विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
डिक चेनी (सन् १९४१–२०२५)
पूर्व अमेरिकी उपराष्ट्रपति रिचर्ड ‘डिक’ चेनीको मृत्यु भयो । ८४ वर्षको उमेरमा २०२५ नोभेम्बर ३ गते मरेका हुन् उनी । परिवारले जनाएअनुसार उनलाई निमोनिया, मुटु र आन्द्राको समस्या थियो । २००१ सेप्टेम्बर ११ को (जुम्ल्याहा भवनमाथि) आक्रमणपछि राष्ट्रिय सुरक्षा नीति नै मोडेकोमा उनको चर्चा हुन्छ । यसपछि सुरु भएको ‘आतङ्कवादविरोधी युद्ध’ का मूल नाइके उनै भए । त्यो युद्धले लाखौँ मान्छेलाई यातना दियो, एकपछि अर्को तथाकथित ‘रोकथामे’ युद्धको ढोका खोल्यो र संसारभरका जनतामाथि निगरानी बढ्यो । एमनेस्टी इन्टरनेसनलले उनलाई यातनाको सूत्रपात गर्ने कार्यक्रमका एक प्रमुख वास्तुकार भन्यो । त्यस्तै, ब्राउन विश्वविद्यालयको ‘युद्धको मोल’ परियोजनाले सेप्टेम्बर ११ पछि पालैपालो भएका युद्धमा भएको ९ लाखभन्दा बढी मान्छेको हत्या र सयौँ खर्ब डलर खर्चको लागि उनलाई जिम्मेवार ठह¥यायो । नागरिक अधिकारहरूमा आएको ¥हास र इतिहासमै नभएको विध्वंस चेनीले छोडेको अपुताली हो ।
बुद्धिमत्ताबाट अघिसरा
सन् १९९१ मा खाडी युद्ध भयो । त्यो बेला सद्दाम हुसेनलाई सत्ताच्युत गर्नुपर्ने आवाज उठेको थियो । रक्षामन्त्री डिक चेनी र अमेरिकी सेनापति कोलिन पावेलले प्रतिवाद गरे । चेनीको जवाफ थियो – बगदाद सहर कब्जा गरे अमेरिकाले इराक नै कब्जा गर्नुपर्नेछ र त्यो स्थितिमा इराकको भौगोलिक अखण्डता धरापमा पर्नुका साथै ठुलो सङ्ख्यामा मान्छेको ज्यान जानेछ । सन् १९९४ मा पीबीएस ‘फ्रान्टलाइन’ लाई दिएको अन्तर्वार्तामा उनले भने, “त्यति पर गए अक्करमा परिनेछ ।” उनले ‘एकजना सद्दामको बदलामा कति अमेरिकीले ज्यान गुमाउने त’ भनी प्रतिप्रश्न गरे । यति बोल्ने बुद्धिमत्ता सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको जुम्ल्याहा भवनमा भएको हमलापछि चैट भयो । हमलाको केही दिनमै उपराष्ट्रपति चेनीले नयाँ चरमपन्थी नीति ल्याए । उनले एनबीसीको ‘मिट द प्रेस’ मा अमेरिकाले ‘अँध्यारोमा’ काम गर्नुपर्ने, छायाँमा समय बिताउनुपर्ने र आफ्नो लक्ष्य हासिल गर्न ‘सकेको जुनसुकै माध्यम’ अपनाउनुपर्ने बताए । चेनीका सल्लाहकार डेभिड एडिङ्टन र न्याय मन्त्रालयका अधिवक्ता जोन यू र जे बाइबीले एउटा स्मृतिपत्र खेस्रा गरे । त्यसमा आतङ्कवादविरुद्ध युद्धमा पक्राउ परेका बन्दीहरूको हकमा जेनिभा अभिसन्धि लागु नहुने तर्क गरे । विदेश मन्त्रालयका कानुनी सल्लाहकारले राष्ट्रपतिले जेनिभा अभिसन्धि निलम्बित गर्न सक्छन् भनी दाबी गर्नु कानुनी रूपमा गलत हो र सयौँ वर्षको अमेरिकी नीति उल्ट्याउनु हो भनी सचेत पारे । तर, चेनी पेलेरै अघि बढे । उनले ‘वासीङ्टन टाइम्स’ पत्रिकासँग आफूले अमेरिकी गुप्तचर निकाय सीआइएलाई गोप्य कारागार चलाउन आदेश दिइसकेको बताए । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आफूले सीआइएलाई केरकार गर्न र यातना दिन अनुमति दिइसकेको बताए । सन् २००६ मा उनले यातना
(वाटर बोर्डिङ) ले ‘दिमागहीन’ पार्ने बताए । सन् २००९ मा उनले ‘हामीले अनुमति दिएका नीतिको’ अभ्यास भइरहेको बताए । (टिपोट : ‘वाटर बोर्डिङ’ मा व्यक्तिलाई सुताएर लुगाले उसको अनुहार छोपी पानी खन्याइन्छ र सास फेर्न नपाएर ऊ छटपटाइरहेको बेला जस्तोसुकै अपराध पनि कबुल गर्न लगाइन्छ ।)
यातना र कानुन–मिचाइ
उपराष्ट्रपति चेनीले ‘वाटर बोर्डिङ’ को पक्ष लिए । तर, उनले के बिर्से भने अमेरिकी र अन्तर्राष्ट्रिय कानुन दुवैले यसलाई धेरै अघिदेखि यातनाको विधि मानेका छन् । एमनेस्टी इन्टरनेसनलले एउटा रोचक कुरा उल्लेख गरेको छ । टोकियो युद्ध अपराध गरेको विषयमा बसेको टोकियो इजलासमा अमेरिकी पाइलटहरूमाथि ‘वाटर बोर्डिङ’ गरेको भनेर जापानी अधिकारीहरूलाई सजाय सुनाइएको थियो । अमेरिकी अदालतहरूले समेत कारागारमा यो विधि अपनाएको हुनाले कतिपय प्रहरीलाई सजाय सुनाएको नजिर छ । एमनेस्टीले ‘वाटर बोर्डिङ’ एकप्रकारको यातना हो भन्ने कुरामा ‘विवादै नरहेको’ बतायो । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको निष्कर्ष थियो – आक्रामक केरकार गर्ने विधि प्रयोग गर्न आदेश दिनुले बन्दीलाई भौतिक दबाब दिनु वा उसको मानमर्दन गर्नु स्वीकार्य छ भनी सन्देश दियो । एमनेस्टीले चेनीलाई ‘यातना दिने नीतिका एक प्रमुख वास्तुकार’ भन्यो ।
चेनीले यातनाको कार्यक्रम चलाएकोमा आफ्नो कानुनी बचाउ गरे । तर, उनको बचाउ गर्दा उनले कानुनको अपव्याख्या गरे । उनले न्याय मन्त्रालयको धारणालाई बङ्ग्याएर प्रस्तुत गरे । ‘वाटर बोर्डिङ’ गर्ने जापानीहरूलाई कहिल्यै सजाय नदिइएको भनी झूट बोले । बन्दीहरू सुध्रिएको कुरालाई बढाइचढाइ गरे । जेनिभा अभिसन्धिले बन्दीलाई कुनै अधिकार नदिएको दाबी गरे । सद्दाम हुसेन र अल–कायदाबिच साँठगाँठ भएको अप्रमाणित दाबी फलाकिरहे ।
बगदाद र युद्धको बाटो
