सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
प्रत्येक वर्ष देशमा रासायनिक मलको अभाव हुन्छ । कृषिप्रधान देशमा रासायनिक मल अभाव हुनु भनेको सरकारको कमजोरी हो । खेतीपातीको लागि आवश्यक रासायनिक मल पनि उपलब्ध गराउन नसक्नुको अर्थ कृषिप्रति सरकारको बेवास्ता हो । स्वदेशमै रासायनिक मल कारखाना खोलेर कृषि उत्पादन बढाएर खाद्यान्नमा परनिर्भर बनाउन पहल गर्नुपर्ने सरकारले उल्टो देशलाई परनिर्भर बनाउने, आयात बढाएर देशको सम्पत्ति विदेशमा पु¥याउने काम सरकारले गर्दै छ । अहिले गहुँ छर्ने र तरकारी बाली गर्ने सिजन हो । खेतीपातीको यो सिजनमा देशभर पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्नुपर्ने हो । तर, सोको बन्दोबस्त भइरहेको छैन । यसले विगतको मात्र होइन अहिलेको सरकार पनि कृषकहरूको पक्षमा नरहेको थाहा हुन्छ ।
सरकारको नेतृत्व गर्नु भनेको सिंहासनमा बस्ने र कार्यक्रमको उद्घाटन गर्दै हिँड्ने मात्र होइन । जनताका आधारभूत आवश्यकता पूर्ति गर्न, देशमा आवश्यक स्रोत साधन जुटाएर जनताको जीवनलाई सहज बनाउने वातावरण सरकारले तयार गर्नुपर्ने हो; स्वदेशमै रोजगारीको निम्ति देशका विभिन्न ठाउँमा कारखाना, उद्योगहरू खोल्नुपर्ने हो । देशको विभिन्न ठाउँमा कारखाना नखोलिकन, सन्तुलित विकास नगरिकन युवाहरूलाई कसरी रोजगारीको बन्दोबस्त गर्न सकिन्छ ? देशका युवा जनशक्ति बिदेसिएर देश कसरी विकास हुन्छ ? देशमा भएका स्रोत र साधनको अधिकतम प्रयोग गर्न सरकार लाग्नुपर्छ । देशकै उद्योगीहरूलाई कलकारखाना खोल्न र परिचालन गर्न सरकारले आवश्यक पूर्वाधार तयार गर्नुपर्छ, लगानी गर्ने र सुरक्षित गर्ने वातावरण तयार गर्नुपर्छ । उद्योगमा लगानी गर्न उत्प्रेरित गर्ने र सुरक्षित गर्नेतर्फ सरकारले पाइला चाल्नुपर्छ ।
एकातिर सरकारले खाद्यान्न, तरकारी, फलफूल, अण्डा, मासु आदिमा आत्मनिर्भर बनाउन पहल गर्दैन भने अर्कोतिर देशमा कहिले अतिवृष्टि, कहिले अनावृष्टि, कहिले असिना पानी र कहिले बाढी पहिरोको कारण अन्न बालीमा क्षति भइरहेको छ । कहिले कोरोना, कहिले डेङ्गु त कहिले भूकम्पजस्ता प्राकृतिक प्रकोपले देशको ठुलो धनजनको क्षति पु¥याएको छ । देशमा कहिले आर्थिक सङ्कट हुन्छ; कहिले बेथितै बेचितिको देश बन्छ । देशमा देखिएको आर्थिक सङ्कट, बेथिति र ऋण बोकेको देशले कसरी विकासमा फड्को मार्ला ? सरकारले कसरी देशमा विकासको उचाइलाई बढाउला ?
शासकहरू देश र जनताप्रति जिम्मेवार भए, इमानदारीपूर्वक सबैले आ–आफ्नो पदको जिम्मेवारी निर्वाह गरे जनताको समस्या सहज ढङ्गले हल गर्न सकिन्छ । शासकहरू दूरदर्शी नहुँदा र समस्याको निकास खोजेर हल नगर्दा देशमा समस्याको चाङ बढ्दै गयो । देशमा बेरोजगारको सङ्ख्या बढ्यो । भएको जनशक्ति पनि बिदेसियो । उद्योग तथा कारखानामा हुने तोडफोड र आगजनीले उद्योगी व्यवसायीहरू आत्तिए; असुरक्षित भए । भएका उद्योग कारखानाहरू बन्द भए । देशको निर्यात घट्यो, आयात बढ्यो । व्यापार घाटा भयो । ऋण तिर्न ऋण लिन बाध्य भयो । यी यावत समस्या शासकहरूको बेवास्ता र कमजोरीको कारण भयो । शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लागे । सरकारको आयु बढाउन विचार नमिल्ने दलसँग गठबन्धन भयो । भागबन्डा गरियो । यसको कारण शासकहरूबिच नै शङ्का उपशङ्का बढ्यो; फुटको दूरी बढ्यो । सरकार स्थिर भएन । सरकारले गर्नुपर्ने काम गर्नसकेन । यसकारण, देशमा अस्थिरता देखियो । देश अनिर्णयको बन्दी बन्यो । देश र जनताको जीवनस्तर जहाँको तहीँ रहिरह्यो । यसका कारक र दोषी शासकहरू नै हुन् ।
Leave a Reply