दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
राजनीतिक रूपले सामन्तवाद अन्त्य भए पनि यहाँ अझै सामन्त, शोषक, जालीफटाहा, प्रतिक्रियावादीहरू छन् । पुँजीपति र श्रमजीवीवर्गमाथि शासन गर्ने सामन्तवाद अन्त्यपछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सामन्तवाद या राजतन्त्रात्मक व्यवस्था अन्त्य भए पनि व्यवहारतः राजावादीहरू अन्त्य भएका छैनन् । अहिले राजाभन्दा राजावादीहरूको चलखेल बढ्न थालेको छ । उनीहरू देशमा राजतन्त्र आवश्यक छ भनी बेलाबखत आन्दोलन गर्दै छन् । राजा फर्काउन चाहने दल र दलका नेताहरू सामन्तका प्रतिनिधिहरू नै हुन् । उनीहरू संवैधानिक राजतन्त्रको निम्ति लागिपरेका छन् । २०६२/६३ सालको आन्दोलनले राजतन्त्र अन्त्य गरिसकेको हुँदा फेरि राजतन्त्र फर्काउने कदम प्रतिगामी हो । प्रतिगामी कदम जनताको निम्ति स्वीकार्य छैन ।
नचाहेरै जनताले राजतन्त्र फालेका हुन् । जनताले फालेको राजतन्त्रलाई फेरि फर्काउने कुरा मनासिब हुँदैन । राजतन्त्र आवश्यक नभएको कुरा तत्कालीन राजाले स्वीकारेको यथार्थ हो । राजतन्त्र अन्त्य हुनुमा राजाको मात्र होइन राजावादी दलहरूको पनि हात छ । संवैधानिक राजतन्त्रको व्यवस्था तोड्दै राजाले प्रत्यक्ष शासन गरे । यसको कारण राजतन्त्र अन्त्य भयो र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भयो । अहिले राजावादीहरू गणतन्त्र र सङ्घीय व्यवस्थाविरूद्धको आन्दोलनमा छन् । उनीहरू सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, सङ्घीयताविरोधी र गणतन्त्रविरोधीहरू एक ठाउँमा उभिनुपर्छ र सडकबाटै राजा फर्काउने तयारीमा जुटेका छन् ।
जनताले ३० वर्षसम्म पञ्चायती व्यवस्थालाई हेरेकै हुन् । निरङ्कुश पञ्चायती व्यवस्थामा दल खोल्ने स्वतन्त्रतासमेत थिएन । पञ्चायती व्यवस्थाको विरोध गर्ने या राजनीतिक र मौलिक हक अधिकारको निम्ति लड्ने दल र दलका नेताहरूलाई जाली मुद्दा लगाउने, कोचीकोची जेलमा हाल्ने, शारीरिक र मानसिक यातना दिनेमात्र होइन राजद्रोहको मुद्दा लगाएर फाँसीको माग गर्ने राजावादीहरू अहिले देश आन्तरिक द्वन्द्वमा फसिरहेको बेला मौकाको फाइदा उठाउँदै आन्दोलन गर्ने उद्घोष गरिरहेका छन् । जेन–जी आन्दोलनले बनेको सुशीला कार्कीको सरकारको राजीनामा माग आन्दोलनरत युवाले नै गरिरहेको भन्दै राजावादीहरू राजा फर्काउने भनी जुट्दै छन् ।
जेन–जीको आन्दोलन र आन्दोलनपूर्व पनि नेपालमा बेलाबखत विदेशी चलखेल नभएको होइन । अरू समयमा भन्दा देशमा आन्तरिक कलह चर्केको बेला विदेशी चलेखल बढेको देखिन्छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्न आन्दोलन गर्ने जेन–जीका युवाहरू ‘फ्रि तिब्बत’ अभियान, ‘हामी नेपाली’ र ‘बारबरा फाउन्डेसन’सँग सम्बन्धित भएको खबर सञ्चारमाध्यममा आएकै हो । ‘फ्रि तिब्बत’ र बारबरा फाउन्डेसनको पछाडि साम्राज्यवादी देश अमेरिकाको हात छ । अमेरिकाकै आर्थिक सहयोगमा चलेको विदेशी सङ्घ संस्थाले नेपालको कहिले पनि हित गर्दैन । तिब्बती धर्मगुरु दलाई लामाको दूतले नेपाली नागरिकता लिएको घटना सेलाउन नपाउँदै उनका अर्का प्रतिनिधिको पनि नागरिकता विवाद सतहमा आएको छ । ‘फ्रि तिब्बत’ अभियानमा संलग्न तेम्बा युङथुङ लामाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट नेपाली नागरिकता लिएको खबर प्रकाशमा आयो ।
यसरी नै जन्मको आधारमा भारतीय नागरिकहरूले पनि वंशजको आधारमा नेपाली नागरिकता लिएका छन् । विदेशी नागरिकले नेपाली नागरिकता लिएपछि देशको भविष्य के होला ? चिन्ताको विषय छ । तराईमा भारतीय नागरिक नेपाली नागरिक बनेको सङ्ख्या लाखौँ पुगेको खबर उहिले नै सार्वजनिक भएको हो । विदेशी नागरिकहरू नेपालमा बढेपछि या विदेशी नागरिकहरू नेपाली बनेपछि यहाँ विदेशी चलखेल हुनु स्वाभाविक हो । पुँजीवादको अन्त्य गरी समाजवाद स्थापना गर्नुअघि सर्नुपर्ने बेला देशमा प्रतिगामी शक्ति र विदेशी चलखेल देखापर्नु नेपालको प्रजातान्त्रिक व्यवस्थाको निम्ति चुनौती हो । देशका सामन्त, प्रतिक्रियावादी, जालीफटाहाहरू नेपाली जनताको शत्रु भएझैँ भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद पनि शत्रु हुन् ।
विगतमा सामन्तहरूले बहुमत जनताको हित गरेनन् । पुँजीपतिहरूले पनि श्रमजीवी जनताको सेवा गरेनन् । पुँजीपतिहरूले श्रमिक जनतामाथि शासन गरेर शोषण गरे गरिरहेका छन् । सामन्तवादको अन्त्यपछि बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाका सरकारहरू पनि शोषित–पीडित जनताको पक्षमा लागेनन्; उनीहरूको हितमा ऐन कानुन बनाएनन् । यसकारण, बहुमत जनताको पक्षमा शासन गर्न र गराउन देशमा समाजवादी व्यवस्था आवश्यक छ । समाजवादी व्यवस्थाको निम्ति देशका सबै कम्युनिस्टहरू समाजवादी क्रान्तिको परिस्थिति तयार गर्न लाग्नुपर्छ । कम्युनिस्ट भनिने दलहरूले पुँजीवादी राजनीति होइन समाजवादी राजनीति गर्नुपर्छ; समाजवादी व्यवस्था ल्याउनको निम्ति पूर्वाधार तयार गर्नुपर्छ । जनतामा पुँजीवाद र समाजवादको भेदबारे जानकारी दिँदै श्रमजीवी जनतालाई सचेत र सङ्गठित गर्नु आवश्यक छ ।
Leave a Reply