सन् १९९४ मा चेनीले इराक युद्ध नगर्न चेतावनी दिएका थिए । नौ वर्षपछि उनी त्यो युद्ध गर्नैपर्छ भन्ने सरकारका प्रवक्ता बने । उनले सन् २००३ को मार्च १६ मा सद्दामले ‘फेरि आणविक हतियार बनाएको’ घोषणा गरे र युद्ध गरे अमेरिकीहरूलाई मुक्तिदाता भनेर स्वागत गरिनेछ भने । यी दाबी झूटा ठहरिए । उनले जोड दिएर इराकमा नरसंहारकारी हतियार भएको र अल–कायदासँग उसको हिमचिम रहेकोमा ‘शङ्का गर्नु नपर्ने’ भने । त्यो दाबी पुष्टि गर्ने प्रमाण नै थिएन । अवकाश प्राप्त अमेरिकी कर्नेल लरेन्स विल्कर्सनले पछि इराकमाथिको आक्रमणलाई सही ठह¥याउन अमेरिका सरकारले खुफिया जानकारी तोडमोड गरेको आरोप लगाए । जेनिभा अभिसन्धिलाई बेवास्ता गर्न चेनीले जोडबल गरेको हुनाले उनलाई युद्धअपराधी करार गर्न सकिने बताए ।
चेनीको चरमपन्थी तरिका इराकमा मात्र सीमित भएन । उनले ‘एकल कार्यकारी’ सिद्धान्तमा महारत हासिल गरे । कार्यकारी कामको छिनोफानो राष्ट्रपतिले मात्र गर्न सक्छ भन्ने अमेरिकी मान्यता भत्काए । कानुनका विज्ञ मार्टिन लेडरमानको बुझाइअनुसार चेनीले सेना र गुप्तचर निकायमा देखिएका विपक्षी विचारलाई रद्दीको टोकरीमा फाले । ‘ज्याकोबिन’ पत्रिकामा चिप गिब्बन्सले चेनीलाई युद्ध, अनिश्चितकालीन थुना, बिनाअनुमति निगरानी र यातनाजस्ता एजेन्डा बोकेका प्रजातन्त्रका शत्रु भने ।
मानवीय क्षति : युद्ध, मृत्यु र स्थायी निगरानी
चेनीले ल्याएका नीतिहरूका कारण मारिने मानिसहरूको सङ्ख्या ठुलो छ । ब्राउन विश्वविद्यालयको ‘युद्धको मोल’ परियोजनाअनुसार सेप्टेम्बर ११ पछि इराक, अफगानिस्तान, सिरिया, यमन र पाकिस्तानमा गरेर ९ लाख ४० हजारभन्दा बढी मानिस मारिए । तीमध्ये ४ लाख ३२ हजार त सर्वसाधारण मात्र थिए । त्यस्तै परोक्षरूपमा मारिनेहरूको सङ्ख्या १० लाखको हाराहारीमा छ । इराकमा मात्रै २९ हजार १९९ वटा बम खसालिएको थियो । यसले गर्दा भारी मात्रामा जनधनको क्षति भयो । सन् २००६ मा गरिएको एक सर्वेक्षणअनुसार त्यहाँ ६ लाख सर्वसाधारण मारिएका थिए । ‘करेन्ट अफियर्स’ पत्रिकाले चेनीको कीर्तिमानलाई ‘सिरियल किलर’ सामुयल लिटलसँग तुलना गरेको छ । पत्रिकाले चेनीको दाँजोमा सामुयल ‘बच्चै थियो’ भनी लेख्यो । चेनीका नीतिहरूको मूल्य रणमैदानमा मात्र चुकाइएन । मिसेस संस्थानका रायन म्याकमेकनले लेखे – संसार न्यायपूर्ण हुन्थ्यो भने चेनीजस्ता व्यक्ति उहिल्यै हराइसक्थे, तिनलाई घृणा गरिन्थ्यो, दुत्कारिन्थ्यो । सेप्टेम्बर ११ पछि अमेरिकाले चलाएका सिलसिलाबद्ध युद्धहरूमा हजारौँ अमेरिकी परिवारले आफ्नो रगत बगाए । लाखौँ अमेरिकीहरूले सरकारलाई कर तिरेर र महँगीको मार खेपेर ती युद्धको खर्च भरे । म्याकमेकनले अमेरिकी जनताले चुकाएको परोक्ष मूल्यको सूची बनाएका छन् । जस्तो, अमेरिकामा पेट्रियट ऐन ल्याइयो, बिनापुर्जी निगरानी बढाइयो, टीएसए गुप्त चेकजाँच रफिसा गुप्तचरीको दुरूपयोग भयो । यी नीति ल्याउने कुनै पनि अधिकारीहरूलाई कठघरामा उभ्याइएन ।
सेनापति पावेलको चीफ–अफ–स्टाफका सदस्य कर्नेल विल्कर्सनले ‘एबीसी न्यूज’ लाई भने, “(बुशको पहिलो कार्यकालमा) व्यवहारतः चेनी नै राष्ट्रपति थिए । यसकारण, उनी युद्ध अपराधको मुद्दा लाग्ला भनी सधैँ डराउँथे ।” ‘वासिङटन पोस्ट’ पत्रिकाले उनलाई ‘यातनाका उपराष्ट्रपति’ भन्यो । विल्कर्सनको भनाइमा जेनिभा अभिसन्धिलाई बेवास्ता गर्न चेनीले गरेको जोडबल आफैमा अन्तर्राष्ट्रिय अपराध थियो । चिप गिब्बन्स जोड दिएर भन्छन् – चेनीले (साना) देशहरूलाई रछ्यानमा झारे, जनअधिकारका कानुनहरू च्यातचुत पारे अनि निगरानी, अपहरण, कैद र यातनालाई कार्यक्रम बनाएर लागु गरे । चेनीले मलजल गरेको दण्डहीनताको संस्कृति अझै हराएको छैन । उनका काला कर्तुतहरूको चाङ लागे पनि राजनीतिज्ञहरूले उनका नीतिहरूलाई समर्थन गरिरहे । चेनीले सीआइएको आततायी केरकार विधिले अन्तर्राष्ट्रिय सन्धि सम्झौता उल्लङ्घन नगरेको झूट फलाकिरहे । उनको मित्र मण्डलीले उनको युद्धपिपासाको पक्ष लिइरहे । यति गर्दा समेत कोही पनि कठघरामा उभिनुपरेन ।
कानुनका प्रोफेसर जियाद मोतालाले ‘अल–जजिरा’ मा चेनीबारे गहन धारणा राखेका छन् । मोतालाले उनलाई २१ औँ शताब्दीको थालनीताका सबैभन्दा विध्वंसक विदेश तथा घरेलु नीतिका वास्तुकार भने । चेनीका नीतिहरूले ‘हत्या र अस्थिरताको लहरो’ तानेको मोताला दाबी गर्छन् । इराक युद्धले मच्चाएको बबन्डर र ‘आतङ्कवादविरोधी युद्ध’ को व्यापक असर आज पनि प्रतिध्वनित भइरहेको छ । चेनीले जे गरे त्यो ‘ट्रम्पले मच्चाएको अस्थीरता र पीडाभन्दा कता हो कता बढी छ’ । इराकमा सङ्ख्या १ देखि १० लाखसम्म साधारणजन मारिएको उनको अनुमान छ । साथै त्यो युद्धले त्यो पूरै भेगमा अस्थिरता ल्यायो । यसले गर्दा आइएसआइएलजस्ता चरमपन्थी समूह खोल्ने बाटो खुल्यो । यसका साथै त्यहाँ हिंसा र विस्थापनको चक्रजस्तै घुमिरह्यो । आज पनि त्यो भेगको स्थिति फेरिएको छैन । युद्धका कारण अमेरिकी अर्थतन्त्रबाट सयौँ खर्ब डलर पानी बगेझैँ बग्यो । हजारौँ अमेरिकी सेनाको मृत्यु भयो । त्योभन्दा धेरै अमेरिकी सैनिक सदाका लागि शारीरिक र मानसिक चोटले ग्रस्त भए । यी युद्धको आर्थिक भार पनि यामानको छ । अमेरिकाले अफगानिस्तान कब्जा गरेको झन्डै बीस वर्षपछि हिसाब लगाउँदा ‘आतङ्कवादविरोधी युद्ध’ मा करिब ८०० खर्ब डलर खर्च भयो । अमेरिकी रक्षा मन्त्रालयको रकम मात्र भएन । विदेश मन्त्रालय, पूर्वलडाकुको उपचार, गृह मन्त्रालय, सुरक्षा कोष र युद्धको लागि लिएको ऋणको ब्याजसमेत जोड्दा माथिको हिसाब निस्किन्छ । ब्राउन विश्वविद्यालयको ‘युद्धको मोल’ परियोजनाकी सहनिर्देशक क्याथरिन लुत्जको भनाइमा अमेरिकी संसद्ले अनुमोदन गर्नुपर्ने केन्द्र सरकारको धेरैजसो खर्च हाल अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हडप्ने गरेको छ । तैपनि, बहुमत सर्वसाधारणलाई यो आँकडाबारे थाहा छैन । पूर्वलडाकुको स्वास्थ्य उपचारमा अमेरिकाले गर्ने खर्च र युद्धले गर्दा हुन गएको वातावरणीय क्षतिको भर्पाइ तिर्न संसारलाई अझै दशकौँ लाग्ने क्याथरिनले बताइन् ।
चेनीले ‘आतङ्कवादविरोधी युद्ध’ को खम्बा बनाएर ‘पेट्रियट ऐन’ ल्याए । त्यसका दफाहरूलाई नवीकरण गर्न आक्रामक अभियान चलाए । सन् २००६ जनवरीमा उनी र राष्ट्रपति बुश मिलेर घरेलु निगरानीका आलोचकहरू र नयाँ कानुनका विरोधीहरूविरुद्ध ‘दुइनाले हमला’ गरे । चेनीले ‘हेरिटेज फाउन्डेसन’ लाई अमेरिकीहरू ‘पेट्रियट ऐन’ बेगर एक दिन पनि बाँच्न सक्दैनन् भने । नागरिक स्वतन्त्रता समूहहरूले ‘पेट्रियट ऐन’ ले संविधानप्रदत्त स्वतन्त्रताको घाँटी रेटी नाटकीय ढङ्गले सरकारलाई निगरानी गर्ने अधिकार दिलाएको तर्क राखे । यो ऐनअन्तर्गत अनुसन्धानकर्मीले नगन्य कानुनी प्रक्रिया पु¥याएका भरमा अनलाइन सञ्चार निगरानी गर्न पाउँछन् । अनुसन्धानकर्मीले अदालतको गोप्य आदेश देखाएर कम्पनीहरूलाई मान्छेले के पढ्दै छन् र कस्ता वेबसाइट हेर्दै छन् भन्ने जानकारी दिन बाध्य पार्न सक्छन् । अमेरिकी सिभिल लिबर्टी युनियनले जनाएअनुसार गोप्य रूपमा लागु गरिएको यो कानुनले न्यायिक छानबिनलाई कमजोर पार्छ र सरकारी एजेन्टहरूलाई बिनाकारण चाहेको व्यवसाय वा सञ्चारका अभिलेखहरू खोस्न अनुमति दिन्छ । उक्त युनियनले सन् २००४ सम्म यी प्रावधानहरूलाई चुनौती दिएर मुद्दा हालेको थियो । सरकारले सो कानुनको दुरूपयोग नभएको झूटो दाबी गरेपछि युनियनले सरकारको निन्दा गर्दै ‘ध्यान भँडुवा’ भनेको थियो । ‘पेट्रियन ऐन’ ले साधारण अमेरिकी जनतालाई विशाल माकुरे जालमा परिणत गर्छ, खुला अभिव्यक्तिमा अङ्कुश लगाउँछ र सरकारी संस्थानहरूलाई महामन्दीमा जस्तो स्वेच्छाचारी अधिकार दिन्छ ।
अभियोगपत्रको मूल्याङ्कन
डिक चेनी पटके साक्षी थिएनन् । बरु उनको बोली र काम दुवै उनीविरुद्धको अभियोगपत्रमा दर्ज गर्न मिल्छ । कुनै बेला उनले इराक कब्जा नगर्ने चेतावनी दिएका थिए । पछि त्यसलाई उल्ट्याएर युद्ध थाल्नका लागि झूटा दाबीहरू गरे । उनले अमेरिकी जनतालाई ‘अँध्यारोमा’ क्रियाशील हुन भने । उनले गोप्य कारागारहरू खोल्न र ‘वाटर बोर्डिङ’ जस्तो आततायी यातना दिन अनुमति दिए । उनले जेनिभा अभिसन्धि मिच्ने गरी कानुनी स्मृतिपत्रको समर्थन गरे । उनले इराकमा नरसंहारक हतियार छ र सद्दाम हुसेनको सम्बन्ध अलकायदासँग छ भनेर जनतालाई छले । उनले संवैधानिक शक्ति सन्तुलनको सिद्धान्तलाई लत्याएर ‘एकल कार्यकारी सिद्धान्त’ अघि बढाए । उनले अघि बढाएका युद्धहरूले गर्दा लाखौँ निर्दोष जनता मारिए र दसौँ लाख मानिस शरणार्थी बने । अर्कोतर्फ अमेरिकी जनतामाथि कडा निगरानी सुरु भयो र नागरिकका मौलिक हकमा कटौती भयो । अमेरिकी राजनीतिको नवरुढीवादी परपम्परामा हुर्किरहेका आधुनिक युद्धअपराधीहरूको नमुना सक्कल डिक चेनीको जस्तो हुन्छ ।
सेप्टेम्बर ११ पछि अमेरिकाले मच्चाएको विध्वंसको दोषजति चेनी एक्लैलाई जान्छ भन्नु गलत हुनेछ । हस्ताक्षर गर्ने व्यक्ति राष्ट्रपति जर्ज डब्ल्यु बुश र बाराक ओबामा थिए । तिनीहरूले युद्ध थाल्ने र निगरानी बढाउने आदेशमा सही गरेका थिए । त्यसको लागि कोष निकासा गर्ने र काम अमेरिकी संसद्ले गरेको थियो भने अमेरिकी अदालतले प्रायः त्यसमा सही थाप्ने गरेको थियो । तैपनि, अमेरिकाको विदेश नीतिमा चेनीको गहिरो छाप थियो भन्नु गलत हुनेछैन । उनी कर्मचारीतन्त्रलाई खेलाउनमा सिद्धहस्त थिए । विरोधी विचारलाई भित्तामा पु¥याउनमा उनी पोख्त थिए । उनले यातनाअघि सरा युद्ध र शासनकलामा कार्यपालिकाको सर्वोच्चतालाई संस्थागत गरे । के अमेरिकाले अझै पनि संसारका विभिन्न सहरहरूमाथि बमबारी गर्दै हिँड्ने, लाखौँ सर्वसाधारणलाई मार्ने र संविधान मिच्ने कलुषित विरासत बोकेका उच्च अधिकारीहरूलाई सम्मान दिनेछ ? विश्वभरि चलाइएको ‘आतङ्कवादविरोधी युद्ध’ ले संसारलाई पहिले भन्दा असुरक्षित र कम स्वतन्त्र बनायो ? के यसप्रकारका युद्ध अपराधीहरूलाई अझै पनि अमेरिकाले मानसम्मान दिइरहनेछ ? डिक चेनीको मृत्युमा यस्ता यावत प्रश्नबारे घोत्लिन जरुरी छ ।
(एनल मोसले इतिहासकार, ज्याज सङ्गीतकार र ‘टेन्थ अमेन्डमेन्ट सेन्टर’ का नीति अध्येता हुन् । उनी ‘एकदम ढिलो भयो’ नामक टीभी कार्यक्रम पनि चलाउँछन् ।
स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply