भर्खरै :

घाटाको बहानामा कलकारखाना निजीकरण गर्नु देशघात

घाटाको बहानामा कलकारखाना निजीकरण गर्नु देशघात

भन्सार विभागले चालु आवको पहिलो चार महिना (साउनदेखि कार्तिक मसान्तसम्म) को आयात–निर्यातको तथ्याङ्क मङ्सिर ७ गते आइतबार सार्वजनिक ग¥यो । तथ्याङ्कअनुसार यस वर्ष ६ खर्ब ९ अर्ब ४५ करोड रुपियाँको वस्तु आयात भयो भने ९३ अर्ब ४९ करोड रुपियाँको निर्यात भयो । यस वर्षको पहिलो चौमासिकमा मात्र ५ खर्ब १५ अर्ब ९५ करोड रुपियाँ व्यापार घाटा पुग्यो भने हालसम्मको व्यापार घाटा ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपियाँ पुग्यो ।
व्यापार घाटा बढ्नुको मुख्य कारण अधिक मात्रामा पेट्रोलियम पदार्थको आयात नै हो । ३१ अर्ब ८९ करोड १५ लाख रुपियाँको डिजेल, २२ अर्ब ३७ करोड रुपियाँको पेट्रोल, १८ अर्ब ८ करोड ३६ लाख रुपियाँको एलपी ग्यास गरी जम्मा ७२ अर्ब ३४ करोड ५१ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भयो ।
नेपाल जलस्रोतमा विश्वका धनीहरूमध्येकै एक देश भए पनि आजसम्मका सरकारले देशको हितमा उपयोग नगर्दा व्यापार घाटा बढ्दै छ । शासक दलहरूले कोशी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली, अरुणलगायतका नदीमा देशको हितविपरीत सम्झौता गरे । जलस्रोतमा धनी देश नेपालले भारतसँग महँगोमा बिजुली किनेर बाल्नुपर्ने बाध्यता छ ।
पहिलो चौमासिकमा ३७ अर्ब ९६ करोड रुपियाँको कच्चा सोयाबिन तेल, १७ अर्ब १५ करोड रुपियाँको रासायनिक मल, १० अर्ब १७ करोड रुपियाँको कच्चा आइरन र स्टीलका वस्तु आयात गरियो ।
विलासी वस्तुको आयात बढ्दा पनि व्यापार घाटा बढ्दो छ । ९ लाख ४३ हजार ८ सय २६ थान स्मार्टफोन आयात गर्दा १६ अर्ब १५ करोड १८ लाख रुपियाँ, ३ हजार २ सय ३० थान चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात गर्दा ४ अर्ब ६८ करोड ८९ लाख रुपियाँ, एक लाख ६१७ युनिट बाइक तथा स्कुटर आयात गर्दा १२ अर्ब ६४ करोड ८३ लाख रुपियाँ, १५ लाख ७७ हजार ग्राम सुन आयात गर्दा १५ अर्ब ७२ करोड रुपियाँ, चाँदी आयातमा १५ अर्ब ७२ करोड रुपियाँ देशले घाटा ब्यहो¥यो ।
नेपालले ४५ अर्ब १४ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, ४४ अर्ब ७० करोड रुपियाँको तेल तथा घिउजन्य वस्तु, ९ अर्ब ९३ करोड रुपियाँको धागो, ५ अर्ब ९१ करोड रुपियाँको चिया, कफी तथा मसला निर्यात गरेको छ । स्वदेशमै भएको कच्चा वस्तुबाट सामान उत्पादन गर्ने उद्योगहरू निजीकरण नगरिएको भए यस्तो व्यापार घाटा ब्यहोर्नुपर्ने थिएन ।
तीनतर्फ सिमाना जोडिएको भारतसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा छ । पहिलो चौमासिकमा भारतबाट ३ खर्ब ३७ अर्ब रुपियाँको वस्तु आयात गर्दा ७६ अर्ब ५० करोड रुपियाँको वस्तु निर्यात ग¥यो । अर्को छिमेकी देश चीनसँग १ खर्ब ३२ अर्ब रुपियाँको वस्तु आयात गर्दा २९ करोड रुपियाँको वस्तु मात्र निर्यात ग¥यो । सरकारले भन्सार उठाउनकै लागि विदेशबाट आवश्यकताभन्दा बढी बाइक तथा स्कुटर, गाडी, पेट्रोलियम पदार्थ आयात गरिरहेको छ ।
देशमा कलकारखाना स्थापना गरी युवालाई स्वदेशमै रोजगारी दिनेतर्फ आजसम्मका सरकार अघि बढेनन् । वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले पनि घाटाको बहानामा राज्य मातहतका कलकारखाना निजीकरण गर्ने घोषणा ग¥यो । सुशासन कायम गर्न गठन भएको दाबी गर्ने सरकारले राज्य मातहतका कलकारखाना निजीकरण गर्नु देशघात हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *