भर्खरै :

क्युवामा राउलले राष्ट्रपति पद छोड्दै

हवाना, १६ अप्रिल । समाजवादी देश क्युवामा नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया शुरु हुँदैछ । क्युवाको सरकारी रेडियो रिभल्डेले सोमबार जनाएअनुसार बुधबारबाट शुरु हुने क्युवाली राष्ट्रिय सभाको अधिवेशनले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रो पछिको राष्ट्रप्रमुख चुन्नेछ ।
‘क्युवाली गणतन्त्रको राज्य परिषद्ले आफ्नो अधिकार प्रयोग गर्दै राष्ट्रिय सभाको नवौं संसदीय बैठक अप्रिल १८ सन् २०१८ को दिन बिहान नौ बजेबाट हवानास्थित सभामहलमा शुरु गर्ने निर्णय गरेको छ ।’, रेडियो रिभेल्डेले भन्यो ।
तर संसद बैठक कति दिनको हुने कुराको भने कुनै जानकारी बाहिर आएको छैन । गएको मार्च ११ मा सम्पन्न चुनावबाट निर्वाचित ६०५ सदस्यीय वर्तमान राष्ट्रिय सभाको यो बैठकले अर्को नयाँ राष्ट्रपति, प्रथम उपराष्ट्रपति, पाँच जना उपराष्ट्रपति र २३ जना राजपरिषद् सदस्यहरु निर्वाचित गर्नेछ ।
८६ वर्ष उमेरका राउल क्यास्ट्रोले पाँच पाँच वर्षका दुई कार्यकालको सफल नेतृत्वपश्चात यो पटक सो पदका लागि उम्मेद्वार नदिने भएका छन् ।
क्युवाली कम्युनिष्ट पार्टीले नयाँ राष्ट्रपतिबारे कुनै नाम सार्वजनिक गरेको छैन । तर धेरै जना व्यक्तित्वहरुको नाम भने चर्चामा छन् । तीमध्ये वर्तमान प्रथम उपराष्ट्रपति माग्युल डायज–कालन बर्मुडेजको नाम अग्रस्थानमा रहेको समाचार स्रोतहरुले बताएका छन् । माग्युल हाल ५७ वर्षका छन् ।
माग्युल राष्ट्रपति पदमा निर्वाचित भए उनी सन् १९५९ को क्रान्तिपछि जन्मेको पुस्ताका प्रथम राष्ट्रपति बन्नेछन् ।
जोसे रामोन माछाडो भेन्टुराको नाम पनि चर्चामा छ । उनी पार्टीका द्वितीय सचिव हुन् । उनी क्युवाली क्रान्तिको क्रममा सियरा मायस्ट्रामा गुरिल्ला युद्ध लडेका लडाकु हुन् । रामिरो भाल्डेज चर्चामा रहेको अर्को नाम हो । उनी पनि पूर्व गुरिल्ला योद्धा हुन् । यसअघि उनी राजपरिषद्का उपराष्ट्रपति र मन्त्री परिषद् सदस्य थिए ।
क्युवाका १६८ वटा नगर जनसत्ताले विशेष अधिवेशन आयोजना गरेर प्रान्तीय प्रतिनिधिहरु छनौट गर्ने गर्दछ । सन् २००८ मा फिडेल क्यास्ट्रोले सरकारी जिम्मेवारी त्यागेपश्चात राष्ट्रपति बनेका राउल क्यास्ट्रोले दश वर्ष सरकारको नेतृत्व गरिसके ।
उनी आगामी सन् २०२१ मा हुने क्युवाली कम्युनिष्ट पार्टीको अर्को महाधिवेशनसम्मका लागि पार्टी महासचिवमा भने रहिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *