के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
सरकार या सत्तासीन दलका नेताहरूप्रति राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी या विभिन्न पेसामा लागेका व्यक्ति र कर्मचारीहरूको असन्तोष हुनसक्छ । तर, हरेक असन्तोषको निकासको उपाय तोडफोड र आगजनी होइन न त हरेक आन्दोलनलाई दबाउने उपाय गोली ठोकेर मार्नु नै हो । माग पूरा गरिएन भनेर तोडफोड र आगजनी गर्नु र आन्दोलन दबाउने उपाय गोली हान्नु गलत कार्य हो । सरकार या सत्तासीन दलप्रति राजनीतिक दल, समूह या जनताले असन्तोष व्यक्त गर्नु, जनता आन्दोलनमा उत्रनु स्वाभाविक हो । संविधानसभा निर्वाचनताका एक मधेस एक प्रदेश भएन भने देश नरहने, तराईलाई टुक्रा गर्ने र काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्ने चेतावनी दिएका नेता र सांसदहरू अहिले पनि जीवित छन् । यो देशविरोधी तर्क हो; यो देशलाई विखण्डन गर्ने विचार हो । यस्ता नेता, मन्त्री र सांसदहरूले कहिले पनि देश बनाउने र जोगाउने काम गर्दैनन् ।
सरकारविरुद्ध, सरकारको गलत निर्णय र कमी कमजोरीविरुद्ध कुनै दल, समूह, नागरिक समाज या कुनै पेसागत पक्षले सङ्घर्ष गर्न सक्छ† सङ्घर्ष गर्न पाउँछ । माग पूरा गर्नको निम्ति सरकारलाई खबरदारी गर्नुपर्छ । तर, रिसमा तोडफोड र आगजनी गर्नु ठीक होइन । अनि आन्दोलन ग¥यो भनेर सरकारले दमन गर्नु पनि ठीक होइन । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । जनताको कुरा नसुन्ने या समस्या समाधान नगर्ने सरकार र समाधान गरेन भनेर सरकारी या निजी सम्पत्ति ध्वस्त गर्ने काम ठीक होइन । सरकारले आन्दोलनको मर्म बुझेन भनेर, समाधानको उपाय खोजेन भनेर देशको सम्पत्ति ध्वस्त गर्दै गयो भने नेपाल कसरी बन्छ । यसरी सार्वजनिक सम्पत्ति खरानी पार्दै गयो भने देश असफल हुन्छ । त्यसबेला विदेशी शक्ति राष्ट्रको गिद्धेदृष्टि पर्छ; विदेशी चलखेल बढ्न सक्छ, विदेशी हस्तक्षेप हुनसक्छ† विदेशी सेना पसेर यहाँ थप उपद्रो गर्नसक्छ । हरेक सरकार स्थिर भएन भनेर बाह्य हस्तक्षेप हुनसक्छ ।
सरकारले जे गरे पनि सहेर बस्नु ठीक होइन । सरकारको अत्याचार, जनविरोधी, देशविरोधी निर्णय र अनियमितताबारे छ्यास्नुपर्छ; त्यसबारे जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । देशमा आमूल परिवर्तनको निम्ति बाटो तयार गर्नुपर्छ । आन्दोलनको मर्म बुझेन भनेर थप क्षति पु¥याउँदा या सरकारी सम्पत्ति ध्वस्त गर्दा आखिर नोक्सान देश र जनताकै हुन्छ । देश र जनताको सम्पत्ति खरानी पारेर कसलाई फाइदा हुन्छ ? न त्यो आन्दोलनकारीलाई फाइदा हुन्छ न त देश र जनतालाई नै । उचित या सही माग पूरा गर्नुपर्छ । यसमा सन्देह छैन । तर, आन्दोलनकारीलाई उचाल्ने; उत्तेजित बनाउने र आन्दोलनलाई उच्छृङ्खल बनाउने दुस्प्रयास कसैले गर्नु हुँदैन, कसैको उक्साइमा अघि बढ्नु हुँदैन । कसैको उक्साइमा अघि बढ्दा, आन्दोलनभित्र घुसपैठ हुँदा त्यसले नेक्सानबाहेक अर्को केही गर्दैन ।
सरकारको नेतृत्व फेर्न तोडफोड र आगजनी गर्नु आन्दोलनको सफलता होइन । सरकारको नेतृत्व परिवर्तनसँगै बनेको नयाँ सरकारले के ग¥यो ? जनतालाई के राहत दियो ? जनताको के माग सम्बोधन भयो ? समीक्षा गर्नुपर्छ । जनतालाई विश्वास दिलाउने आधार काम हो† आश्वासन होइन । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन बेलाबखत हुन्छ । निर्वाचनसँगै सरकारको हेरफेर पनि भइरहन्छ । देशमा धेरैपटक निर्वाचन भयो† सरकारको नेतृत्व पनि हेरफेर भयो । तर, यहाँ कुनै मौलिक परिवर्तन भएन; बहुमत जनताको हितमा ऐन कानुन बनेन । ‘जति जोगी आए पनि कानै चिरेका’ भनेझैँ सरकारको नेतृत्वमात्र फेरिरह्यो† परिवर्तनको कुनै अनुभूति भएन; आन्दोलन सफल पार्न युवा पुस्ता जागेर मात्र हुँदैन† बहुमत जनतालाई बिउँझाउनुपर्छ । नत्र नयाँ निर्वाचित सरकारले आन्दोलनकारी युवा पुस्तालाई दबाउन सक्छ; अनेक आरोपमा पक्राउ गर्न सक्छ; मुद्दा लगाउन सक्छ । फेरि दमन गरेर आन्दोलनलाई दबाउन सक्छ । यसतर्फ हरेक राजनीतिक दल, आन्दोलनरत समूह सचेत र सतर्क हुनुपर्छ ।
Leave a Reply