सरकार देश र जनताप्रति जिम्मेवार हुनुपर्ने
- असार ११, २०८३
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको क्रममा दलहरू दर्ता गर्ने क्रम चालु छ । निर्वाचन आयोगमा दल दर्तासँगै मतदाता नामावलीको सङ्कलन गर्ने कार्य पनि हुँदै छ । निर्वाचन निर्धारित समयमै निष्पक्ष, शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुनुपर्छ भन्ने माग राजनीतिक दल र जनताको चाहना हो । देशमा धेरै राजनीतिक दलहरू देखापर्दा या नयाँ–नयाँ दल दर्ता भएको स्थितिमा जनतामा कौतुहलता बढ्नु स्वाभाविक हो । कुन दलका उम्मेदवारलाई मतदान गर्ने भन्ने चासो बढ्नु या त्यसबारे टोल–टोल, गाउँ–बस्ती र चोक, पसलहरूमा चर्चा हुनु अन्यथा होइन । राजनीतिप्रति या निर्वाचनप्रति जनताको चासो हुनुपर्छ† राजनीतिमा लाग्नुपर्छ । युवा, विद्यार्थी तथा सर्वसाधारण जनताको राजनीतिप्रति चासो बढ्नु सकारात्मक पक्ष हो ।
राजनीतिक दलहरू वर्गमा विभाजित छन् । दललाई चिन्ने आधार दलको सिद्धान्त र विचार नै हो । कुन दलले कस्तो सिद्धान्त र विचारलाई आत्मसात गरेको छ ? दलको ध्येयअनुसार दल अघि बढेको छ कि छैन ? बुझ्नुपर्छ । दललाई बुझ्ने आधार पुरानो दल र नयाँ दल होइन । कुन दल सही र गलत भन्ने मापन गर्ने आधार पुरानो दल र नयाँ दल होइन । पुरानो दल हुँदैमा काम नलाग्ने र नयाँ दल भएपछि काम लाग्ने भन्ने कुरा होइन । पुराना या सरकारमा गएका दलहरूको कमी कमजोरी र गलत कार्य गरेको आधारमा सबै दल काम लाग्दैन भन्नु दृष्टिदोष हुनेछ । नयाँ दलहरू यसअघि पनि नदेखिएको होइन । कति नयाँ दलहरू पनि टुक्राटुक्रा भए† कति दलको स्पष्ट विचार र दृष्टिकोण नै छैन; मार्गनिर्देशक आधार छैन । त्यस्तो दलले समग्र देश र जनताको हितमा काम गर्छ† हितमा सङ्घर्ष गर्छ भन्ने होइन । नयाँ भनिएका दलले त्यस्तो काम गरेको देखिँदैन ।
आम जनताले बुझ्नुपर्ने कुरा दलको सिद्धान्त र विचार नै हो । सिद्धान्त र विचार थाती राखेर लोभलालच र पैसाको राजनीति गर्छ भने त्यस्तो दलका उम्मेदवारलाई मतदान गर्नु उचित होइन । देशको कानुनलाई मान्यता नदिने एमसीसीमा सम्झौता गर्ने या हस्ताक्षर गर्ने, दलका उम्मेदवारहरू निर्वाचित गर्नु हुँदैन । श्रमजीवीवर्गमाथि शोषण, दमन, थिचोमिचो गर्ने दलका उम्मेदवारहरू पनि जनताका विरोधी हुन् । सामन्त, प्रतिक्रियावादी, पुँजीवादी, जालीफटाहाहरू शोषितपीडित जनताका शत्रु हुन् । विदेशी थिचोमिचो, अतिक्रमण र दबाबमा बस्ने या कठपुतली बनाउने विदेशी दलाल या विदेशी शक्ति राष्ट्रको पछि दगुर्ने दलका उम्मेदवारहरूलाई जनताले निर्वाचित गर्नु ठीक होइन । देश र जनताको इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्ने दल र दलका उम्मेदवारलाई हामीले चिन्नुपर्छ । पद र पैसाको निम्ति राजनीति नगर्ने, भागबन्डामा नफसेका, सत्ताको लोभमा राजनीति नगरेका दल र दलका उम्मेदवारहरूलाई जनताले चिन्नुपर्छ; चुन्नुपर्छ या जिताउनुपर्छ । स्थापनाकालदेखि बहुमत जनताको सेवा गरिरहेको, बहुमत जनताको पक्षमा सङ्घर्ष गरिरहेको दललाई जनताले सच्चा दल सम्झनुपर्छ । अनियमित र भ्रष्टाचारमा फसेका, हत्या हिंसामा लागेका, आपराधिक व्यक्ति, ठुलठुला धनाढ्य, ठेकेदार, सामन्त, प्रतिक्रियावादी र जालीफटाहाहरूलाई जनताले हराउनुपर्छ ।
देशका बहुमत जनता श्रमजीवीवर्गका छन् । श्रमजीवीवर्गको हितमा साथ र सहयोग गर्ने दल र दलका उम्मेदवार जनताका मित्र हुन् । जनताको साथ र सहयोगमा जनताको निम्ति सङ्घर्षरत दल र दलका उम्मेदवारलाई हामीले चयन गर्नुपर्छ । काम गरेर खाने श्रमजीवी वर्ग, प्रगतिशील बुद्धिजीवी, देशभक्त जनता काँधमा काँध मिलाएर, हातमा हात मिलाएर अघि बढ्नुपर्छ । जनताले इमानदार, निःस्वार्थी, देश र जनताप्रति समर्पित, बहुमत जनताको सेवामा निरन्तर लागिपरेका, सत्ताको लोभमा नफसेका, सिद्धान्त र विचार बन्धक राखी व्यक्तिगत र दलगत स्वार्थ नहेर्ने दल र दलका उम्मेदवार नै जनताका सच्चा दल हुन् । त्यस्तो दल र दलका उम्मेदवारलाई आम जनताले छान्नुपर्छ । कुनै पुरानो दलले धोका दिएको, जनताको पक्षमा काम नगरेको आधारमा पुराना दल सबै गलत छन्; नयाँ दल र दलका उम्मेदवारलाई जिताउनुपर्छ भनी लागेमा फेरि नेपाली जनताले धोका पाउनेछन्; पछि प्रायश्चित गर्नुपर्ने हुन्छ । अतः पुरानो दल सबै गलत र नयाँ दल सबै ठीक हुन्छ भन्ने कुरा सोच्नु गलत हुनेछ । सत्तामा रहेका दललाई धेरै पटक मत दिएँ, अब नयाँ दल नै रोज्नुपर्छ भन्ने भ्रम कुनै पनि नेपालीले पाल्नु हुँदैन । देश र जनताको सेवा नगर्ने र जनतालाई धोका दिने दललाई अवश्य हराउनुपर्छ ।
Leave a Reply