थिति आउन सक्ने हुँदा हामी सबै सचेत भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
इसानका केन्द्रीय महासचिव पुरुषोत्तम ग्वाछाले विद्यालय संस्थागत रूपमा अगाडि लानुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विद्यार्थीहरूलाई सक्षम बनाउँदै लान सकेमा राष्ट्रिय रूपमै फाइदा पुग्ने बताउनुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले नेपालको संविधानमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था भए पनि राज्यले कानुन नबनाउँदा सर्वसाधारणले पढ्न नपाएको, पुँजीवादी व्यवस्थामा अनेक जालझेल गरेर जनतालाई ठग्दै आएको र राज्य शिक्षाको दायित्वबाट भागेको हो भन्नुभयो ।
शैक्षिक बेरोजगारले बिदेसिने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले असन्तोषकै कारण जेन–जी आन्दोलन थालेको हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले भ्रष्टाचारविरोधी आन्दोलन र भागबन्डाको विरोधमा सुरुदेखि सङ्घर्ष गर्दै आएको जानकारी गराउनुभयो ।
इसान भक्तपुर जिल्ला समितिका उपाध्यक्ष कृष्णराम दुवालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राज्यको दायित्व शिक्षा भएकोले सेवामूलक ढङ्गमा निजी विद्यालयहरू सञ्चालन गर्ने र राज्यले दायित्व लिनेबित्तिकै राज्यलाई हस्तान्तरण गर्ने इसानको धारणा रहेको बताउनुभयो ।
भेलाले कृष्णराम त्वानाबासुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *