भर्खरै :

बाल विकास इङ्गलिस स्कूलमा पूर्वशिक्षक भेटघाट कार्यक्रम

बाल विकास इङ्गलिस स्कूलमा पूर्वशिक्षक भेटघाट कार्यक्रम

भक्तपुर, २९ कार्तिक । बाल विकास सेकेन्डरी स्कूलको आयोजनामा शनिबार पूर्वशिक्षक भेटघाट कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा विद्यालयका पूर्वप्रिन्सिपल सरोजराज गोसाईले सर्वसाधारण जनताका छोराछोरीलाई न्यून शुल्कमा अङ्ग्रेजी भाषा सिकाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने र शिक्षाका माध्यमबाट आम जनतामा राजनीतिक सुझबुझ ल्याउने हेतुले स्थापना भएको बाल विकास इङ्गलिस स्कूल आज त्यही मार्गमा अविचलित भएर लागेको पाउँदा अग्रजहरूको सपनाले साकार रुप लिएको धारणा राख्नुभयो ।
उहाँले अङ्गे्रजी भाषा समयको माग भए पनि आफ्नो मातृभाषा भुल्न नहुने विचार व्यक्त गर्दै २/३ कक्षासम्मका विद्यार्थीलाई मातृभाषाका माध्यमबाट शिक्षा दिँदा प्रभावकारी हुने धारणा राख्नुभयो ।
उहाँले इतिहासको सम्मान गर्नु भनेको आफै सम्मान गर्नु सरह भएकोले यस्तो कार्यक्रमले बाल विकासको प्रतिष्ठा झन् बढाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले पुराना शिक्षकहरूबाट नयाँ शिक्षकले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले सरकारले शिक्षा, स्वास्थ्यजस्ता राज्यका दायित्वका कुरामा ध्यान नदिँदा बाल विकासजस्ता विद्यालय आवश्यक परेको बताउँदै बाल विकासले समाज र युग सुहाउँदो शिक्षा दिइरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले एक्लै अघि बढ्न खोज्ने व्यक्ति वा संस्थाको लामो समयसम्म अस्तित्व रहिरहन नसक्ने धारणा राख्दै बाल विकास आजको अवस्थामा पुग्नुमा पूर्वशिक्षक तथा अन्य सबैको सामूहिक भावनाको परिणाम हो भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुदायिक विद्यालय मर्ज गर्ने सरकारी नीतिको विरोध गर्दै देशभर बाल विकासजस्ता विद्यालय आवश्यक भएको बताउनुभयो । उहाँले जुन देशमा राम्रा विद्यालय हुन्छन् त्यो देशमा जेल आवश्यक नपर्ने मान्यता रहे पनि नेपालमा उल्टो अवस्था रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले शिक्षकले राजनीति गर्नुहुँदैन भन्ने विचार प्रजातन्त्रविरोधी विचार भएको बताउँदै विद्यार्थीलाई देशभक्त र देश र जनताको सेवा गर्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका अर्का पूर्वप्रिन्सिपल हिमालयश्वर लाल मूलले शिक्षाको जिम्मा पूर्णरूपमा सरकारले लिन सकेमात्र आम जनताका छोराछोरीले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।
उहाँले शिक्षकहरूमा अनिवार्य रूपमा पाठ्यक्रमको ज्ञान हुनुपर्ने धारणा राख्दै शिक्षण सिकाइलाई पाठ्यपुस्तक र कक्षाकोठामा सीमित गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले क्रियाकलापकेन्द्रित सिकाइमा जोड दिँदै चीन, जापान, नर्वेजस्ता देशहरूबाट नेपालका विद्यालयले धेरै कुरा सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्वशिक्षक तथा पूर्वविद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुगोपाल कुसीले भक्तपुरका अग्रजहरूले फोहर सफा गर्न सफाइ अभियान, अशिक्षित जनतालाई शिक्षित बनाउन टोलटोलमा वाचनालय, पुस्तकालय, प्रौढकक्षा तथा विद्यालय स्थापना गर्ने क्रममा बाल विकासको स्थापना भएको कुरा स्मरण गर्नुभयो ।
उहाँले शिक्षकहरू अज्ञात क्रान्तिकारी हुन्’ भन्ने किम जोङ इलको भनाइ स्मरण गर्दै सबै शिक्षकहरू जहाँ जहाँ कार्यरत हुनुहुन्छ, त्यहाँ–त्यहाँबाट समाज र देशप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कक्षामा फरक–फरक पृष्ठभूमि, सोच, क्षमता र वातावरणका विद्यार्थी हुने भएकोले त्यो विविधतालाई बुझेर शिक्षण गर्न शिक्षकहरूलाई सल्लाह दिनुभयो ।
कार्यक्रममा अर्का पूर्वप्रिन्सिपल बलराम प्रजापतिले समाजका अग्रजहरूले समाजमा गरिब जनताका छोराछोरीलाई अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने उद्देश्यले बाल विकास स्कूल स्थापना भएको कुरा बताउँदै स्थापना कालमा समाजविरोधी तत्वहरूले यस विद्यालयको नाम नै निमिट्यान्न पार्न लागेको स्मरण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकद्वय सीतालक्ष्मी प्रजापति र शङ्कर आचार्यले पनि मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्वय सुलोचना छ्वाजु र विजेश्वरी फैजूका साथै विद्यालयको सङ्गीत टीमका सुमन गैंडा र रियाज बासुकलाले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वशिक्षिका मनिषा श्रेष्ठको शुभकामना अणु बोहजु र पूर्वचिनियाँ भाषाका शिक्षिकाको शुभकामना मञ्जु श्रेष्ठले वाचन गर्नुभयो ।
सृष्टि प्रधानले शुभकामना मन्तव्य दिएको कार्यक्रममा विद्यार्थीहरूको नृत्य पनि प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा पूर्वशिक्षकहरूलाई खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *