जारशाही संसद्मा बोल्शेभिक सांसद – ९
- कार्तिक २७, २०८२

नेपाली समाज आज एक मानसिक र सामाजिक विचलनको खतरनाक मोडमा उभिएको छ । जीवनका आधारभूत, नैसर्गिक सौन्दर्य र शाश्वत सत्यहरूलाई उपेक्षा गर्दै एउटा ठुलो जमात क्षणिक, कृत्रिम र डिजिटल मोहको जालोमा फसेको छ । हाम्रो धरातलीय यथार्थ, प्रकृति र श्रमसँगको सम्बन्ध द्रुतगतिमा टुट्दै गइरहेको छ, जसको मूल्य हामीले भविष्यमा चुकाउनुपर्ने निश्चित छ ।
एक समय थियो, प्रकृतिमा जीवनको लय स्पष्ट सुनिन्थ्यो । कुनै पनि फूलको मीठो बास्नाले मनमा शीतलता भथ्र्यो; घना जङ्गलमा फैलिएको जङ्गली फूल र वनस्पतिको सुगन्धले असीम आनन्द दिन्थ्यो । एउटा बिरुवा उम्रँदै, फुल्दै र फल्दै गरेको हेर्नु नै जीवनको उत्सव हुन्थ्यो । तरकारी बालीमा काउली, काँक्रा, फर्सी, घिरौला, बोडी, सिमी लटरम्म फलेको देख्दा मनमा जति सन्तोष र खुसी मिल्थ्यो, त्यो आज कतै हराएको छ । खेतमा धानको बाला झुलेको, पाखामा कोदोको बाला फलेको वा गहुँ, मकै, फापरजस्ता बाली पाकेको दृश्यलाई हामीले समृद्धिको प्रतीक मान्थ्यौँ । गाई, गोरु, भैँसीजस्ता पशुधनले घाँस खाएको हेर्नु, तिनीहरू मानिससँग झ्याम्मिएको देख्नु र शान्तसँग उग्राएको दृश्यमा पारिवारिक र आर्थिक सुरक्षाको आभास हुन्थ्यो । यी सबै कुरा नेपाली जीवनका आधारशिला थिए ।
विडम्बना, आजको युवा पुस्ताका लागि यी जीवनदायी र यथार्थपरक दृश्यहरू महत्वहीन बनेका छन् । कृषि र पशुपालन, जुन हाम्रो अर्थतन्त्र र पहचानको मेरुदण्ड हो, त्यसप्रतिको रुचि र लगाव लगभग शून्यप्रायः छ । युवाहरू उच्च जीवनशैलीको खोजीमा कि त सहरको अव्यवस्थित भीडमा हराउँदै छन्, कि त वैदेशिक रोजगारीको कठोर यात्रामा होमिएका छन् । हो, देशको विकासका लागि कारखाना र उद्योगको आवश्यकता छ । औद्योगिक विकासलाई नकार्न सकिँदैन । तर, औद्योगिक विकासको लहरसँगै आएको मानसिक विचलन बढी चिन्ताजनक छ । आजकलका युवा पुस्ताको अधिकांश समय उत्पादक श्रमभन्दा टाढा रहेर मोबाइलको सानो स्क्रिनमा खर्च भइरहेको छ । उनीहरूको सम्पूर्ण ध्यान ज्ञान, सीप वा उद्यमशीलतामा भन्दा पनि काम नलाग्ने ‘आल्तुुफाल्तु’ कुराहरू, सामाजिक सञ्जालका क्षणिक ‘लाइक’ र ‘शेयर’ मा बर्बाद भइरहेको छ ।
यो प्रवृत्तिले युवा शक्तिलाई अकर्मण्य र विकल्पहीन बनाउँदै लगेको छ । श्रमप्रतिको वितृष्णा र तत्कालको आनन्द खोज्ने बानीले कठिन परिश्रमबाट प्राप्त हुने दीर्घकालीन सन्तुष्टि र सफलताको महसुस गर्नबाट युवा पुस्ता चुकिरहेको छ । प्रविधि आफैँमा नराम्रो होइन, तर जब यसको उपयोग उपभोग र मनोरञ्जनका लागि मात्र केन्द्रित हुन्छ, तब यसले सामाजिक सङ्कट निम्त्याउँछ । हाम्रो समाजले श्रम र उत्पादनको मूल्यलाई उपेक्षा गर्दै कृत्रिम उपभोग र देखावटीपनलाई महत्व दिन थालेका कारण यस्तो भयावह अवस्था आएको हो ।
यो गम्भीर पलायनलाई रोक्न राज्य, समाज र युवा आफैँले गहन समीक्षा गर्नुपर्छ । सबैभन्दा पहिले, कृषि, पशुपालन र औद्योगिक श्रमलाई ‘निम्न स्तरको काम’ होइन, बरु ‘राष्ट्रिय उद्यमशीलता’ को आधारका रूपमा स्थापित गर्न आवश्यक छ । राज्यले कृषि क्षेत्रमा प्रविधि, यान्त्रिकीकरण र सहुलियतको उचित व्यवस्था गरेर यसलाई आकर्षक व्यवसाय बनाउनुपर्छ । युवालाई मोबाइलको उपयोग मनोरञ्जनको साधनभन्दा बढी उत्पादनको उपकरण बनाउन सिकाउनुपर्छ । हामीले डिजिटल संसारबाट आँखा हटाएर एकपटक फेरि धानको बाला झुलेको वास्तविकताको सुन्दरतालाई पुनः महसुस गर्नैपर्छ । प्रकृति र श्रमसँगको सम्बन्धलाई पुनस्र्थापित नगरी हामीले खोजेको दीर्घकालीन समृद्धि सम्भव छैन । युवा शक्तिले क्षणिक डिजिटल मनोरञ्जनलाई त्यागेर, राष्ट्रको निर्माणमा लाग्ने सङ्कल्प गर्नुपर्छ । जबसम्म युवाहरू आफ्नो हातमा मोबाइलको सट्टा माटोको काम गर्ने औजार उठाउन तयार हुँदैनन्, तबसम्म देशको विकासको यात्रा अधुरो र अपूर्ण नै रहनेछ । नेपालको वास्तविक प्रगति कृषि, पशुपालन, उद्योग र प्रविधिको सन्तुलित संयोजनमा निर्भर गर्दछ भन्ने सत्यलाई स्वीकारेर सबै सरोकारवालाहरू अगाडि बढ्न ढिला भइसकेको छ ।
Leave a Reply