नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, ४ मङ्सिर । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ४४१ जना व्यवसायीहरूले सेवा प्राप्त गरेका छन् ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले जिल्लास्थित भक्तपुर नगरपालिकाका ४ स्थानमा कार्यालय राखेर गत सोमबारदेखि नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । वडा नं. ४ स्थित टुरिजम मार्केट परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा ९६ जना व्यापारी तथा व्यवसायीहरूले आआफ्ना नापतौलका सामग्रीहरू दर्ता तथा नवीकरण गरेको सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताउनुभयो ।
उहाँका अनुसार मङ्गलबार वडा नं. १० स्थित कमलविनायक बिगमार्ट परिसरमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १५७ जना, बुधबार वडा नं. ३ स्थित खौमाबाट ८० जना र बिहीबार वडा नं. ७ स्थित इनाचोबाट १०८ जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए ।
मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरी कार्तिक २७ गते मध्यपुर थिमी नपा वडा नं. ३ कार्यालय परिसर, कार्तिक २८ गते नयाँठिमीस्थित यचु पार्टी प्यालेस र कार्तिक ३० गते मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी परिसरबाट गरी २३४ जना व्यापारी, व्यवसायीहरूले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरण गराएका थिए ।
सङ्घकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डोर कार्यक्रमबाट स्थानीय व्यापारी, व्यवसायीहरू आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताउनुभयो । उहाँले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू काठमाडौँ पुगेर नापतौलका सामग्री दर्ता तथा नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्त भएको भन्दै आगामी वर्षहरूमा पनि जिल्लामै नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि डोर कार्यक्रम सञ्चालन गर्न सङ्घले पहल गर्ने बताउनुभयो ।
यसैबीच, सूर्यविनायक नगरपालिका र सङ्घको सहकार्यमा आगामी आइतबार र सोमबार सूर्यविनायक नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार सूर्यविनायक नगरपालिका वडा नं. २ को बालकोट चोकस्थित बालकोट साकोट प्राङ्गणमा र सोमबार वडा नं. ६ को सूर्यविनायक चोकस्थित लक्ष्मी मिठाइ भण्डार अगाडि कार्यालय डोर कार्यक्रम सञ्चालन हुने सङ्घले जनाएको छ ।
Leave a Reply