भर्खरै :

परनिर्भर देशलाई आत्मनिर्भर बनाउन र बचतकर्ताको आर्थिक अवस्था बलियो बनाउन सहकारीले जोड दिनुपर्ने

परनिर्भर देशलाई आत्मनिर्भर बनाउन र बचतकर्ताको आर्थिक अवस्था बलियो बनाउन सहकारीले जोड दिनुपर्ने

काठमाडौँ, २८ कार्तिक । समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको १९ औँ स्थापना दिवस कागेश्वरी मनोहरा नपा – १ को लोकतान्त्रिक सहिद पार्कमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोबार गर्दा भ्रष्टाचारयुक्त पुँजीवादी व्यवस्था टिकाउन सहयोग पुग्ने बताउनुभयो ।
परनिर्भर देशलाई आत्मनिर्भर बनाउन र बचतकर्ताको आर्थिक अवस्था बलियो बनाउन सहकारीले जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहकारी ठगीमा संलग्न हुनेहरूलाई राजनीतिमा अघि बढ्न दिन नहुने बताउनुभयो ।
उहाँले पटक–पटक सरकारमा जानेहरूले देश र जनताको हितमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा काम गर्दा नयाँ पुस्ता विद्रोहमा उत्रिन बाध्य भएको चर्चा गर्दै सही राजनीति र इमानदार राजनीतिक दलले नै देशमा राम्रो बन्दोबस्त ल्याउन सक्ने भएकोले नयाँ पुस्तालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउनुपर्ने धारणा राख्नुभयो ।
भ्रष्टाचारमा लिप्त शासक पार्टीहरूले आफूविरुद्धका गतिविधि रोक्न नै युवा–विद्यार्थीलाई विदेश पलायन हुन बाध्य पारेको स्पष्ट पार्दै अतिथि थापामगरले विदेशी शक्ति र पुँजीको आडभरोसामा चुनाव जितेर देश खोक्रो पार्ने शासक दलहरूका विरुद्ध बहुमत जनता एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीवादी व्यवस्थामा महिला वा पुरुष जो प्रधानमन्त्री भए पनि जनताको दुःख अन्त्य नहुने प्रस्ट पार्दै उहाँले भन्नुभयो, “जनताको सरकार समाजवादी व्यवस्थामा मात्रै सम्भव छ, समाजवादी बन्दोबस्तको निम्ति नेमकिपा निःस्वार्थरूपले देश र जनताको सेवामा निरन्तर सङ्घर्षरत छ ।”
सञ्चालक समितिका सदस्य राजेन्द्र बखुन्छेले सहकारी सदस्यहरूले बचत र ऋणको मात्र कारोबार गरेर संस्था बलियो नहुने बताउनुभयो । उहाँले सहकारीका सदस्यहरूले गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आवश्यक सल्लाह सुझाव दिएर संस्था प्रगतितिर उन्मुख गराउन सहयोग गर्न अनुरोध गर्नुभयो ।
लेखा समितिका संयोजक जितबहादुर खाइतूले संस्थाले सदस्यहरूको हितमा गतिविधि गरिरहेको उल्लेख गर्दै सदस्यहरूलाई आत्मनिर्भर बनाउन आवश्यक तालिमहरू सञ्चालनमा संस्थाले थप गतिविधि गर्ने योजना रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण बखुन्छेँको सभापतित्वमा सम्पन्न स्थापना दिवसमा सावित्री गोसाई र राधेश्याम भुजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *