भर्खरै :

पुरानो दलको विकल्प नयाँ दल होइन

पुरानो दलको विकल्प नयाँ दल होइन

निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० सम्म निर्वाचन प्रयोजनको लागि दल दर्ताको सीमा निर्धारण गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले दल दर्ता गर्ने सूचना जारी गरेको हो । दल दर्ता गर्ने क्रम चालु छ । निर्वाचन आयोगमा दल दर्ता गरेर निर्वाचनमा भाग लिने या उम्मेदवारी दिने प्रजातान्त्रिक अधिकार हो । यो भन्दा अघि दर्ता गरेका सबै दल पुराना र हाल दर्ता भएका सबै दल नयाँ भनी बुझ्ने मत पनि देखिएको छ । दल पुरानो होस् या नयाँ निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्छ । तर, पुराना दल सबै गलत र नयाँ दल सबै सही भनी प्रचार गर्नु र विश्लेषण गर्नु ठीक होइन । सवाल दल पुरानो र नयाँको होइन । पुरानो र नयाँ दलको सिद्धान्त, विचार या दृष्टिकोण के हो ? कुन दलले कुन वर्गका जनताको सेवा गर्छ भन्ने महत्वपूर्ण प्रश्न हो । पुराना दल गलत र नयाँ दल ठीक भन्ने कुरा कसैले सोच्नु ठीक होइन । निर्वाचन आयोगमा धेरै दल दर्ता भएका छन् । त्यसमध्ये कुन दल ठीक भन्ने ? पुराना दलमा पनि देश र जनताको निम्ति काम गर्ने दलहरू छन् । सरकारमा पुगेका पुराना दलहरूले देश र जनताको पक्षमा काम गर्न नसकेको यथार्थ हो । पुराना दलमध्ये धेरै दलहरू सरकारमा सामेल भए भने कति दल सरकारमा सहभागी भएका छैनन् । सरकारमा पुगेका दल र सरकारमा सहभागी नभई देश र जनताको पक्षमा सदन र सडकमा आन्दोलनरत दललाई एकै कोटीमा राख्ने र एकै नजरले हेर्ने दृष्टिकोण ठीक छैन ।
जनताको असन्तुष्टि सरकारमा रहेका दलहरूप्रति हो । जनताको चाहनाअनुसार शासकहरूले काम गर्न नसकेको जनताको गुनासो हो; युवाहरूको गुनासो हो । सत्तारूढ दलहरू सिद्धान्तहीन गठबन्धनमा लागेको, विचार र सिद्धान्त नमिले पनि सरकार भागबन्डामा लागेको र सत्ता र पदको दुरूपयोग गरी भ्रष्टाचार र अनियमितता गरेको, भ्रष्टाचारीहरूलाई कारबाही नभएकोले जनता असन्तुष्ट भएका हुन् । सरकारप्रति असन्तोष पोख्नु या असन्तुष्टि जनाउनुको अर्थ सबै दलप्रतिको असन्तुष्ट होइन । शासकहरूले सरकारको पूरा कार्यकाल सञ्चालन गर्न नसकेको अर्को यथार्थ हो । सरकार सञ्चालनको क्रममा आफ्नो दलको सिद्धान्त र विचार बन्धक राखेर सरकारमा गएको पनि यथार्थ हो । भागबन्डामा लागेको कारण सरकारले दिशा निर्देश गर्न नसकेको पनि हो । दलहरू मिलेर सरकार गठन भए पनि सत्तारूढ दलभित्र अन्तरकलह भएर, विवाद चर्केर सरकारको नेतृत्व हेरफेर भएको हो । नेका सम्मिलित एमालेको नेतृत्वमा बनेको सबभन्दा शक्तिशाली सरकार पनि असन्तोषकै कारण ढलेको हो । सत्तारूढ दलको कमीकमजोरी अरू दलमाथि थोपर्नु बुद्धिमानी होइन । हो, सरकारको कमी कमजोरी औँल्याउनुपर्छ । अहिले सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारको पनि कमजोरी देखिन थालेको छ । सरकारले हचुवाको भरमा निर्णय गरेको कारण अदालतले सरकारको निर्णयलाई अस्वीकृत गर्दै आएको छ । त्यही भएर जेन–जीको कारण बनेको वर्तमान सरकारलाई जेन–जीकै अगुवाहरूले राजीनामा माग गर्न थालेका छन् ।
पुरानो दलको विकल्प नयाँ दल होइन । नयाँ दल पनि धेरै देखिए । कुन दलको के सिद्धान्त र विचार छ, बुझ्नुपर्छ । दल रहरले खोल्ने होइन । दलको मार्गनिर्देशक सिद्धान्त हुनुपर्छ । हरेक दलको अल्पकालीन र दीर्घकालीन लक्ष्य हुन्छ । यसभन्दा अघि पनि केही नयाँ दलहरू देखिए । सुरूमा नयाँ दलप्रति युवाहरूले चासो देखाए, केही सांसद सीट पनि जिते । तर, त्यो नयाँ दलको नेतृत्वप्रति नै संशय भयो, विवाद देखियो । त्यस दलका कति नेताहरूले पार्टी पनि छोडे । ती नयाँ दलले पनि स्पष्ट मार्गनिर्देश गर्न सकेनन् । कुनै दल या समूहले भ्रष्टाचारको विरोध गर्नु ठीक हो । तर, भ्रष्टाचारको विरोध गर्दैमा त्यो दल हरेक हिसाबले सही हुन्छ भन्ने होइन । दलको लोकप्रियताको निम्ति हल्ला गर्ने, हल्ला गरेकै भरमा जनताको मत लिने तरिका पनि सही होइन । कुनै दलका नेताले राम्रो र आकर्षक भाषण गर्दैमा त्यो दल ठीक हुन्छ भनी सोच्नु पनि सही होइन ।
हो, संविधानले राजनीतिक दल गठन गर्ने अधिकार दिएको छ । संवैधानिक व्यवस्थाअनुसार नै दलहरू दर्ता भएका छन् । हाल निर्वाचन आयोगमा दर्ता भएका दलहरूको आयोगले छानबिन गरिरहेको छ । आयोगमा दर्ता भए पनि सबै दलले औपचारिक मान्यता पाएका छैनन् । दर्ता भएका दलको नाम हेरेर जनताले मूल्याङ्कन गर्ने होइन† जनताको विश्वास जित्ने आधार दलको नाम होइन काम हो, व्यवहार हो, सिद्धान्त हो, विचार हो । जनताले नयाँ दल भनेर आँखा चिम्ली समर्थन गर्ने होइन, पुरानो दल भनेर सबै दललाई उही नजरले हेर्ने होइन । पार्टी स्थापनादेखि सरकारमा सामेल नभइकन देश र जनताप्रति समर्पित र जिम्मेवार भई काम गरिरहेका दलको योगदान नेपाली जनताले भुल्नु हुँदैन । निःस्वार्थ र इमानदारीपूर्वक काम गरिरहेका दल र दलका नेताहरूको योगदान भुल्नु हुँदैन । देशमा सुशासन कायम गर्न नसकेका, भ्रष्टाचारीहरूलाई कारबाहीको सट्टा बढुवा दिने, अकुत सम्पत्ति कमाउने, देशमा भइरहेको अतिक्रमण र थिचोमिचोको विरोध नगर्ने दललाई भने जनताले इन्कार गर्नुपर्छ† निर्वाचनमा पराजित गर्न जनताले साथ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *